विद्यालयमा दिवाखाजा

विद्यार्थी कक्षामा नियमित हुने र विद्यालय अवधिभर ढुक्कले बस्ने
विद्यालयले गाउँमै उत्पादित अन्नको खाजा खुवाउनुपर्ने
अगन्धर तिवारी

पर्वत — पैयुँ गाउँपालिकाले मातहतका सबै सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँसभाले १२ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

पर्वतको कुश्मा–९ को सार्वजनिक माविमा खाजा खाँदै बालबालिका ।तस्बिर : अगन्धर

सबै २८ वटै सामुदायिकमा कक्षा ५ सम्म खाजा कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । पैयुँका २८ सामुदायिक विद्यालयमध्ये केहीमा खाजा कार्यक्रम सुरु भएको छ भने केहीमा सञ्चालनको तयारी थालिएको छ ।

विद्यार्थीहरू कक्षामा नियमित हुने र विद्यालय समयसम्म ढुक्कले बस्ने निष्कर्षसहित उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताए । ‘विद्यार्थी उपस्थिति र शैक्षिक अवस्थाबारे अध्ययन गर्न लगायौं,’ उनले भने, ‘सामुदायिकका धेरैजसो विद्यार्थी भोक लागेरै कक्षा छोड्ने निष्कर्ष आयो । कतिपय बिहान भोकभोकै स्कुल आउँदारहेछन् ।’ सबैजसो विद्यालयमा गरिएको अध्ययनले १२ वर्षमुनिका धेरैजसो बालबालिका विद्यालय समयअगावै कक्षा छोड्ने देखिएको उनले बताए ।

गाउँपालिकाले सबै विद्यालयबाट विद्यार्थी संख्या पठाउन निर्देशन दिइसकेको छ । विद्यार्थी संख्याका आधारमा विद्यालयमा रकम पठाइने प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल भुसालले बताए । ‘विद्यार्थी संख्याका आधारमा विद्यालयको खातामा रकम जम्मा गरिन्छ,’ उनले भने, ‘विद्यालयले गाउँमै उत्पादित अन्नको खाजा खुवाउनुपर्छ ।’

Yamaha

गाउँपालिकाले खाजा कार्यक्रमका लागि छुट्टै मापदण्ड बनाएको छ । खाजामा गेडागुडी र किन्नैपर्ने बाहेक बजार र प्याकेटका खाजामा प्रतिबन्ध छ । गाउँमा उत्पादन हुने धान, गहुँ, मकै, कोदो, भटमास, आलुको खाजा बनाउनुपर्छ । त्यसमा चना, मैदा, आटा, नुन तेल, चिनीलगायत अत्यावश्यकबाहेक बजारको खाद्यान्न किन्न पाइँदैन । बजारमा पाइने प्याकेटका खानेकुरा पूर्णरूपमा निषेध गर्नुपर्छ । गाउँपालिकाले गरेको निर्णय विद्यालय व्यवस्थापन समितिले पास गरेर विद्यार्थीसंख्यासहित गाउँपालिकामा विवरण पठाउनुपर्छ ।

यसरी पठाएको विवरणका आधारमा गाउँसभाको निर्णयअनुसार विद्यालयमा खाजाखर्च बापतको रकम पठाइन्छ । विद्यालयले मासिक रूपमा खाजाखर्च रकमको हिसाब गाउँपालिकामा पठाउनुपर्छ । गाउँकै खाद्यान्न खुवाउँदा विद्यार्थी र स्थानीय सबैलाई फाइदा पुग्ने भन्दै व्यवस्थापन समितिले यो निर्णयको स्वागत गरेका छन् । ‘यो निकै राम्रो निर्णय हो,’ हुवासको जनसेवा संस्कृत माविका अभिभावक लालबहादुर प्रधानले भने, ‘गाउँमै फलेको अन्न पोसिलो र स्वस्थकर हुन्छ, फलाउनेले दुई–चार पैसा कमाउँछन् ।’

पैयुँका सबैजसो सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा छ । खर्च हालेरै पनि सन्तानलाई बोर्डिङ स्कुलमा पढाउने अभिभावकको चाहनाले गाउँगाउँमा निजी विद्यालयको प्रभाव बढ्दो छ । यही प्रभावले सामुदायिकमा विद्यार्थी घटेको विद्यालयले जनाएका छन् । सामुदायिकमा सुरु गरिएको खाजा कार्यक्रमले विद्यार्थी बढ्ने अनुमान गरिएको पैयुँका विद्यालय स्रोतव्यक्ति रामप्रसाद काफ्लेले बताए ।

सामुदायिक विद्यालयमा अधिकांश विपन्न मजदुर र कमजोर आर्थिक अवस्थाका परिवारका केटाकेटी भर्ना हुने गरेका छन् । कतिपय परिवार खाद्यान्नकै लागि सानै उमेरका बालबालिकालाई काममा पठाउने चलन छ । घरमा भरपेट खान नपाएका बालबालिकाको कक्षा छोड्ने दरसमेत बढ्दो छ ।

यही समस्या हटाउन गाउँपालिकाले परीक्षणका रूपमा भदौ १ देखि ‘दिवा खाजा’ कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमको प्रभावकारिता भए कार्यक्रम निरन्तर गरिने अध्यक्ष तिवारीले बताए । ‘खाजाको व्यवस्थापनले विपन्न परिवारका छोराछोरी विद्यालयमा टिकाउने अपेक्षा हो,’ उनले भने, ‘यो वर्षको प्रभावकारिता अध्ययन गरेर निरन्तर गर्छौं ।’

गाउँपालिकाले दिवा खाजा कार्यक्रम टिकाउन आन्तरिक स्रोतबाटै बजेट व्यवस्थापन गर्ने तयारी गरेको छ । जसका लागि विभिन्न सिफारिस शुल्क, एकीकृत सम्पत्ति कर लगायतको आन्तरिक आम्दानीको केही प्रतिशत रकम यो कार्यक्रमलाई छुट्याउन गाउँसभाको बैठकले निर्णय गरेको छ ।

यसअघि पर्वतकै महाशिला गाउँपालिकाका सबै विद्यालय र कुश्मा नगरपालिकाका केही विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालित छ । यो कार्यक्रम सञ्चालन गरेका विद्यालयहरूले विद्यार्थी नियमित र पढाइको स्तरमा समेत सुधार आएको दाबी गरेका छन् ।

Esewa Pasal

प्रकाशित : भाद्र १७, २०७५ १०:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गुरुङ गाउँमा जमेका थकाली

कान्तिपुर संवाददाता

नासों (मनाङ) — भाषा गुरुङ । बोलीचाली, लवज गुरुङकै । वेशभूषा, संस्कार–संस्कृति, रहनसहन पनि गुरुङकै । यी दम्पती थकाली हुन् भनेर कसैले भेउ पाउँदैनन् ।पुख्र्यौली मुस्ताङको थाकखोला ।

मनाङको नासों गाउँपालिका ८ ताचैंका थकाली दम्पती । तस्बिर : आश गुरुङ

अहिले मनाङको नासों गाउँपालिका–८, ताचैमा बसोबास छ ५५ वर्षीय गमबहादुर गौचन र ७१ वर्षीया भिजा गौचनको । पत्नी र पतिको उमेरमा १६ वर्षको अन्तर भए पनि सँगसँगै घरव्यवहार र मेलापातको दैनिकी रहर लाग्दो छ ।

गाउँघरमा हुने सामाजिक, सांस्कृतिक सबै काममा दुवै पुग्छन् । फरक थरका भए पनि स्थानीयबाट कहिल्यै भेदभाव वा गाली खानुपरेको छैन । सबै काममा मनाङी शैली अपनाएका छन् । ‘मनाङी त भइयो । अब त गुरुङ जस्तै पो भइयो,’ गुरुङ भाषामै गमबहादुरले भने, ‘थकाली भाषा आउँदैन । गुरुङ गाउँमा थकाली भाषा बोलेर के काम । त्यसैले चासो दिइएन ।’

गमबहादुरका बाजे झोलामा सामान लिएर व्यापार गर्थे । यो मुस्ताङीको पुरानै चलन हो । उनका छोरा पृथ्वीमानले पनि त्यही सिको गरे । जेठीलाई ताचैमा छोडेर उनी कान्छी लिएर कास्कीको सिक्लेस बसे । त्यहीं जन्मेका हुन् गमबहादुर । बुवाको निधनपछि भिनाजुले १२ वर्षकै उमेरमा ल्याएका गमबहादुर ताचैमै हुर्किए, बढे र यहीँको संस्कृतिमा भिजे ।

उनको माया भिजासँग बस्यो । भिजाभन्दा गमबहादुर १६ वर्षले कान्छो भए पनि मायाले उनीहरूलाई एक बनाएरै छाड्यो । भिजाको यसअघिका एक छोरालाई गमबहादुरले सम्हाले । उनी काठमाडौं बस्छन् । दम्पतीबाट भएका छोरा अहिले बेल्जियम छन् । दम्पती गाउँमा सुखदु:ख गरी बस्छन् ।

हाल बस्दै आएको घर गमबहादुरका ससुरा (भिजाका बुवा) रामप्रसाद शेरचनको नाममा छ । रामप्रसादका बुवा मयारबु झोलामा सामान बोक्दै र बिक्री गर्दै धारापानी क्षेत्रमा आएर बसेका हुन् ।

थाकखोलाबाट झरेका मयारबुका छोरा रामप्रसाद धारापानी र ताचै आउजाउ भयो । बिहेपछि रामप्रसाद ताचैमा बस्न थाले । छोराछोरीको त्यहीं विवाह हुन थाल्यो । उनीहरू गाउँकै गुरुङ तथा घलेसँग घुममिल हुन थाले । ‘सबैथोक यहीँ छ । पुख्र्यौली थलो थाहा छैन । गए पो थाहा हुनु,’ गमबहादुरले भने, ‘एकपटक पुग्ने विचार छ, आफ्नै कथा आफन्तलाई भन्ने धोको छ ।’

प्रकाशित : भाद्र १७, २०७५ १०:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT