पहिराको जोखिममा विद्यालय

कल्लाबारी माविको पुरानो भवनलाई पहिराले भत्कायो
आश गुरुङ

लमजुङ — भूकम्पको केन्द्रविन्दु गोरखासँग सीमा जोडिएको दूधपोखरी गाउँपालिका १ को कल्लाबारी मावि पहिरोको जोखिममा परेको छ । पहिरो गएको ठाउँमा मूल निस्किएपछि झनै जोखिम बढेको हो ।

लमजुङ दूधपोखरी गाउँपालिका १ स्थित कल्लाबारी माविको पहिराको जोखिममा परेको पुरानो भवन । तस्बिर : कान्तिपुर

पहिराले पुरानो भवनलाई भत्काएर नयाँ भवनलाई समेत जोखिममा पारेको छ । विद्यालयका शिक्षक इतराज गुरुङका अनुसार दिनदिनकै भारी वर्षाले पहिरो जाने क्रम बढ्दै गएको छ ।

‘पहिराले माथिल्लो पुरानो भवन भत्कायो । ठीक त्यसकै तल निर्माण गरिएको नयाँ भवन पुरिने खतरा बढ्यो,’ उनले भने, ‘हामी पहिरालाई पन्छाउँदै, पानी तर्काउँदै बसेका छौं ।’ उनका अनुसार साबिक दूधपोखरी गाविसका पात्ले, डाँडागाउँ र गैरी गाउँलगायत ठाउँ जाने बाटोमा क्षति पुगेको छ । स्थानीय तथा विद्यार्थीलाई आवतजावतमा अप्ठ्यारो परेको उनले सुनाए ।

Yamaha

प्रधानाध्यापक रामप्रसाद दवाडीका अनुसार पहिराले पुरानो भवनको शौचालय बगाएको छ । पहिराले पुरानो भवन बगाउन थालेपछि निर्माण नसकिँदै तत्कालीन शिक्षा कार्यालयको अनुदानबाट निर्माण भइरहेको भवनमा कक्षाकोठा सारिएका छन् ।

‘शिक्षाबाट ८ कोठे भवन निर्माण भइरहेको छ । बर्खायाममा ढुवानी समस्या र कामदार अभावले निर्माण रोकिएको छ,’ उनले भने, ‘तैपनि बाध्यताले तल्लो तलाको ४ कोठामा विद्यार्थी राखेका छौं । एउटामा अलि महँगा सरसामान छन् ।’ पुस्तकालय र कम्प्युटर कोठासहितको १० वटा कक्षाकोठालाई गोरखा वेलफेयरमार्फत निर्माण गरिएको हो । उक्त कोठामध्ये २ र ६ कक्षालाई माथिबाट झरेको पहिराले जोखिम बढाएको शिक्षक गुरुङले बताए ।

शिक्षाको भवन बनेपछि १८ कोठा हुन्छन् । हाल सञ्चालन गरिएका १५ कोठामध्ये नर्सरी, केजीसहित १ देखि १० कक्षासम्म १२ कोठा प्रयोगमा आएका छन् । बाँकी ३ वटामा कार्यालय २ कोठा, एउटा विज्ञान प्रयोगशाला राखिएका छन् । कोठा अभावमा स्टोर सामग्री टहरो बनाएर राखिएको दवाडीले बताए ।

उनका अनुसार ९ र १० कक्षा साथै स्टोरका लागि कोठा आवश्यक छ । फर्निचरका सामग्री पुरानो भवनमा छन् । ‘पुरानो भवन आवश्यक हो । हामीलाई कुनै कार्यक्रम गर्न तत्काल कुनै कोठा छैन । नयाँ कोठामा पनि पहिरो आउने डर छ,’ उनले भने ।

गत वर्ष नै पहिरो बग्ने खतरा बढेपछि रोकथामका लागि ग्याबिन पर्खाल लगाइएको थियो । अहिले ग्याबिन पर्खाल नाघेर पहिरो नयाँ भवनमै ठोक्किने गरी आएको छ । दवाडीका अनुसार पहिले भूकम्पले क्षति पुर्‍याएपछि विद्यालयको नयाँ भवन बनाइएको हो । ‘नयाँ भवनका लागि हारगुहार गरियो ।

प्रकाशित : भाद्र २१, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अग्लो नाचैं–थोंचे झोलुंगे पुल

बीच भागबाट पानीको सतहसम्म ४१२ मिटर उचाइ रहेको छ
आश गुरुङ

मनाङ — तल्लो मनाङको नासों गाउँपालिका–२ को नाचैं र ५ को थोंचे ताम्राङ जोड्ने डोना खोलाको झोलुंगे पुल सर्वाधिक अग्लो बनाइएको छ । निर्माण सुरु गरिएको ३ वर्षपछि यसको उचाइको नाप लिइएपछि प्राविधिकले उक्त पुल अहिलेसम्मकै अग्लो रहेको बताए ।

नासों गाउँपालिकाका प्राविधिक र जनप्रतिनिधिलगायत टोलीले उक्त पुलको उचाइ नाप गरेका हुन् । १ सय ३५ मिटर लम्बाइ पुलको बीच भागबाट पानीको सतहसम्म ४ सय १२ मिटर उचाइ रहेको गाउँपालिकाका इन्जिनियर सुवास पाण्डेयले बताए ।

नासों २ का अध्यक्ष भीमबहादुर गुरुङका अनुसार लामो समयदेखि प्रयोगमा रहे पनि खोलाबाट पुलसम्मको उचाइ आइतबार नाप गरेपछि मात्रै थाहा भएको हो । ‘पुल अग्लो ठाउँमा बनेको छ । उचाइबारे हामीलाई पनि जिज्ञासा थियो,’ उनले भने, ‘अब त हाम्रो पुल सर्वाधिक अग्लो रहेछ भन्ने थाहा भयो ।’ उक्त पुल तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको सस्पेन्सन ब्रिज डिभिजनले ०७२ मा बनाएको हो ।

विकिपिडियामा उल्लेखित ‘लिस्ट अफ हाइएस्ट ब्रिजेज’ शीर्षकको तथ्यांकअनुसार विश्वका सबैभन्दा अग्ला ५ झोलुंगे पुल सबै चीनमा पर्छन् । उक्त तथ्यांकमा नेपालको पुलबारे भने उल्लेख छैन ।

चीनको छिङ्सुई खोला पुलको उचाइ ४ सय ६ मिटर छ । विश्वमै सबैभन्दा अग्लो भनिएको चीनकै तुक पुल ५ सय ६५ मिटर उचाइको छ । दोस्रो अग्लो चीनकै सिदु खोला पुल ४ सय ९६ मिटर, तेस्रो अग्लो पुली पुल ४ सय ८५ मिटर र चौथो यची खोला पुल ४ सय ३४ मिटर उचाइको छ ।

नेपालमा हालसम्म सबैभन्दा अग्लो झोलुंगे पुल भनिएको पर्वतको कुश्मास्थित पुलको उचाइ नदीको सतहबाट १ सय ५६ मिटर छ । ‘सबैले अग्लो भनेका कारण हामीले पुलको उचाइ नाप लियौं । उचाइ ठीक ४१२ मिटर छ । यो नेपालको सबैभन्दा अग्लो पुल ठहरिएको छ,’ इन्जिनियर पाण्डेयले भने, ‘विश्वमा कहाँ कति अग्ला झोलुंगे पुल छन्, त्यो तथ्यांकले बताउला । तर, नेपालको भने सबैभन्दा अग्लो हो भन्न सकिन्छ ।’

नापीपछि वडाअध्यक्ष गुरुङ छक्क परेका छन् । ‘हामीलाई हाम्रै सम्पत्तिबारे थाहा नरहेछ । हामी पहिल्यै यसको प्रचारप्रसार गर्न चुक्यौं,’ उनले भने । उनका अनुसार गाउँका मान्छे वारपार गर्न पुल बनाइएको हो । स्थानीयले माग परेपछि तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गत डोलिडारको झोलुंगे पुल आयोजनाले बनाएको थियो।

नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले आफ्नै गाउँपालिकाको अग्लो पुल सर्वाधिक अग्लोमा भन्ने भर्खरमात्रै थाहा पाएको बताए । ‘विश्वमा रेकर्ड राख्न सक्ने यस्ता सम्पदा हामीसँग धेरै छन् । यहाँ अचम्मका कला र संस्कार संस्कृति छन्,’ उनले भने, ‘अहिले आएर थाहा हुँदै छ ।’ पुललाई सम्बद्ध निकायले विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्नुपर्ने उनले बताए ।

प्रकाशित : भाद्र २०, २०७५ ०७:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT