कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वसम्पदामा सूचीकृत गर्न पहल

 गोरखा दरबार नेपाल एकीकरणको उद्गम स्थल र ऐतिहासिक क्षेत्र भएकाले सम्पदामा सूचीकृत गर्ने प्रक्रिया
हरिराम उप्रेती

गोरखा — गोरखा दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न जिल्ला समन्वय समितिले पहल थालेको छ ।

विश्वसम्पदामा सूचीकृत गर्न पहल

नेपाल एकीकरणको उद्गम स्थल र ऐतिहासिक क्षेत्र भएकाले सम्पदामा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउन पर्यटन प्रवद्र्घन बोर्डसँग माग गरिएको जिसस सदस्य मानप्रसाद धितालले बताए ।

जिससको अगुवाइमा यहाँका ११ स्थानीय तहका प्रमुख र उप्रमुखसहित बोर्डका प्रतिनिधि र पर्यटनको क्षेत्रमा काम गर्दै आएकाको गत मंगलबार काठमाडौंमा छलफल भएको थियो । उक्त छलफलपछि बिहीबार जिससको २४ औं बैठकले गोरखा दरबारलाई विश्व सम्पदामा सूचीकृत गर्न माग गर्ने निर्णय गरेको हो । ‘विश्व सम्पदा सूचीमा परेपछि विश्वभर यसको महत्त्व स्थापित हुने भयो,’ सदस्य धितालले भने, ‘प्रचार हुन सक्दा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सहयोग पुर्‍याउँछ भन्ने हाम्रो निष्कर्ष हो ।’

काठमाडौंमा भएको छलफलमा यहाँ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले गोरखा ऐतिहासिक ठाउँ भएकाले यसको प्रचार गर्दै सबै स्थानीय तहमा पर्यटक भित्र्याउन सके आर्थिक विकासले गुणात्मक फड्को मार्ने बताएका थिए ।

पालुङटार नगरपालिकाको लिगलिगकोट र अजिरकोट गाउँपालिकाको सिरानचोक पर्यटकीय गन्तव्य बन्न सक्ने ठाउँ भए पनि प्रचार हुन नसक्दा ओझेलमा परेको जनप्रतिनिधिको भनाइ छ । एक स्थानीय तह मात्र नभई सबैमा पर्यटक आउन सक्ने स्थान पहिचान गर्दै गुरुयोजना बनाउन पर्यटनविद्ले जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।

छलफलपछि सबै स्थानीय तहमा पर्यटन क्षेत्रको गुरुयोजना बनाउन बोर्डले विज्ञ पठाउने आश्वासन दिएको छ । ‘कुन स्थानीय तहमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक के–के कुरा छन्, विज्ञले आइडेन्टिफाइ गर्ने भए गुरुयोजना बनाउन सजिलो हुने थियो,’ धितालले भने, ‘केही सातापछि विज्ञ आउने भन्ने सहमति भएको छ ।’ बिहीबारको जिससको बैठकले विज्ञ टोली पठाउन औपचारिक आग्रह गर्ने निर्णय पनि गरेको छ ।

सबै स्थानीय तहमा बनेका गुरुयोजना केन्द्रित गरी जिससले काम अगाडि बढाउन समन्वय र सहकार्य गर्ने धितालको भनाइ छ । काठमाडौंमा भएको छलफलमा यहाँका जनप्रतिनिधिले मनकामना आएका धार्मिक पर्यटक गोरखकाली दरबारसम्म आउन नसकेकोमा चिन्ता जनाएका थिए ।

धादिङ र आरुघाट हुँदै मनास्लु पदमार्गको बाटो भएर उत्तरी गोरखा जाने पर्यटकलाई गोरखा सदरमुकामलगायत अन्य स्थानीय तह सम्म पुर्‍याउन कस्ता पर्यटन पूर्वाधार निर्माण र योजना बनाउन सकिन्छ भनेर विज्ञले सुझाउनुपर्ने जनप्रतिनिधिको माग छ ।

‘गोरखाको ऐतिहासिक महत्त्व बुझाएर पनि धेरै पर्यटक भित्र्याउन सकिन्छ,’ धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भने, ‘समग्र टुरिजम विकास गर्न रणनीतिक योजना बनाउनैपर्छ ।’ सीमित स्रोतसाधन र कर्मचारी रहेका स्थानीय तहमा विज्ञ नभएकाले गुरुयोजना बनाउन बोर्डले विषयविज्ञ पठाउनुपर्ने उनले बताए ।

‘चुमनुव्रीदेखि गण्डकी गाउँपालिकासम्म एउटै रणनीतिक कार्ययोजनाले काम गर्दैन,’ उनले भने, ‘गण्डकीमा चेपाङको कल्चर हुनसक्छ, कतै बोटेका कल्चर छन्, चुमनुव्रीका गुरुङ लामाको आफ्नै संस्कृति छ, त्यो बाहिर ल्याउनुपर्‍यो ।’

पालुङटारको लिगलिगमा द्रव्य शाह राजा भएका कुराहरू र गोरखा दरबारमा बिसे नगर्ची पृथ्वीनारायण शाहका आर्थिक सल्लाकार थिए भन्ने कुरा बाहिर ल्याउनुपर्नेमा उनको जोड छ । ‘इतिहास र संस्कृति जोड्न सके पनि पर्यटक भित्र्याउने आधार तयार हुन्छ,’ उनले भने । पदमार्गको सुधारसँगै प्रचारमा जोड दिन सके पर्यटनबाट हुने लाभ स्थानीय तहसम्म आइपुग्ने उनले बताए ।

प्रकाशित : भाद्र १७, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?