३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

जमिन भासिँदै

कोठा सर्दै, कार्यालय चलाउँदै राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय
दिप्ती सिलवाल

पर्वत — अघिल्लो वर्षको भदौमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृतकै कार्यकक्ष भासिएको थियो । कार्यालय समयमै कार्यकक्ष भासिएको थियो ।

जमिन भासिँदै

तत्कालीन जिल्ला विकास समिति र जिल्ला प्रशासनको साझा भवनमा कार्यालय रहेको राष्ट्रिय अनुसन्धानको जिल्ला कार्यालय गत सात यस्तै घटना भयो । गत वर्ष सरेको अनुसन्धान अधिकृतको कार्यकक्ष पुन: भासिएपछि अर्को अस्थायी कोठामा कार्यालय सञ्चालन भइरहेको छ ।

यति मात्रै होइन जिल्ला प्रशासनको नवनिर्मित भवन नजिकै ठूलो भ्वाङ परेको छ । अघिल्लो वर्ष भासिएको जमिनको आसपासको जमिन निरन्तरको वर्षाले भासिने क्रम बढिरहेको छ । दुई कार्यालयको साझा नाममा रहेको जग्गा र भवन भासिएको एक वर्षभन्दा धेरै समय बित्दा पनि दुबै पक्षले खाडल पुर्ने सक्रियता देखाएका छैनन् ।

बरु, एक–अर्कालाई दोषारोपण गरिरहेका छन् । प्रशासनको नवनिर्मित भवनको पानी ट्यांकी र जगसमेत भासिन लाग्दा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जिससले ध्यान नदिएको गुनासो गरे । ‘जिससको भवन पनि भासिएको छ,’ उनले भने, ‘हामीले मात्रै चासो दिएर समस्या समाधान हुँदैन ।’ भासिएको जमिन पुर्न जिसससँग सल्लाह गर्नुपर्ने उनले बताए ।

जिसस प्रमुख मनहर पौडेलले प्रशासनको करोडौं मूल्यका संरचनामा क्षति पुगेकाले उसले व्यवस्थापन गर्नुपर्ने बताउँछन् । ‘प्रशासनले हेर्नुपर्ने हो,’ उनले भने, ‘किन मौन छ कुन्नि ।’ भासिएको जमिन पुर्न जिसससँग बजेट नभएको उनले बताए ।

जिल्ला समन्वय अधिकारी विष्णुप्रसाद भुषालले बजेट अभावकै कारण अघिल्लो वर्षदेखि नै भासिएको जमिन अहिलेसम्म पुर्न नसकिएको गुनासो गरे । ‘अलिअलि टालटुल पारेर भएन,’ उनले भने, ‘भौगर्भिक हिसाबले हेर्नुपर्छ । भूगर्भविद्लाई देखाउनुपर्ने हो । हामीले तत्काल के गर्ने भन्ने विषयमा सोचिरहेका छौं ।’ भवनमा टेका र भासिएको जमिन घेरेर पर्खाल लगाउन खोजे पनि भासिने क्रम बढिराखेपछि त्यो सम्भव नभएको उनले बताए ।

जिससका अधिकारीहरू प्रशासन र साबिकको जिविसका नाममा लालपुर्जा भएकाले कसले मर्मत गर्ने भन्ने अन्योलमा छन् । ‘अहिले प्रशासनले उपयोग गरेको भवन आसपास भासिएको हो,’ समन्वय प्रमुख पौडेलले भने, ‘जसले उपयोग गरिरहेको छ उसैले मर्मतसम्हार गर्ने हो । अहिले हामीसँग छुट्टै बजेट छैन ।’

जमिन भासिएर कोठा सर्दै कार्यालय चलाउँदै गरेको राष्ट्रिय अनुसन्धानको जिल्ला कार्यालयको नयाँ भवन बडागाउँमा बनेको छ । तर, अनुसन्धानमा सूचना संकलन र सम्प्रेसणमा सहजताका लागि प्रशासन नजिक बस्नुपर्ने बाध्यता भएको अनुसन्धान अधिकृत विष्णु पण्डितले बताए ।

‘हामीलाई कार्यालय सञ्चालनमा समस्या छैन,’ उनले भने, ‘कार्यसम्पादनमा सजिलोका लागि त्यहाँ छाड्न सकिएको छैन ।’ प्रशासन र जिल्ला समन्वय समितिको भवन आसपासमा भासिने क्रम बढदै गएपछि स्थानीयवासीसमेत त्रसित छन् ।

प्रकाशित : भाद्र २०, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?