कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

खानेपानीका स्रोतमा ‘कोलिफर्म’

दिसाबाट निस्कने ती जीवाणुका कारण मानिसमा पानीबाट सर्ने रोगको महामारी फैलिन सक्ने
पानी उमालेर, क्लोरिनको चक्की वा झोल राखेर वा उमालेर खानुपर्ने
आश गुरुङ

लमजुङ — सदरमुकाम बेंसीसहरका नगरवासीले उपभोग गर्दै आएको खानेपानी स्रोतमै कोलिफर्म (ई–कोली) जीवाणु भेटिएको छ ।

खानेपानीका स्रोतमा ‘कोलिफर्म’

जिल्ला जनस्वास्थ्य कार्यालय र लमजुङ जिल्ला सामुदायिक अस्पतालले गरेको नमुना परीक्षणका क्रममा पानीका मुहानमै कोलिफर्म भेटिएको हो ।

दिसाबाट निस्कने ती जीवाणुका कारण मानिसमा पानीबाट सर्ने रोगको महामारी फैलिन सक्छ । दुई संस्थाले कुवा, धारा, पँधेरा, मुहान, ट्यांकी साथै खोलाका पानीको परीक्षण गरेको थियो ।

नमुनाका लागि परीक्षण गरिएका सबै स्रोतमा कोलिफर्म (ई–कोली) भेटिएको जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाईंले बताए । उनका अनुसार कोलिफर्म समूहको ई–कोली जीवाणु मानिसको आन्द्रामा मात्र पाइन्छ ।

पानीमा ई–कोली (कोलनी फर्मिङ युनिट) भेटिए त्यो दिसाबाट आएको हुन्छ । ‘ई–कोली आफैंले रोग निम्त्याउने होइन । पानीमा दिसा मिसिएपछि अन्य रोगका जीवाणुले मानिसमा महामारी फैलिन सक्छ,’ उनले भने ।

उनका अनुसार मानवको घनाबस्ती भएको ठाउँका मुहान तथा धारामा ई–कोलीका जीवाणु बढी मात्रामा देखिएको छ । बेंसीसहरकै चर्चित खानेपानीका धाराहरू गैरीधारा र तीनधारेको पानीमा दिसाबाट निस्कने जीवाणु भेटिएको उनले बताए । ‘मूल नजिकै घरहरू हुँदा सेफ्टि ट्यांकी रसाएर जीवाणु मूलसम्म आइपुग्छन् । यसले गर्दा खानेपानीमै जीवाणु मिसिन्छ र झाडापखला, आउँजस्ता रोगका जीवाणुले मानिसलाई बिरामी पार्छ,’ उनले भने ।

उनका अनुसार बेंसीसहरकै अन्य खानेपानीको स्रोत पनि सुरक्षित छैनन् । राष्ट्रिय खानेपानी गुणस्तर मादण्ड, २०६२ अनुसार शुद्ध अर्थात् मानिसले प्रयोग गर्ने खानेपानीको स्रोतमा ई–कोलीको मात्रा शून्य हुनुपर्छ ।

जनस्वास्थ्यले ६ ठाउँको मुहान, ट्यांकी र धाराको पानी परीक्षण गरेको थियो । ती ठाउँमा ३ देखि ८५ कोलनी फर्मिङ युनिट (ई–कोली) भेटिएको छ । बेंसीसहर ८ बालमन्दिर नजिकैको कुवामा १५ युनिट ई–कोली देखिएको छ ।

क्याम्पस रोडका उपभोक्ताको घरका धाराबाट आएको पानीमा ३ युनिट ई–कोली देखिएको जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत निरोजकुमार श्रेष्ठले बताए । उनका अनुसार बेंसीसहर ११ रामचोकबेंसी, दोर्दी गाउँपालिका ४ नौथर शेरा, मध्यनेपाल १, जिताकोट र जिताबेंसी, राइनास नगरपालिका २ बोराङखोला र दूधपोखरी गाउँपालिका २ बिचौर ठाँटीका खानेपानीका मुहान, ट्यांकी, धारा, कुवालगायतको पानी परीक्षण गरिएको थियो । सबै पानीका स्रोतमा ई–कोली भेटिएको उनले बताए ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालले बेंसीसहर नगरपालिकाको चिती तिलाहर, दूधपोखरी गाउँपालिकाको कोल्की, राइनास नगरपालिकाको तार्कुघाट, दोर्दी गाउँपालिकाको भारते, सुन्दरबजार नगरपालिकाको परेवाडाँडा, मध्यनेपाल नगरपालिकाको रम्घा, क्व्होलासोंथर गाउँपालिकाको मालिङ र मस्र्याङदी गाउँपालिकाको सिम्पानीका पानीका मुहान, ट्यांकी र धाराका खानेपानीमा ई–कोली परीक्षण गरेको थियो । अस्पतालका मेडिकल रेकर्डर गणेश गुरुङका अनुसार ती ठाउँमा २ देखि १ सय बढी युनिट बढी ई–कोली भेटिएको छ ।

परेवाडाँडामा १ सय र चिती–तिलाहारका खानेपानीमा १ सयभन्दा बढी ई–कोली भेटिएको उनले बताए । लमजुङमा ४ वर्षअघि एकीकृत पोषण कार्यक्रम (सुआहारा) जिल्लाका साबिक ६१ वटा गाविसमा गरेको नमुना परीक्षणका क्रममा कोलिमर्फ (ई–कोली) देखिएको थियो ।

त्यतिबेला विभिन्न स्रोतबाट आएको ४ सय १९ खानेपानी नमूना परीक्षण गरिएकोमा २ सय ४४ मा कोलिफर्म भेटिएको थियो । त्यसपछि बर्सेनि आर्थिक वर्षको अन्तिम अर्थात् बर्खायाम सुरु हुनै लाग्दा यसको परीक्षण गरिँदै आएको छ ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालका मेडिकल अधिकृत डा. हिक्मत भण्डारीले स्वास्थ्यका लागि कोलिफर्म (ई–कोली) हानिकारक नभई उक्त पानीमा दिसा मिसिएको प्रमाणित भएकाले दिसाबाट पानी मिसिने अन्य जीवाणुले महामारी निम्तिने खतरा हुने बताए ।

दिसा मिसिएको खानेपानी प्रयोग गर्दा झाडापखला, आउँ, हैजा, टाइफाइडजस्ता रोग लाग्न सक्छ । ‘खानीपानीका स्रोत नजिकै शौचालय भएकाले पानीमा ई–कोलीका जीवाणु मिसिन सक्छन्,’ उनले भने, ‘पानी खाँदा उमालेर, क्लोरिनको चक्की वा झोल राखेर वा उमालेर खाँदा राम्रो हुन्छ ।’ यस्तै पानीलाई फिल्टर, सोडिस गरेर पनि खानेपानी पिउन सकिन्छ । कोलिफर्म (ई–कोली) देखिएको ठाउँमा मुहानको सरसफाइ गर्नुपर्ने उनले बताए ।

प्रकाशित : भाद्र १९, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?