कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कारागारमा अहेवबाट सेवा

जिल्ला कारागारमा कैदीबन्दी बढेसँगै स्वास्थ्यकर्मीको तह घटाएर हेल्थ असिस्टेन्टको सट्टामा अहेव
कारागारमा ७२२ कैदीबन्दी
लालप्रसाद शर्मा

पोखरा — कास्की कारागार सञ्चालनमा आएको ५३ वर्ष भयो । कारागारको क्षमता उतिबेला ४० पुरुष र २० महिला राख्न सकिने थियो । सोही क्षमताअनुसार सरकारले कैदीबन्दीको औषधोपचारका लागि हेल्थ असिस्टेन्टको दरबन्दी तोक्यो ।

कारागारमा अहेवबाट सेवा

यतिबेला कारागारमा ५३ महिलासहित कैदीबन्दीको संख्या ७ सय २२ छ । उनीहरूका लागि स्वास्थ्यकर्मी पुरानै दरबन्दीअनुसारका एकजना मात्रै छ । स्वास्थ्यकर्मी र प्रयोगशाला थप्नुपर्ने माग भइरहेका बेला सरकारले उल्टै प्राविधिक स्वास्थ्यकर्मीको तह घटाएर अहेव राख्ने निर्णय गरेको छ ।

सुरुकै दरबन्दीअनुसार हालसम्म हेल्थ असिस्टेन्टले काम गर्दै आएका छन् । कारागार व्यवस्थापन विभागले कर्मचारीको दरबन्दी मिलाउने क्रममा दरबन्दी कटाएर खरिदार सरहको अहेव राख्ने निर्णय गरेसँगै कारागार प्रशासन अन्योलमा छ । कैदीबन्दीको संख्या र विभिन्न रोगको संक्रमणसमेत बढेका बेला एमबीबीएस चिकित्सक, स्टाफ नर्स, रेडियोग्राफर, प्रयोगशाला र ल्याब टेक्निसियनलगायत स्वास्थ्यकर्मी चाहिने बेलामा दरबन्दी घटाउँदा समस्या थपिने कारागारले जनाएको छ ।

‘अहेवले मात्र कैदीबन्दीको औषधोपचार गर्न असम्भव देखिन्छ,’ जेलर हरिप्रसाद गौतमले भने, ‘सामान्य बिरामी परेपनि अस्पताल लैजानुपर्छ । यसले एकातिर खर्च बढ्ने र अर्कोतर्फ सुरक्षा चुनौती थपिने छ ।’ यस विषयमा विभागमा मौखिक जानकारी गराइएको उनले बताए । तत्काल कम्तीमा रक्तपरीक्षण सेवा र महिला स्वास्थ्यकर्मी भएमा उपचारमा सहयोग पुग्ने उनको भनाइ छ ।

कारागारमा औषधोपचार जनस्वास्थ्य निरीक्षक (हेअ) विष्णु सुवेदीले गर्दै आएका थिए । ‘सहयोगी पनि नहुँदा एक्लै सबै काम गर्दै आएको थिएँ । महिलालगायत अन्य स्वास्थ्यकर्मी थपको माग भएका बेला उल्टै अहेबको दरबन्दी कटौतिमा पर्‍यो,’ उनले भने, ‘कैदीबन्दीप्रति सरकार उदासीन भएजस्तो लाग्यो ।’ सुवेदीले राति पनि भन्न नपाइने र बिदासमेत पाउने अवस्था नरहेको भन्दै एकै दिन ३ सय बिरामीको स्वास्थ्योपचार गर्नुपरेको सुनाए ।

थुनुवा तथा कैदीलाई कुनै पनि स्वास्थ्य समस्या परेमा स्वास्थ्य परीक्षण गरिन्छ । सम्भावित रोगको निदान गरी सम्भव भएसम्म कारागारमै उपचार गर्ने तर नसक्ने अवस्था भएमा थप निदानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय अस्पतालमा रिफर हुन्छ । पहिला क्षेत्रीय सदरमुकाम र हाल प्रदेश राजधानी भएकाले जिल्ला कारागारबाट जटिल बिरामी कैदीलाई यहीं ल्याइन्छ ।

दैनिक ३०/४० बिरामीको चेकजाँच गर्नुपर्ने र दिनमा २० जनालाई अस्पताल रिफर गर्नुपर्ने अवस्था रहेको सुवेदीले बताए । कैदीबन्दीहण्रू विभिन्न रोगबाट ग्रसित भएकाले नियमति उपचार गर्नुपर्छ । ‘अधिकांश नियमित औषधि सेवन गर्नुपर्ने अवस्थाका छन्,’ सुवेदीले भने, ‘समयसापेक्ष दरबन्दी कायम गरी स्वास्थ्यकर्मी थप्नुपर्नेमा उल्टै तह घटाइयो । हचुवाको भरमा निर्णय गरेजस्तो लाग्छ ।’

कैदी तथा थुनुवामा बढी श्वासप्रश्वासका रोगी छन् । त्यसपछि छाला र नसर्ने उच्च रक्तचाप, मुटु, डिप्रेसन, नसाका बिरामीसमेत छन् । महिला स्वास्थ्यकर्मी नहुँदा रोग लुकाउने प्रवृत्ति रहेको कारागारले जनाएको छ । ‘महिला बन्दीका लागि स्वास्थ्यकर्मी पनि महिला नै आवश्यक छ,’ गौतमले भने । कारागारका अनुसार ६ कार्यालय सहयोगी रहेकोमा यतिबेला घटाएर संख्या ४ मा झारिएको छ । यसले काममा समस्या हुने गौतमले बताए ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?