गोरखकाली रबर उद्योग: सुनसान कारखाना, बेरोजगार मजदुर

०७१ चैत २६ देखि उत्पादन बन्द
दिनहुँ ७ बजे हाजिर गर्न कर्मचारीको भीड
कर्मचारी र मजदुरको ३५ करोड बक्यौता
हरिराम उप्रेती

गोरखा — उकालो–ओरालो मोटर सरर गोरखकाली टायर बलियो गुड्छ हरर नेपाल टेलिभजनमा कुनै समय निकै बज्ने माथिको विज्ञापन धेरैले अझै सम्झेकै हुनुपर्छ । अहिले न त्यो विज्ञापन बज्छ, न त गोरखकाली टायरको चर्चा हुन्छ ।

गोरखा नगरपालिका १३ देउरालीमा रहेको गोरखकाली रबर उद्योग । तस्बिर : हरिराम

बेलाबेलामा मन्त्री र नेताहरूले मुलुकका रुग्ण र बन्द भएका सरकारी लगानीका कारखाना पुन: सञ्चालन गर्ने भाषण गरे भने गोरखकाली रबर उद्योगको पनि नाम छुट्दैन ।

गोरखा नगरपालिका ७ को देउरालीस्थित उक्त कारखाना हाल खण्डहर जस्तै छ । एकाध कर्मचारीका फाट्टफुट्ट गाडी पस्छन्, निस्कन्छन् । मजदुर–कर्मचारी नियाउरो मुख लगाएर हाजिर गर्न जान्छन् र कारखाना हाताबाट बाहिरिन्छन् । प्रत्येक दिन बिहान ७ बज्नै लाग्दा गोरखा नगरपालिका १३ देउरालीस्थित गोरखकाली रबर उद्योगमा हाजिरी लगाउन कर्मचारी र मजदुरको भीड लाग्छ । तर, भीडका लागि उद्योगमा न कुनै काम छ, न त मेसिन सञ्चालनको आश ।

Yamaha

यो गोरखकाली टायरको उद्योग हो । सञ्चालनको अवधिमा कुनै बेला दिन–रात मजदुर र मेसिनले बेफुर्सदी हुन नपाउने कारखाना हाल सुनसान र रित्तो छ । कामबिना नै बसे पनि कर्मचारी र मजदुर उद्योग प्रशासनले बेलाबेला जारी गर्ने सूचना ध्यान दिएर पढ्छन् । उद्योगले ०७५ सालमा १४ दिन मात्र चाडपर्व बिदा हुने सूचना टाँस गरेको छ । ‘जागिर छ, तलब छैन,’ उद्योगका मजदुर अमृतबहादुर दराईले भने, ‘तीन वर्ष भयो उद्योग नचलेको । हाजिर लगाउन मात्र आउँछौं । यहाँ बसेर पो के गर्ने ?’ हाजिरी नलाए हालसम्मको तलब–भत्ता पनि गुम्ने चिन्ता आफूहरूलाई रहेको उनले बताए ।

कारखानामा २ सय ४१ मजदुर–कर्मचारी छन् । उनीहरू बेरोजगार बनेको ३४ महिना पुगेको छ । ०७१ चैत २६ यता उद्योगले टायर उत्पादन गर्न सकेको छैन । त्यसअघि पनि उद्योगले बेला–बेलामा मात्र टायर उत्पादन गर्दै आएको थियो । सञ्चालन पुँजी अभावसँगै बजारमा भारतीय कारखानाका टायरसँग प्रतिपस्र्धा गर्न नसक्दा उद्योग बन्द भएको हो ।

०४६ सालमा सेवा प्रवेश गरेका दराइ २९ वर्षसम्म उद्योगमै छन् । ‘यो बुढेसकालमा कहाँ जाने ?,’ दराईले भने, ‘उद्योग नचल्ने भए हामीलाई सम्मानजनक बिदाइ गर्नुपर्छ । सधैं हाजिर लगाएर फर्कन पनि लाज भएको छ ।’

मोरङ पथरी–शनिश्चरे घर भएका गणेशबहादुर राई उद्योगमा प्राविधिक पदमा कार्यरत छन् । तलब –भत्ता नपाउँदा बिहान–बेलुकीको खाना खर्च जोहो गर्न पनि गाह्रो पर्दै गएको उनले गुनासो गरे । ‘बच्चाबच्ची पनि पढाउनै पर्‍यो, गाउँको जग्गा बेच्दै खाएर बसेको छु । तलब नपाए पनि एक दिन त कसो नपाइएला भन्दै हाजिरी लगाइँदै छ,’ उनले भने, ‘यतिका वर्ष खाएको जागिर, हाजिर नगरे तलब नपाइने पो हो कि भन्ने पनि डर छ ।’ यसरी बाहिरी जिल्लाबाट आएर हाजिर गरेर मात्र दिन बिताएका कर्मचारी मजदुर यहाँ ५० जनाको हाराहारीमा छन् ।

०७३ को दसैंमा चार महिना र २०७४ मा दसैं खर्च बापत तीन महिनाको तलब–भत्ता उद्योग प्रशासनले उपलब्ध गराएको अर्का कर्मचारी थरिप्रसाद पौडेलले बताए । ५५ वर्ष उमेर हदका कारण अनिवार्य अवकाशमा परेका ५७ मजदुर कर्मचारीले पनि तलब–भत्ता पाएका छैनन् । ‘स्वेच्छिक अवकाशको चिठी त बुझेका छन् । पैसा पाएका छैनन्,’ पौडेलले भने । तत्काल उद्योग सञ्चालन गर्न मेसिनको अपग्रेड गनुपर्ने उनले बताए । ‘यो धेरै पुरानो टेक्नोलोजी हो । अब छिट्टै उद्योग सञ्चालन गर्ने भइहाल्यो भने पनि यसलाई अपग्रेड गर्नुपर्छ,’ उनले भने, ‘धेरै पटक सरकारले पैसा पनि दियो । यसरी नै चलाउन त गाह्रो छ ।’

उद्योग नचलेको दोष मजदुरलाई दिनु बेकार भएको उनले बताए । ‘काम दिए अझै गर्छौं । नभए बिदा गर्नुपर्‍यो,’ डिल्लीराम लुइँटेलले भने, ‘सबै मजदुर कर्मचारीलाई पठाउन पनि डेढ अर्ब रुपैयाँ लाग्छ रे । उद्योग सञ्चालन गर्न पनि त्यति नै, के गर्ने टुंगो लगाइदिए अन्योलता हट्थ्यो ।’

उद्योगमा चाहिने कच्चापदार्थ भारत र तेस्रो मुलकबाट आयात हुँदै आएको थियो । उद्योग बन्द हुँदा परिसर झाडीले ढाकेको छ भने भित्र माकुराका जाला छन् । उद्योगका महाप्रबन्धक दिनेश बर्तौला उद्योगलाई कुन ‘मोडालिटी’ मा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउँछन् । ‘अहिलेका कर्मचारी हटाएर नयाँ राखेर चलाउने कि, निजी पार्टीसँग साझेदारी गरेर चलाउने वा यिनै कर्मचारी यही अवस्थामा चलाउने भन्ने विषयमा हामी बहसमै छांै,’ उनले भने ।

आर्थिक अभावमा ३४ महिनाको तलब–भत्ता कर्मचारी र मजदुरलाई उपलब्ध गराउन नसकिएको उनले बताए । तलब–भत्ता दिन मात्र ३५ करोड रुपैयाँ लाग्ने उद्योग प्रशासनले हिसाब निकालेको छ । उमेर हदका कारण अवकाश भएकालाई मात्र १० करोड रुपैयाँ दिनुपर्ने बर्तौलाले बताए । ‘उद्योग मन्त्रालयसँग पनि छलफल भइरहेको छ । मन्त्री पनि उद्योग चलाउन सकरात्मक नै देखिनुहुन्छ,’ उनले भने, ‘अब हामी वार्ता समिति बनाएर मन्त्रालयसँग छलफलमा बस्छौं । अनि उद्योग कुन मोडालिटीमा चल्ने, तलब–भत्ता कहिले दिने टुंगो लाग्छ ।’ कर्मचारी, तलब–भत्तासहित उद्योगको सञ्चित नोक्सानी १ अर्ब ६० करोड रुपैयाँ नाघेको उनले बताए ।

यही अवस्थामा तत्काल उद्योग सञ्चालन गर्न कम्तीमा ५५ करोड रुपैयाँ आवश्यक पर्ने उनको भनाइ छ । ‘३५ करोड कर्मचारी र मजदुरलाई दिनुपर्‍यो,’ उनले भने, ‘बाँकी २० करोड भए कच्चापदार्थ ल्याएर चलाउन सकिन्छ ।’ थप १ सय १० दक्ष मजदुर र कर्मचारी भने थप्नैपर्ने उनले बताए ।

उद्योग लामो समयसम्म नचल्दा मेसिनमा खिया लागेको छ । मेसिन अपग्रेड गर्न मात्र २ अर्ब ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘सञ्चालन पनि गर्दै जाने, मेसिन अपग्रेड गर्दै जान पनि सकिन्छ,’ उनले भने, ‘मेसिन पुरानो टेक्नोलोजीको छ, फेर्नैपर्छ ।’

गोरखा सदरमुकाम प्रवेशद्वारको देउरालीमा ६ सय ८२ रोपनी क्षेत्रफलमा उद्योग छ । मुलुकमै पहिलोपटक ०४९ मंसिर २९ मा गोरखकाली रबर उद्योगले टायर उत्पादन थालेको थियो । उद्योग सञ्चालन गर्न हालको व्यवस्थाप नै फेर्नुपर्ने नेपाल कारखाना श्रमिक संघ इकाइका अध्यक्ष ईश्वर परियारले बताए ।

मौज्दात कर्मचारीलाई स–सम्मान बिदाइ गरेर नयाँ प्रविधि र व्यवस्थापन भए उद्योग चल्न सक्ने उनले बताए । ‘यही अवस्थामा केही गर्न सकिँदैन,’ उनले भने, ‘राज्यले हामी चलाउँछाैं, तिमीहरूको खाँचो छ भने हामी काम गर्न तयार छौं । होइन भने पाकेको तलब दिएर सम्मानजनक तवरले बिदाइ गर्नुपर्छ ।’

समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष विष्णु विक मजदुर र कर्मचारीको कारण उद्योग बन्द नभएको दाबी गर्छन् । ‘म्यानेजमेन्ट र आर्थिक कारणले बन्द भएको हो,’ उनले भने, ‘नयाँ व्यवस्थापन भए उद्योग चल्छ ।’

तलब नपाउँदा मजदुर कर्मचारीको बिजोग भएको उनले बताए । ‘साथीहरू मर्नु र बाँच्नु भएका छन् । तलब नपाएर परिवारले समेत छाड्ने अवस्थामा पुग्न लाग्यो,’ उनले भने । अहिलेकै व्यवस्थापनको भरमा उद्योग नचल्ने भनाइ नेपाल समाजवादी औद्योगिक मजदुर संघका अध्यक्ष हरेराम पोखरेलको पनि छ । ‘चल्ने कुरा त हराइहाल्यो । चलिहाले पनि यथास्थितिमा राख्न हुँदैन,’ उनले भने, ‘मजदुर, कर्मचारीको रोजिरोटी खोसियो । हामीलाई तलब दिए हाँसीखुसी बिदा हुन्छाैं ।’ राज्यको नीति प्रष्ट नहुँदा पनि उद्योग नचलेको उनले बताए ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्

पूर्व युवराज्ञी हिमानीकाे ट्रष्टले बनाएको विद्यालय भवन पूर्व रानी कोमलद्वारा हस्तान्तरण

धेरैपछि हिमानी र पारस एकै मञ्चमा
हरिराम उप्रेती

पालुङटार(गोरखा) — पूर्व राजपरिवारका सदस्य बिहीबार एकै मञ्चमा देखिए । पालुङटार नगरपालिका–५ ठाँटीपोखरीस्थित भवानी माविको विद्यालय भवन उद्घाटन कार्यक्रममा पूर्व रानी कोमल शाह, पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह सरिक भए । 

लामो समयदेखि सार्वजनिक स्थलमासँगै नदेखिएका पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानीले सँगै तस्बिर समेत खिचाए । ‘हिमानी र पारस एकै मञ्चमा देखिनु ऐतिहासीक क्षण नै हो ।
पछिल्लो समय हामीले उहाँहरुलाई सँगै विरलै देखेका छौँ,’ पारिवारीक स्रोतले भन्यो, ‘हिमानी र कोमल बुधबार काठमाडौबाट सँगै आउनुभयो, मुग्लीनमा बास बसेर आज यहाँ आइपुगेका हौँ ।’
पारस भने फिस्टेल एयरको हेलिकप्टरबाट बिहीबार बिहान पालुङ्टार उत्रिएका थिए । पूर्व राजपरिवारका सदस्यहरुले स्थानीयहरु भेटघाट पनि गरे । स्थानीयहरुले धर्म र राष्ट्र जोगाउन भूमिका खेलिदीन आग्रह गरेका थिए ।

२०७२ वैशाख १२ को भूकम्पले भत्काएको भवानी माविको विद्यालय भवन हिमानी ट्रस्ट र बुद्घिष्ट अर्गनाइजेशनले संयुक्त रुपमा निर्माण गरेको हो । २०७३ मंसिर १९ गते ट्रस्टकी अध्यक्ष हिमानीले शिलन्यास गरेको भवनको उद्घाटन बिहीबार ट्रस्टकी संरक्षक पूर्व रानी कोमल शाहले गरिन् । भवन निरिक्षण गरेपनि पुर्वराजपरिवारका सदस्यले मन्तव्य भने राखेनन् ।

शिक्षा, स्वास्थ्य, वातावरण, दैविक प्रकोपमा आफुहरुले काम गर्दै आएको ट्रस्टको सदस्य सचिव श्री मल्लले बताइन् । ‘१४ महिनामा भवन निर्माण सक्ने लक्ष्यका साथ काम गरेका थियौँ, लक्ष्य भन्दा चार महिना अघि एक वर्षमै सकेर हस्तान्तरण गर्दैछौ,’ मल्लले भनिन् ।

११ सय ५० जना विद्यार्थी संख्या रहेको उक्त विद्यालयको २० कोठे भवन भूकम्पले भत्काएको छ । हिमानी ट्रस्टले चार करोड ९५ लाख खर्चेर आठ कोठे भूकम्प प्रतिरोधी सुविधा सम्पन्न विद्यालय निर्माण गरिदिएको विद्यालयका प्रध्यानाध्यापक ओजराज गिरीले बताए ।

‘एउटा विद्यालय भवन निर्माण सकियो, अर्को आठ कोठे भवन पनि उहाँहरुले नै वनाउने सम्झौता भइसकेको छ,’ गिरले भने । हाल विद्यालय भवन अभाव हुदा उत्त विद्यालयको कक्षा टहरोबाट संचालन हुँदै आएको छ । अर्को भवन नवनेसम्म अझै १० वटा कोठा टहरोबाटै संचालन गर्नुपर्ने वाध्यता रहेको गिरीले बताए ।




प्रकाशित : भाद्र २१, २०७५ १६:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT