गुरुङ गाउँमा जमेका थकाली
नासों (मनाङ) — भाषा गुरुङ । बोलीचाली, लवज गुरुङकै । वेशभूषा, संस्कार–संस्कृति, रहनसहन पनि गुरुङकै । यी दम्पती थकाली हुन् भनेर कसैले भेउ पाउँदैनन् ।पुख्र्यौली मुस्ताङको थाकखोला ।
अहिले मनाङको नासों गाउँपालिका–८, ताचैमा बसोबास छ ५५ वर्षीय गमबहादुर गौचन र ७१ वर्षीया भिजा गौचनको । पत्नी र पतिको उमेरमा १६ वर्षको अन्तर भए पनि सँगसँगै घरव्यवहार र मेलापातको दैनिकी रहर लाग्दो छ ।
गाउँघरमा हुने सामाजिक, सांस्कृतिक सबै काममा दुवै पुग्छन् । फरक थरका भए पनि स्थानीयबाट कहिल्यै भेदभाव वा गाली खानुपरेको छैन । सबै काममा मनाङी शैली अपनाएका छन् । ‘मनाङी त भइयो । अब त गुरुङ जस्तै पो भइयो,’ गुरुङ भाषामै गमबहादुरले भने, ‘थकाली भाषा आउँदैन । गुरुङ गाउँमा थकाली भाषा बोलेर के काम । त्यसैले चासो दिइएन ।’
गमबहादुरका बाजे झोलामा सामान लिएर व्यापार गर्थे । यो मुस्ताङीको पुरानै चलन हो । उनका छोरा पृथ्वीमानले पनि त्यही सिको गरे । जेठीलाई ताचैमा छोडेर उनी कान्छी लिएर कास्कीको सिक्लेस बसे । त्यहीं जन्मेका हुन् गमबहादुर । बुवाको निधनपछि भिनाजुले १२ वर्षकै उमेरमा ल्याएका गमबहादुर ताचैमै हुर्किए, बढे र यहीँको संस्कृतिमा भिजे ।
उनको माया भिजासँग बस्यो । भिजाभन्दा गमबहादुर १६ वर्षले कान्छो भए पनि मायाले उनीहरूलाई एक बनाएरै छाड्यो । भिजाको यसअघिका एक छोरालाई गमबहादुरले सम्हाले । उनी काठमाडौं बस्छन् । दम्पतीबाट भएका छोरा अहिले बेल्जियम छन् । दम्पती गाउँमा सुखदु:ख गरी बस्छन् ।
हाल बस्दै आएको घर गमबहादुरका ससुरा (भिजाका बुवा) रामप्रसाद शेरचनको नाममा छ । रामप्रसादका बुवा मयारबु झोलामा सामान बोक्दै र बिक्री गर्दै धारापानी क्षेत्रमा आएर बसेका हुन् ।
थाकखोलाबाट झरेका मयारबुका छोरा रामप्रसाद धारापानी र ताचै आउजाउ भयो । बिहेपछि रामप्रसाद ताचैमा बस्न थाले । छोराछोरीको त्यहीं विवाह हुन थाल्यो । उनीहरू गाउँकै गुरुङ तथा घलेसँग घुममिल हुन थाले । ‘सबैथोक यहीँ छ । पुख्र्यौली थलो थाहा छैन । गए पो थाहा हुनु,’ गमबहादुरले भने, ‘एकपटक पुग्ने विचार छ, आफ्नै कथा आफन्तलाई भन्ने धोको छ ।’