व्यावसायिक माछापालनमा फाइदा

काठमाडौँ — जिल्लामा व्यावसायिक माछापालन गर्ने किसानलाई फाइदा हुने गरेको छ । यहाँका किसानले एकै वर्ष एउटै फर्मको माछा बिक्रीबाट ६० लाख रुपैयाँको कारोबार गरेका छन् ।

व्यावसायिक माछापालनमा फाइदा

मोदी गाउँपालिका २ देउपुरको पातीखोलामा रेन्बो ट्राउट माछा फर्म चलाएका व्यवसायीले एकै सिजनमा ६ टन माछा बेचे ।

मोदी २ का वडाध्यक्ष विकास तिमिल्सिना र बागलुङको धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक यामप्रसाद शर्माको लगानीमा सञ्चालित फर्मका माछा जिल्ला बाहिरबाट माग आउने गरेको छ । फर्ममै पुगेर पोखराका व्यवसायी तथा होटलहरूले ट्राउट माछा खरिद गर्दै आएका छन् । अन्य माछाभन्दा बढी पौष्टिक, काँडा नहुने र स्वादिलो भएकाले ट्राउटको माग पर्यटकीय होटलहरूमा बढी हुन्छ । हाल यो माछाको मूल्य प्रतिकिलो १ हजारदेखि १२ सयसम्म रहेको व्यवसायी बताउँछन् ।

शर्माले ५ वर्षअघि पातीखोलामा फर्म सञ्चालनमा ल्याएका थिए । दुई वर्षअघि खोलामा आएको बाढीले फर्मका सबै संरचनासहित माछापोखरी बगाएको थियो । ‘क्षति भएका संरचनाको बिमाबाट असुलउपर भयो,’ उनले भने, ‘रामै्र आम्दानी हुने सोचेर पुन: लगानी गरियो । सफल पनि भएका छौं ।’ दुई वर्षअघि नयाँ संरचना बनाएर माछापालन पुन: थालेका शर्मा र तिमिल्सिनाले पहिलो वर्षमै नसोचेको उपलब्धि हासिल भएको बताएका छन् । ‘बीसौं वर्ष पुलिसको नोकरी गरेर आएको जम्मा आठ लाख थियो,’ तिमिल्सिनाले भने, ‘यही लगानीले एकै वर्षमा पाँच लाख आम्दानी भयो । व्यवसायलाई जित्ने केही रहेनछ ।’

यो वर्ष पनि पातीखोलामा आएको बाढीले माछा फर्मसम्म पुग्ने सडक भत्काइदिएको छ । फर्मसम्म सवारीसाधन लैजान नसक्दा पोखरीबाट माछा निकालेर बजार पठाउन समस्या छ । ‘अहिले केही समयका लागि माछा झिक्नै रोकेका छौं,’ शर्माले भने, ‘सडकको सुविधा सहज भइदिए लगानी र आम्दानी दोब्बर बनाउन सकिन्थ्यो ।’

मोदी गाउँपालिकाको पातीखोला किनार रेन्बो ट्राउट र मागुरलगायतका माछापालनका लागि उपयुक्त छ । प्राविधिकका अनुसार पातीखोलाको पानी र आसपासको जमिन माछाका लागि जिल्लामै बढी उपयुक्त छ । पातीखोलानजिकै अम्बोटमा विगत ६ वर्षदेखि नमुना व्यावसायिक फर्म सञ्चालन गरेका लालबहादुर हरिजनले समेत यो वर्षदेखि माछा बिक्रीका लागि पोखरा पठाउन थालेका छन् ।

पोखराका विभिन्न होटलमा माछाको माग बढी भएपछि हरिजनले ज्युँदै माछा पठाउन थालेका हुन् । गत साता मात्रै ६ क्विन्टल माछा पोखरा बिक्री गरेको उनले बताए । रेन्बो ट्राउट, माहुरलगायतका माछा ३ देखि ५ महिनाभित्र तयार हुने किसानले बताउँछन् । एक वर्षमा दुई सिजनसम्म बिक्री गर्न सकिने भएकाले माछा फर्ममा सबै लगानी र खर्च कटाएर ६० प्रतिशतसम्म फाइदा हुने फर्म सञ्चालकको भनाइ छ ।

प्रकाशित : भाद्र २४, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?