३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

फेवामा जथाभावी बल्छी

विना थापा

कास्की — फेवातालमा जथाभावी माछा मार्न पाइँदैन । बल्छी खेल्न र जाल हान्न महानगरपालिकाको कार्यालयबाट स्वीकृति लिनुपर्छ । तर, फेवातालका विभिन्न घाटहरूमा हिजोआज माछा मार्नेको भीड हुन थालेको छ ।

फेवामा जथाभावी बल्छी

माछा मारेर गुजारा चलाउने जलारी समुदायको पेसा सुरक्षित पार्न फेवातलमा कार्यक्रम नै छ । उक्त कार्यक्रमअन्तर्गत उनीहरूलाई ‘केज’ राखेर पाछापालनमा मत्स्य विकास तथा अनुसन्धान केन्द्रले सघाएको छ । जलारी समुदायलाई माछा मार्न महानगरपालिकाले अनुमतिपत्र बनाइदिएको छ ।

आफूले पालेका माछाबाहेक उनीहरूले तालका निश्चित क्षेत्रमा मात्रै माछा मार्न पाउँछन् । जथाभावी र जसले पनि माछा मार्दा तालका रैथाने प्रजाति नासिने भन्दै महानगरपालिकाले नियम बनाएको हो ।

जलारी समुदायको बसोबास र उनीहरूको माछापालनको ‘केज’ रहेका ठाउँबाहेक फेवातालका अधिकांश क्षेत्रमा माछा मार्न नपाइने सूचना महानगरपालिकाले राखेको छ । तर, जथाभावी माछा मार्नेहरू बढ्दा पनि अनुगमन भने हुने गरेको छैन ।

रहरका लागि माछा मार्दा रमाउनेहरू सामान्य प्रकारका बल्छी मात्रै होइन विदेशबाट आयातीत ‘फिसिङ रड’ नै लिएर बस्छन् । आफूलाई बस्नका लागि हलुका मुडा र माछा राख्ने झोला लिएर दिनभर ताल किनारमा बसेर बल्छी थाप्नेहरू थुप्रै हुने गरेका छन् । फुर्सदिलाहरूका लागि दिनभर तालको छाल हेर्दै, माछा मार्दै बस्नु शोख नै बनेको छ ।

रहरका लागि जथाभावी माछा मार्ने बढेपछि जलारी समुदायमा चिन्ता परेको छ । ‘हाम्रो त हात–मुख जोर्ने पेसा नै माछा मार्नु हो,’ गीता जलारी भन्छिन्, ‘जसले पनि जथाभावी माछा मार्दा नगरपालिकाले चेक गर्नुपर्ने होला ।’ अनुमति लिएर मात्रै माछा मार्न पाइने भनिएपछि नियमन सबैलाई बराबरी हुनुपर्ने उनले बताइन् ।

ताल किनारमा माछा मारिरहेको भेटिएमध्येका राम नेपाली ज्यामी काम गर्छन् । फुर्सदमा बल्छी लिएर माछा मार्न बस्छन् । ‘बल्छी थापेर बसेकालाई कसैले केही भन्दैन,’ उनले भने, ‘अनुमति लिनुपर्छ/पर्दैन कसैलाई थाहा छैन ।’ बेलाबेला अनधिकृतरूपमा माछा मार्नेलाई त्यसरी जथाभावी गर्न नपाइने भनेर सम्झाउन महानगरपालिकाले टोली खटाउनुपर्ने उनले बताए ।

पोखरा ६ का वडाध्यक्ष जगत पहारी अनुमति नलिई तालमा माछा मार्न नपाइने बताउँछन् । ‘अनुमति लिनेका लागि पनि एरिया तोकिएको छ, जथाभावी त पाइँदै पाइँदैन,’ उनले भने, ‘बिनाअनुमति माछा मारेको पाइए कानुअनुसार कारबाही हुन्छ ।’ फेवातालको अधिकांश क्षेत्र पहारी नेतृत्वकै वडामा पर्छ, जहाँ जथाभावी बल्छी खेल्नेहरू धेरै भेटिन्छन् । प्रभावकारी रोकथामका लागि वडा समितिले पनि चासो दिएको छैन ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?