१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

खरखरेको पहिरोले हैरानी

आश गुरुङ

लमजुङ — पानी पर्नेबित्तिकै बेंसीसहर नगरपालिका ६ बेलौती बिसौना नजिकै उत्तीसघारीको खरखरेमा पहिरो झर्छ । यो पहिरोले हिमाली जिल्ला मनाङसम्मका स्थानीयलाई रुवाएको छ ।पानी परिरहे उक्त पहिरो पन्छाउन सकिँदैन । पहिरो झरिरहेकाले यात्रुसमेत हिँड्न मिल्दैन ।

खरखरेको पहिरोले हैरानी

‘पानी परेपछि जहिल्यै ठूलो पहिरो खस्ने । आज बिहान (सोमबार) एउटा जरुरी बैठकका लागि बेंसीसहर आउँदै थिएँ । पहिरो खस्दै रहेछ । जानै सकिनँ । बीचबाटोबाट फर्किएँ,’ मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने । उनका अनुसार पहिरोले धेरै जरुरी कामहरू रोकिएका छन् । जरुरी बैठकमा आउजाउ गर्न पाएका छैनन् ।


मस्र्याङ्दी गाउँपालिका ४ ताघ्रिङका अध्यक्ष सुमन गुरुङका अनुसार कयौंपटक मोटरसाइकल उक्त पहिरोमा रोकिने गरिएको छ । ‘बेंसीसहर आउने–जाने गर्नुपर्छ । पहिरोले कहिले बेंसीसहर र कहिले वडाको जरुरी काम गर्न पाइँदैन । कतिबेला पहिरो झर्छ थाहै हुन्न’ उनले भने ।


मस्र्याङ्दी गाउँपालिका तथा विभिन्न कार्यालयका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी प्राय: बेंसीसहरमै बस्छन् । पहिरो गएपछि उनीहरू समस्यामा पर्ने गरेका छन् । साँझ बेंसीसहर आउँदा र बिहान कार्यालय जाँदा उनीहरू पहिरोबाट फर्कन बाध्य छन् । ग्रामीण तालिम केन्द्र सिम्पानीका केन्द्रप्रमुख बद्रीनाथ सापकोटाले पहिरोका कारण सोमबार कार्यालय जान नसकिएको बताए ।


‘कहिले कार्यालयमै बस्छु । कहिले बेंसीसहर बस्छु । बेंसीसहर आउँदा र जाँदा खरखरेको पहिरो बाधक बन्छ । कहिले पहिरोमै कुरेर दिन बित्छ,’ उनले भने, ‘चाहेर पनि जान नसकिएपछि काम गर्न गाह्रो हुन्छ नि ।’ बेंसीसहर बस्दाको समय कार्यालयकै कामका लागि कार्यालय प्रमुख र जनप्रतिनिधिसँग भेटघाट गर्ने गरेको उनले बताए । उनका अनुसार बेंसीसहरदेखि उनको कार्यालयको दूरी ५ किलोमिटरको छ । ‘हिँड्नै नमिल्ने गरी पहिरो खसिरहेको हुन्छ । पहिरो तरौं ज्यानै जाला भन्ने डर’ उनले भने ।


बेंसीसहर नगरपालिका ६ का वडाध्यक्ष भोजबहादुर रिमालका अनुसार पानी पर्नेबित्तिकै पहिरो झर्छ र पहिरो पन्छाउन समय लाग्छ । भिरालो जमिन, खरखरे गिटीयुक्त चट्टान, तलबाट मस्र्याङ्दीको कटान, पहिरोमा मूल, माथिल्लो क्षेत्रमा धान रोपाइँले गर्दा पहिरो खस्ने गरेको छ । पहिरो खसेपछि ग्रामीण भेगका बालबालिका र वृद्धवृद्धा सबैभन्दा समस्यामा परेको उनले बताए ।


लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाइका अध्यक्ष वीरेन्द्र भण्डारीले पहिरोले कयौंपटक सामान अलपत्र परेको बताए । उनका अनुसार सामान अलपत्र पर्दा पानीले भिज्ने, ओसिने वा पहिरोले नै लाने डर हुन्छ । ‘कति सामान मस्र्याङ्दी गाउँपालिकाका लागि र कति सामान मनाङका लागि अपलोड भएको हुन्छ । कति सामान बेंसीसहर नपुग्दै र कति सामान मनाङ नपुग्दै नष्ट हुन्छन्,’ उनले भने ।प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार खरखरेको पहिरो खसेपछि पन्छाएर बाटो बनाउनुबाहेक तत्कालका लागि कुनै विकल्प छैन । वरपरबाट अर्को बाटो बनाऊँ भने पनि ठाउँ छैन ।


‘बाटोले पानी पर्नेबित्तिकै दु:ख दिन्छ । आज बाटो बनायो, भोलि फेरि बन्द । साउन–भदौ महिना प्राय: बाटो बन्द भइरहेको छ । हामीले चौबीस घण्टाभित्र बाटो खुलाएका छौं । बाटो खुलाउन नसक्ने स्थिति आएमा हाम्रै पो के लाग्यो र,’ उनले भने । उनले बाटोको विकल्प खोजिनुपर्ने बताए । ‘कि ठूलै रकम खर्च गरेर पहिरो भएको ठाउँमा फराकिलो बाटो बनाउनु पर्‍यो । नत्र विकल्प खोज्नुपर्छ । विकल्प खोजिएन भने यो पहिरोले सधैंको दु:ख दिन्छ,’ उनले भने । मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बाटोको विषयमा धेरै पटक डिभिजन सडक कार्यालय, नेता र मन्त्रीलाई भने पनि समस्याको समाधान नभएको गुनासो गरे ।


स्थानीयका अनुसार उक्त सडक निर्माण गरेको २४ वर्ष भयो । यतिका वर्षसम्म पनि सडकको स्तरोन्नति हुन सकेको छैन । बेंसीसहरबाट मनाङसम्म सडक पुर्‍याउने भनी सडक विभागले आर्थिक बर्ष २०५१/५२ मा बेंसीसहरबाट निर्माण सुरुवात गरेको उक्त सडकलाई नेपाली सेनाले आव ०५८/५९ देखि जिम्मा लिएको थियो । त्यही बेला खुदीसम्मको सडक निर्माण भएको स्थानीय बताउँछन् । दिनदिनैको पहिरो खस्नाले माथिल्लो गाउँका करिब २० घर जोखिममा परेका छन् ।


डिभिजन सडक कार्यालय दमौलीका डिभिजन इन्जिनियर भानु जोशीले उक्त सडकमा यसअघि पनि ग्याबिन लगाएर पर्खाल निर्माण गरिएकोमा केही वर्ष धानेको थियो । ‘माथिल्लो क्षेत्रमा पानी राखेर धान खेती गरिनु, जमिन भिरालो, मस्र्याङ्दी कटान र जमिनमै रहेको गिटीले समस्या पारेको छ’ उनले भने, ‘दीर्घकालीन समाधानका लागि बाटो अन्तै बनाउनुपर्ने हुन्छ । यसैलाई बढी खर्च गरेर बाटोलाई दिगो बनाउन सकिन्छ ।’ विस्तृत अध्ययन गरी यसको दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उनले बताए ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?