२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बारपाक सडक खुल्यो

काठमाडौँ — विस्फोटक पदार्थ प्रयोग गर्दै ठूला ढुंगाहरू फुटाइएपछि १२ किलो, छेवेटार–भालुस्वारा सडकअन्तर्गत राङरुङदेखि बारपाक खण्ड खुलेको छ । ठूला–ठूला ढुंगा खसेर सडकका विभिन्न स्थानमा गत असार २२ देखि आवागमन प्रभावित थियो ।

बारपाक सडक खुल्यो

नेपाली सेनाको सहयोगमा पाँचवटा ठूला ढुंगामा ५० वटा होल खोलेर विस्फोट गराइएको हो । ‘ब्रेकरले ढुंगा फोर्न नसकेपछि विभागमार्फत सेनालाई अनुरोध गरेका थियौं,’ जिल्ला प्रशासन कार्यालयका अधिकृत गौतम भण्डारीले भने ।

बेनीघाट–आरुघाट–लार्के सडक निर्माण कार्यदलका मेजर निशान्त क्षेत्री नेतृत्वको २२ जनाको टोली विस्फोटक पदार्थको सहायताले ढुंगा फोर्न तीन दिनसम्म उक्त क्षेत्रमा खटिएका थिए । ‘तीन महिनादेखि अवरुद्घ सडक रहेछ । जिल्ला प्रशासनको अनुरोधपछि आवश्यकताअनुसार विस्फोटक पदार्थ पडाएर ढुंगा हटायौं,’ क्षेत्रीले भने ।

उक्त सडकखण्डअन्तर्गत तेर्सेपाखा र राङरुङ नजिकै बर्खा लागेसँगै भीरबाट ठूला ढुंगा खसेका थिए । तेर्सेपाखामा ९५ क्युबिक मिटर र ९० क्युबिक मिटरका ढुंगा खसेका थिए भने राङरुङ नजिकै ५० क्युबिक मिटर र ६० क्युबिक मिटरका ढुंगा खसेको थियो । त्यस्तै तेर्सेपाखामा ६ सय क्युबिक मिटरको ढुंगा भित्तामा टाँसिएर सडक अवरुद्घ पारेको थियो ।

उक्त ढुंगामा ६ मिटरको होल खोलेर त्यहाँभित्र बारुद हाली विस्फोटन गरिएको हो । उक्त सडकमा विस्फोटक पदार्थ प्रयोग गर्न २ लाख ३० हजार खर्च लागेको र उक्त खर्च ११ किलो छेवेटार भालुस्वारा सडक आयोजनाले बेहोर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सडकबाट अवरोध हटाइएसँगै हलुका सवारी आवागमन सुरु भएको भएको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए । ‘बमले फोरेका ढुंगा हटाउन दुईवटा डोजर लगाइएको छ,’ उनले भने, ‘सडकको पहिरो पन्छाउने काम पनि सुरु भयो । ठूलो बसलाई अझै समस्या छ, ट्याक्टर, एम्बुलेन्स र साना गाडी चल्न थाले ।’ सडक अवरुद्घ भएपछि बारपाक, लाप्राक र गुम्दाका स्थानीय राङरुङबाट पैदल आउजाउ गर्दै आएका थिए ।

प्रकाशित : भाद्र २४, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?