महिला हिंसाविरुद्ध गर्जिए सांसद

पोखरा — देशभर महिला तथा बालिकामाथि हत्या, हिंसा र बलात्कारका घटना बढेको भन्दै प्रदेशसभाका सांसदहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

महिला हिंसाविरुद्ध गर्जिए सांसद

गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा भ्रूण हत्या, अढाई वर्षदेखि ७६ वर्षीयासम्मका बलात्कृत भएकोमा सांसदहरूले दु:ख व्यक्त गरे । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या र पोखरा लामाचौरकी पुष्पा केसीको मृत्युलगायत घटनाको सत्यतथ्य बाहिर आउनुपर्ने उनीहरूको माग थियो ।

कांग्रेस सांसद कुमार खड्काले भ्रूण हत्यादेखि, जिउँदै जलाउने, एसिड हाल्ने, अढाई वर्षकी अबोध बालिकादेखि ७६ वर्षकी बूढीआमासम्म बलात्कारको शिकार हुँदा देश स्तब्ध भएको बताए ।

यस्ता घटनामा संघीय सरकार गम्भीर नभएको भन्दै उनले दोषी पत्ता लगाएर कारबाहीको माग गरे । ‘संस्कृति, सभ्यता र धर्मग्रन्थले महिलालाई देवी मानेको, भोकलाग्दा अन्नपूर्णालाई, ज्ञान चाहिँदा सरस्वतीललाई, धन चाहिँदा लक्ष्मी र शक्ति चाहिँदा दुर्गालाई गुहार्ने परम्परामा हाम्रो समाज रहेको थियो,’ उनले भने, ‘तर यतिबेला फोटोको देवी पुज्ने तर घरकी देवी चुट्ने विनाशकारी बाटोमा समाज अग्रसर भएको छ ।’

प्रतिनिधि र प्रदेशसभा निर्वाचनताका कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्टको सरकार बने रुन पनि पाइँदैन भनेको स्मरण गर्दै त्यतिबेला आफूहरूले गलत बुझेको भए पनि अहिले सही भएको टिप्पणी उनको थियो । पीडित न्याय खोज्दै शान्तिपूर्णरूपमा सडकमा उत्रिँदा अहिलेको सरकारले गोली हानेर मारेको र बलात्कारीलाई बचाएर पीडितलाई मानसिक यातना दिएकाले पीडामा पनि रुन नपाइने अवस्था आएको उनको भनाइ थियो ।

सुखी नेपाली र समृद्ध नेपालको नारा दिएको नेकपाले जनतालाई गुनको बदला बैगुनले तिर्न खोजेको भन्दै पोखराकी पुष्पा केसी घटनाको सत्यतथ्य सार्वजनिक र दोषी भए कारबाहीको दायरामा ल्याउन माग गरे ।

नेकपाकी मीना गुरुङले महिलामाथि हुने घटना वृद्धि भएकोमा दु:ख व्यक्त गर्दै प्रहरीले अधिकांश घटनाका दोषी पत्ता लगाउन नसक्नु झनै पीडादायी भएको बताइन् ।

साउन र भदौमा मात्र ३३ बलात्कारका घटना भएका तर दोषी पक्रिन प्रहरी असफल भएको भन्दै उनले महिला र बालिकामाथि हुने यस्ता जघन्य अपराधमा दोषी पत्ता नलाग्दा आपाराधिक मानसिकताले प्रश्रय पाएको उनको भनाइ थियो । ‘अपराधको संख्या बढ्नु तर प्रहरीले दोषी पत्ता लगाउन नसक्नु महिलामाथिको अपमान हो,’ उनले भनिन्, ‘हत्याहिंसाले समाज आतंकित भएको छ । प्रहरीका अनुसन्धान अधिकारीको लापारबाही पनि हुनसक्छ ।’ कांग्रेसका मेखलाल श्रेष्ठले शान्तिसुरक्षा, अमनचयनमा सरकार पूर्ण असफल भएको बताए । नेकपाका कृष्ण थापा र पुष्पा केसी भण्डारीले पोखरा लामाचौरकी पुष्पा केसीको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।

नयाँ शक्तिका हरिशरण आचार्यले चेली बलात्कृत भइरहने तर सरकार मुकदर्शक भइरहेको भन्दै बलात्कारका घटनामा संलग्नको कारबाहीमा सरकारको नीति अन्धो रहेको अनुभूति भएको बताए । आचार्यले चीनसँग जोडिएको गोरखाको लार्के भन्सार कर्मचारीविहीन भएको र त्यहाँबाट चिरू, वनलसुनजस्ता महत्त्वपूर्ण वस्तुको तस्करी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

चार कर्मचारीको दरबन्दी भए पनि सरकारले भन्सारै नचाहिनेजस्तो गरेको उनको भनाइ थियो । जनतासँग कर उठाउन तम्सिइरहेको सरकार महत्त्पूर्ण जडीबुटीलगायत तस्करीमा किन मौन बसेको भन्ने प्रश्न गरे । गोरखाको उत्तरी क्षेत्रमा बाढी पहिरोले गोरेटो बाटो पनि भत्किएकाले हिँड्न पनि नसक्ने अवस्था रहेको भन्दै तत्काल सहज अवस्था ल्याउन माग गरे ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले कालीगण्डकी करिडोरको काम अघि बढे–नबढेको, ठेक्का दिए–नदिएको जानकारी माग गरे । नेकपाका मोहनप्रसाद रेग्मीले भदौ १३ मा स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरमाथि कार्यालयबाट घर फर्किने क्रममा नकावधारी समूहले सांघातिक आक्रमणको प्रयास गरेकाले घटनामा सहभागीलाई पक्राउ गरी कारबाहीको माग गरे ।

दुई विधेयक पेस
यसैबीच प्रदेशसभाको सोमबारको बैठकमा दुई विधेयक पेस भएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेश सरकारको प्रशासकीय कार्यविधि नियमित गर्न तथा नीति तथा कार्यक्रम बजेट र वार्षिक कार्यक्रम कार्यान्वयन गर्न कानुन आवश्यक भएकाले प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक पेस गरे ।

यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले सहकारी सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पेस गरे । उक्त अवसरमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले केही प्रदेश कानुनलाई संशोधन गर्न बनेको विधेयक प्रतिवेदनसहित प्रदेशसभामा पेस गरेका थिए ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सदनमा उठेका विभिन्न विषयको जवाफ दिएका थिए ।

प्रकाशित : भाद्र १९, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?