कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानेपानीमा सघाउँदै विदेशी स्वयंसेवी

गण्डकी गाउँपालिकाका २७ घरधुरीलाई खानेपानी उपलब्ध गराउन विदेशी स्वयंसेवी खटिँदै
हरिराम उप्रेती

गोरखा — गण्डकी गाउँपालिका ५ दर्बुङको रानीस्वाँरामा विदेशी युवाको समूह दुई महिनादेखि स्वयंसेवीका रूपमा गाउँलेलाई खानेपानी सेवा उपलब्ध गराउन खटेका छन् । उनीहरू २७ घरधुरीका लागि पाइप लाइन खन्न लागिरहेका हुन् ।

खानेपानीमा सघाउँदै विदेशी स्वयंसेवी

शौचालय निर्माण र सरसफाइसम्बन्धी जनचेतना फैलाउनु तथा खानेपानीको मूल संरक्षण गर्नु स्वयंसेवक टोलीको उद्देश्य छ । गल, साबेल, कोदालो, गैंची लिएर १५ देखि ३० उमेर समूहका विदेशी नागरिक पाइप लाइन खन्न तम्सिएपछि यहाँका स्थानीयमा पनि जाँगर पलाएको छ ।

वर्षौंदेखि खानेपानीको संकट झेल्दै आएका स्थानीय पनि विदेशी टोलीसँगै श्रमदानमा खटेका छन् । खानेपानीका लागि एक गैरसरकारी संस्थाले ६ लाख १२ हजार र वडा कार्यालयले दुई लाख रुपैयाँ छुट्याएका छन् । योजनाका लागि निर्माण सामग्रीको लागतबाहेक ३ लाख ५४ हजार रुपैयाँको श्रमदान गर्नुपर्छ । ‘विदेशीसँगै काम गर्दा हामीलाई पनि जाँगर चलेको छ । उनीहरू समयको एकदमै ख्याल गर्दारहेछन्,’ स्थानीय घनबहादुर थापाले भने ।

समुदायको सहयोगबिना आफूहरूले काम गर्न नसक्ने उक्त स्वयंसेवक टोलीका रामपुकार महराले बताए । ‘हामीलाई यहाँका गाउँलेले पनि सहयोग गर्नुभएको छ । विदेशीहरू पनि यहाँको संस्कार, संस्कृति र माया देखेर खुसी हुनुहुन्छ,’ उनले भने, ‘हामीलाई काम गर्न अझै हौसला थपिएको छ ।’

विभिन्न देशमा रहेका नागरिकले जम्मा गरेको केही रकम बेलायतमा रहेको रैले इन्टरनेसनलमा जम्मा हुन्छ । काठमाडौंमा पनि उक्त संस्थाको शाखा छ । उक्त संस्थाले यहाँ स्वयंसेवक खटाउँदै आएको हो ।

गोरखामा गोरेटो गोरखासँग साझेदारी गरेर गण्डकी गाउँपालिकाको घ्याल्चोक र दुर्बङका जनतालाई खानेपानी उपलब्ध गराउन सन् २०१६ बाट उक्त संस्थाले काम गर्दै आएको छ । हालसम्म उक्त क्षेत्रका ५ सय ६२ घरधुरी खानेपानी सेवाबाट लाभान्वित भएको महराले बताए । यो वर्ष असार २१ बाट विदेशी नागरिक घ्याल्चोक र दुर्बङमा ६ समूह बनाएर खटिएका छन् ।

चालु वर्षमात्र सयभन्दा बढी घरधुरीमा खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ । दुर्बङको रानीस्वाँरा, राइथोक र डाँडागाउँ घ्याल्चोकको घ्यामुनटार, डुडे, मजुवा र सुन्दर बस्तीमा स्वयंसेवकले खानेपानी उपलब्ध गराउन श्रमदानमा गरिरहेका छन् । बेलायत, बर्मुडा, जापान र चीनलगायतका विभिन्न देशका स्वयंसेवक श्रमदानमा लागेका हुन् । ‘प्रत्येक समूहमा १४ स्वयंसेवक छन् । उनीहरूलाई आवास र खाने व्यवस्था हामीले गरेका छौं,’ गोरेटो गोरखाका कार्यक्रम संयोजक विनोद पाण्डेले भने, ‘हाल धेरैजसो घरमा धारा जडान भइसकेका छन् ।’

सन् २०१९ बाट कार्यक्षेत्र विस्तार गर्दै जाने योजना रहेको पनि उनले बताए । ‘घ्याल्चोक र दुर्बङका सबै ठाउँमा खानेपानी उपलब्ध गराउने हाम्रो लक्ष्य हो । यहाँ आएको भोलेन्टियरले प्याड बनाउन र लगाउन सिकाउने लगायतका सरसफाइका काम पनि गर्छन्,’ उनले भने ।

रोजगारीको सिलसिलामा युवा समूह विदेशिएका छन् । यहाँका धेरैजसो गाउँमा युवाशक्ति कमै भेटिन्छन् भने गाउँमा वृद्घवृद्घा र केटाकेटी मात्र धेरै छन् ।

प्रकाशित : भाद्र २१, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?