१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जमिन भासियो

पर्वत — निरन्तरको वर्षापछि पानी जम्दा कुश्मामा जमिन भासिन थालेको छ । कुश्मा–ज्ञाँदी झोलुंगे पुल र बडागाउँको साविक जिल्ला पशुसेवा कार्यालयको भवन आसपासमा निरन्तर भासिएको छ ।

जमिन भासियो

लभ्लीहिल, अस्पताल परिसर, जिल्ला प्रशासन, राष्ट्रिय अनुसन्धान, बौद्ध गुम्बा र जिल्ला समन्वय समिति भवनलगायत रहेका क्षेत्रमा जमिन भासिएका छन् । बिहीबार र शुक्रबार दिनभर भएको वर्षाले कालोपत्रे सडकसहित जमिन भासिंदा बडागाउँको लभ्लीहिलमा ६ घर जोखिममा परेका छन् ।

रेडक्रस चोकदेखि कुश्मा–बलेवा यान्त्रिक पुल जोड्ने सडकको करिव १० मिटर भासिएको छ । सडकको दुवै तर्फका घर जोखिममा परेपछि स्थानीयमा आश्चर्य र त्रासको वातावरण छ ।

‘हिजो बेलुकासम्म भासिने क्रम रोकिएन,’ स्थानीय ताराबहादुर थापाले भने, ‘रातभर बत्ती बालेर जागै बसियो ।’ आसपासका ऋषिबहादुर थापा र टंक रेग्मी लगायतका परिवार रातभर जाग्राम बसेको उनले बताए ।

भासिएको जमिन र वरपरका घर जोगाउन कुश्मा नगरपालिकाले काम सुरु गरेको छ । सडक भासिएपछि बडागाउँ हुँदै उपल्लो बजार जाने सडक शुक्रबारदेखि अवरुद्ध भएको छ । बडागाउँ क्षेत्रमा वितरित पानीको आपूर्ति पनि रोकिएको छ ।

कुश्मा–ज्ञादी अग्लो पुलनेर भासिएको जमिन दुई साताअघि नगरपालिकाले पुरेको भएपनि दुइ दिनको झरीमा बडागाउँ क्षेत्रमा भेल पसेपछि पुन: जमिन भासिने क्रम सुरु भएको हो । साबिकको जिल्ला पशु सेवा कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयको पर्खाल नजिकै भासिएको जमिन पुरेपनि फेरि घटना दोहोरिनसक्ने डर नहटेको स्थानीय होटलव्यवसायी रामु अधिकारीले बताए । स्थानीय तहमा विषयगत इकाइका रूपमा रहनेगरि खारेजीमा परेको पशुसेवा कार्यालयको भवनमा अहिले प्रमुख जिल्ला अधिकारीको निवास छ ।

दुई महिनाअघि भासिएको राष्ट्रिय अनुसन्धान कार्यालयको भवन हालसम्म रोकथाम भएको छैन । अनुसन्धान अधिकृतकै कार्यकक्षमा जमिन भासिएको हो । भासिने क्रम बढेर निर्माणाधीन जिल्ला प्रशासनको भवन समेत जोखिममा परेको छ ।

निर्माणाधिन भवनका लागि पानी संकलन गर्न बनाइएको ट्यांकीसमेत भासिएको स्थानीयले बताए । दुई महिनाअघि भासिएको जमिन रोकथाम नहुँदा दायाँबायाँ बढै गएको स्थानीयले बताएका छन् । करिव पाँच करोड रुपैयाँको लागतमा निर्माणाधिन जिल्ला प्रशासन भवन समेत भासिन थालेपछि कर्मचारी त्रसित छन् ।

बौद्ध गुम्बाजनिकैको डिल भासिएर पहिरो गएपछि आसपासका बासिन्दा गत महिनादेखि त्रसित छन् । डिलमा भएको बाँसका झ्याङ र ठुला रुखसहितको ढिस्कोसहित खसेको पहिरो करिव दुई सय मिटर तल कालीगण्डकी किनारमा पुगेको छ । पहिरो बढ्नसक्ने चिन्ताले रातभरि जाग्राम बस्ने गरेको स्थानीय ज्ञानुकुमारी कुँवरले बताइन् । यसपटक धेरै वर्षा भएका कारण ठाउँ ठाउँमा भासिएपछि कुश्मा नगरपालिकालाई समेत टाउको दुखाइ भएको छ ।

नगरपालिकाले भासिएका स्थानमा तत्कालै रोकथाम गरिरहेको नगरप्रमुख रामचन्द्र जोशीले बताए । ‘यो वर्ष धेरै ठाउँमा भासिएर हामीलाई तनाव छ । नसोचेको ठाउँमा भासिएको छ,’ उनले भने । प्राकृतिक प्रकोप नियन्त्रणका लागि बिनियोजित बजेटले नपुगेपछि अन्य शीर्षकबाट रकम छुट्याएर काम गरिएको उनले बताए । जिल्ला विपत व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कुश्माभर पानीको उचित निकास नहुँदा भासिने क्रम बढेको बताए ।

‘प्रशासन आसपासमा पहिल्यैदेखि भासिएको हो,’ उनले भने, ‘वरपरबाट आउने पानीको व्यवस्थापन गर्नसके रोकिन्छ ।’ केही दिनयता निरन्तर झरी परेकाले रोकथाम गर्न समस्या भएको बताए । जिल्ला समन्वयको भवन समेत भासिएकाले रोकथामका लागि छलफल भइरहेको उनले बताए । कुश्मामा भासिएको जमिनको अवस्थाबारे भुगर्भशास्त्रीसँग सल्लाह गर्न आवश्यक रहेको जानकारले बताएका छन् ।

प्रकाशित : भाद्र १७, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?