१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

गुर्जावासीले लालपुर्जा पाउँदै

जग्गाको नक्सांकन नहुँदा गुर्जाका २२० घरपरिवारले वर्षौंदेखि जोतभोग गरे पनि जग्गाधनी पुर्जाविहीन
खेतीयोग्य जमिन व्यक्तिको नाममा दर्ता नहुँदा गुर्जावासी कागजीरूपमा भूमिहीन
घनश्याम खडका

म्याग्दी — जिल्लाको सबैभन्दा दुर्गम धौलागिरि गाउँपालिका १ गुर्जावासीले जग्गाधनी पुर्जा पाउने भएका छन् । नापी कार्यालयले जग्गाको नक्सांकन नगर्दा गुर्जाका २ सय २० घरपरिवार वर्षौंदेखि जोतभोग गरे पनि जग्गाधनी पुर्जाविहीन छन् ।

गुर्जावासीले लालपुर्जा पाउँदै

भोगचलन गर्दै आएको आवादी जग्गाको लालपुर्जा उनीहरूको मागअनुसार दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘गुर्जामा वर्षौंदेखि नापी र मालपोतको समस्या छ । आगामी असोज तेस्रो साता नापी र मालपोतसम्बन्धी घुम्ती शिविर गरेर उनीहरूको प्रमाण पुगेसम्मका पुर्जा वितरणको तयारी गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘स्थानीय तह र जनताको माग भएकाले यो सम्बोधनका लागि हामी गृहकार्य गरिरहेका छौं ।’

घुम्ती शिविरमा स्वास्थ्य र अन्य अतिआवश्यक सरकारी सेवा पनि सञ्चालन गर्ने योजना रहेको उनले बताए । गुर्जाको नक्सा ०३३ सालमा नापी कार्यालयका कृष्ण ज्यापूले तयार पारेका थिए ।

हालसम्म प्रचलनमा रहेको उक्त नक्सामा बस्तीयोग्य जग्गाको दर्ता गरे पनि खेतीयोग्य जमिन व्यक्तिको नाममा दर्ता नहुँदा गुर्जावासी जोतभोग गरे पनि कागजीरूपमा भूमिहीन बनेका हुन् । साबिक गुर्जा गाविसको ६ नम्बर वडामा ३, ८ वडामा १ र ९ नम्बर वडामा पाँच कित्ता जग्गा मात्र व्यक्तिको नाममा दर्ता छ । त्यसबाहेक बस्तीका अधिकांश लालपुर्जाविहीन छन् ।

भौगोलिक रूपमा गुर्जा जिल्लाको दोस्रो ठूलो बस्ती हो । २ सय ८५ वर्ग किमि क्षेत्रफलमा फैलिएको गुर्जाको २१ रोपनी क्षेत्रफलमा मात्र बस्ती छ । न्यवहारमा गुर्जावासीले जग्गा जमिनको भोगचलन गर्दै आए पनि कानुनी रूपमा लालपुर्जा नहुँदा अंशबन्डा र खरिद–बिक्रीमा समस्या छ । स्थानीय सरकारले नापी र मालपोतको समस्या सुल्झाउन प्रशासनमार्फत सरकारलाई आग्रह गरेको थियो ।

‘सरकार आएन, हामीलाई कानुनी ज्ञान भएन । खेतीपाती र जंगलमा आश्रित भएकाले व्यवहारमा जग्गाको किन–बेच र अंशबन्डा भए पनि कसैले जालसाजी नगर्ने हँदा समस्या भएन,’ वडाध्यक्ष झकबहादुर छन्त्यालले भने, ‘अहिले जमाना फेरियो, कानुनी र कागजी समस्या देखियो ।’ व्यवहारमा जग्गा जमिनको अंशबन्डा र खरिद–बिक्री भएर भोगचलनमा रहे पनि कानुनी रूपमा भने मालपोतमा स्रेस्ता कायम भएको छैन ।

पछिल्ला दिनमा गुर्जामा पुस्तौंदेखिको जग्गाको नामसारी र अंशबन्डाका समस्या बल्झन थालेका छन् । लालपुर्जा भएका जग्गा पनि व्यवस्थित छैनन् । कामकाजमा सजिलोका लागि समुदायले गुर्जा गाउँलाई वंश र घरको आधारमा ९ वडामा विभाजन गरेका छन् । सामाजिक जीवनलाई सञ्चालन गर्न समुदायले वंश हस्तान्तरणका आधारमा वडा कायम रहने व्यवस्था मिलाएका छन् ।

समुद्र सतहबाट ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गुर्जा छन्त्याल जातिको सबैभन्दा ठूलो बस्ती पनि हो । जिल्लाकै लुलाङ, मुदीगाउँ र बागलुङको ढोरपाटन क्षेत्रबाट गरी जम्मा तीनवटा बाटाबाट गुर्जा पुग्न सकिन्छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?