कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नयाँ पुस्तामा सर्दै ताया मचा:

प्रतियोगिता नै हुने नेवारी संस्कृतिको ताया मचा: नाचमा नयाँ पुस्ताको रुची
गाईजात्रालगत्तै आएको शनिबार ताया मचा: प्रतियोगिता गरिने

कास्की — गाईजात्रादेखि एक सातासम्म पोखरामा नेवारी संस्कृतिको ताया मचा: नाचको प्रतियोगिता नै हुने गर्छ । नाचको तयारी महिना दिनअघिबाट सुरु हुन्छ । हाल नाच सिक्न र प्रदर्शन गर्न नयाँ पुस्ताले रुची देखाएका छन् ।

नयाँ पुस्तामा सर्दै ताया मचा:

पोखरामा अहिले यो नाच प्रतियोगिताकै रूपमा सञ्चालन भइरहेको छ । फरक–फरक वेशभूषा र भावमा नाच्ने कलाकारले दर्शकलाई नेपाली संस्कृतिमा नेवारको सम्पन्नतालाई देखाउँछन् ।

विसं १९९५ बाट हुँदै आएको मानिने ताया मचा: नाच गणेश टोलको नेवा: खलको अगुवाइमा ०५६ पछि प्रतियोगिताका रूपमा सञ्चालन हुन थालेको हो । ‘पोहोरबाट नाच्न सुरु गरेको,’ मोहोरिया टोलका रमेश श्रेष्ठले भने, ‘एक महिना त सिक्नै लाग्यो ।’ सिक्छु भन्ने रहर र जाँगर भए छिटै सिकिने उनले बताए ।

‘संस्कृति समुदाय र देशकै सम्पदा मात्र होइन समाजलाई एकता बनाउने चीज पनि रहेछ,’ उनले भने, ‘हामीलाई सिक्नु हुँदैन, काम लाग्दैन कसैले भन्दैनन्,’ उनले भने, ‘रहर गर्नेलाई सबैले हौसला दिन्छन् ।’ संस्कृतिले फरक–फरक पेसामा काम गर्नेलाई एकै प्रकारको आनन्द पनि दिएको जस्तो लाग्ने उनको बुझाइ छ ।

‘बानी पर्न अलि टाइम लाग्ने,’ तेर्सापट्टिका १३ वर्षीय उनिम उदास भन्छन्, ‘मैले १५ दिनमै सिकेको हो ।’ गाईजात्रा आउन एक महिनाअघिदेखि नै ‘प्राक्टिस’ गरिने भएकाले नाचमा सहभागी हुनेले ‘रिहर्सल’ का लागि प्रशस्त समय पाउने उनले बताए । ‘सुरुमा सबै जीउ दुख्ने हुन्थ्यो, अहिले त जति नाच्यो त्यति नै जीउ हल्का हुन्छ,’ उनले भने, ‘हामी ताया मचाको समय पर्खेर बस्न थालेका छौं ।’

परम्परागत ढोलक बजाउँदै नयाँ पुस्ता ।तस्बिर : विना थापा

सुरुवातका केही वर्ष नाचमा महिला सहभागिता हुँदैनथ्यो । पछिल्ला केही वर्षयता प्रतियोगिता आयोजकले महिला समूहलाई पनि सहभागी गराएका छन् । छोरा मान्छे नाच्न सक्दा हामी पनि किन नसक्नु भन्ने आत्मबल लिएर सिकेको रामबजारकी श्रेया श्रेष्ठले बताइन् । ‘सिक्न जुनसुकै कुरा सजिलो हुँदैन तर आफूले सक्छु भन्ने सोचेर प्राक्टिस गरेपछि हुन्छ’ उनले भनिन्, ‘साथीहरूसँग नाच्दा निकै खुसी लाग्छ । यसको जगेर्ना हामीले नै गर्नुपर्छ ।’

संस्कृति संरक्षणकै लागि ताया मचा: प्रतियोगिता आयोजना गर्दै आएको नेवा खल: कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । ‘नेवारहरूले वर्षभरि मान्छे मरेको घरबाट गाईजात्रा निकाल्छन्, दिवंगको सम्झना गर्छन्,’ उनले भने, ‘गाईजात्रालगत्तै आएको शनिबार हामीले ताया मचा: प्रतियोगिता गर्दै आएका छौं ।’

प्रतियोगिताले संस्कृति नयाँ पुस्तामा सार्न मद्धत मिलेको उनले बताए । ‘समाज आधुनिकतातिर गए पनि हाम्रो संस्कृति र सम्पदा जोगाउन त्यसलाई रुचिकर बनाउनुपर्ने रहेछ,’ उनले भने, ‘पुराना पुस्ताको बलमा हाम्रा पर्व र जात्राहरू जोगाएका छौं, अहिले यसलाई बुझेका पुस्ताले दीर्घकालसम्म जोगाउलान् भन्ने लाग्छ ।’

अढाई दशकअघि ताया मचा: नृत्यलाई प्रतियोगिताका रूपमा सुरु गर्दा गणेश टोलमा सहभागी आठ टोली थिए । ‘अहिले २८ पुगेका छन्, ७ वटा त महिलाकै टोली छन्,’ उनले भने, ‘पोखराका विभिन्न टोलका आ–आफ्नै समूह छन्, पोखराबाहिरबाट पनि सहभागी हुनेहरू आउँदा हामीलाई निरन्तरता दिन अझ हौसला बढेको छ ।’

तुलनात्मकरूपमा युवा सहभागिता बर्सेनि बढेको उनले बताए । ‘पहिले–पहिले छोरा मान्छे, त्यो पनि अलि उमेर खाएकाहरू नाच्थे,’ उनी भन्छन्, ‘अहिले सहभागिता ११ वर्षदेखि २५ वर्षसम्मका धेरै छ ।’ छोरीहरू रजस्वला हुन्छन् । त्यस्ता बेला नाचमा सहभागी गराउनु पवित्र नमान्ने जनविश्वासले पहिले–पहिले महिलालाई नाचमा सहभागी नगराउने चलन थियो ।

‘शिक्षा र चेतनाले अहिले त्यो रुढीवाद हटेको छ, महिला पनि नाचमा बराबर सहभागी छन्,’ उनले भने, ‘संस्कृति संरक्षण गर्नुपर्छ, हामी सबैको सहभागिता समान हुनुपर्छ भन्नेमा अहिले महिला नै अघि छन् ।’

ताया मचा:मा पुराना पुस्ताले मात्रै नाच्ने गरेको चलनमा नयाँ पुस्ताले सहभागिता मात्र बढाएका छैनन्, परम्परागत बाजामा पनि सिक्ने र बजाउन उत्साह देखाएका छन् । पोखराको बजार विस्तारको इतिहासमा काठमाडौं उपत्यकाबाट भित्रिएको मानिएका नेवार परिवारले संस्कृति संरक्षणसँगै नयाँ पुस्तामा आफ्ना सीप र संस्कार हस्तान्तरण गरिरहेका छन् ।

प्रकाशित : भाद्र १८, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?