कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

भदौमै सुन्तला !

स्याङ्जा — भदौमा पनि सुन्तला पाक्छ ? हिउँदमा सुन्तला पाकेको देख्नेहरूका लागि नौलो हो । यतिबेला पुतलीबजार– ११ मयाटारीका बोधराज अर्यालको बारीमात्रै होइन गमलामा लगाएका विरुवामा पनि सुन्तला पाकेका छन् ।

भदौमै सुन्तला !

उनले फलाएका सुन्तला तिहारपछि बजारमा आउने प्रजातिका भने होइनन् । जापानीज उन्सु र मुन्तला जातका हुन् । सुन्तला खेतीको तालिम लिन १० वर्षअघि कीर्तिपुर जाँदा अर्यालले उन्सु र मुन्तलाका एक/एकवटा बिरुवा ल्याएका थिए ।

त्यसलाई हुर्काएर कलम गरी उनले अहिले १ सय ५० भन्दा बढी बिरुवा हुर्काएका छन् । परीक्षणका लागि ल्याएका उन्सु र मुन्तला यतिबेला लटरम्मै छन् । आकारमा मध्यम स्तरको बोट रहेको उन्सु सुन्तलाको अहिले ५० भन्दा बढी बोटले फल दिइरहेको अर्यालले बताए ।

‘उन्सु स्वादिलो छ,’ उनले भने, ‘बिरुवा कलमी गर्दै वर्षको ३० देखि ४० वटा नयाँ बिरुवा सार्दै बढाएको छु ।’ करीब एक रोपनीमा बिरुवा फैलाएका उनको यसपटक फलेका उन्सु सुन्तला करिब ५ सय किलो बेच्ने लक्ष्य छ ।

फुलेको ५ महिनामै खान तयारी हुने जापानी उन्सु सुन्तला गमलामा समेत फलेकाले बाहिरबाट आउने कृषकको ध्यान जाने गरेको अर्याल बताउँछन । ‘बगैंचा हेर्न आउनेले सयदेखि एक हजारसम्म हालेर परीक्षणका लागि उन्सु र मुन्तलाका बिरुवा लगेका छन्,’ उनले भने, ‘बेमौसममा ताजा खान पाइने उन्सु र मुन्तला जातको सुन्तला बिस्तार गर्न सके किसानले छिटो र उचित मूल्य पाउन सक्छन् ।’ बाहै्र महिना फलिरहने मुन्तला पनि ५० बोट फलेको उनले बताए । सानो दाना हुने र धेरै फल्ने मुन्तला पाकेपछि बोक्रा नछोडाइ खान सकिन्छ ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?