कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एउटा भवन बन्न १७ वर्ष !

दमौली — तनहुँको दमौलीमा सहिद चन्द्र नेपाली छात्रावास १७ वर्षमा बनेको छ । आदिकवि भानुभक्त क्याम्पस परिसरमा २०५८ सालमा उक्त भवन बनाउन थालिएको हो ।

एउटा भवन बन्न १७ वर्ष !

निर्मल माविले उपलब्ध गराएको दुई रोपनी क्षेत्रफलमा छात्रावासको पक्की भवन निर्माण भएको छ । तत्कालीन संसद विकास कोष, जिविस, व्यास नगरपालिका, भवन निर्माण डिभिजन कार्यालय, राष्ट्रिय दलित आयोग, क्याम्पस र संघसंस्थाको आर्थिक सहयोगमा १४ कोठे भवनको निर्माण सम्पन्न भएको छात्रावास व्यवस्थापन समितिका संस्थापक अध्यक्ष एवं प्रदेश सांसद दोबाटे विकले बताए । ‘सहिद चन्द्र नेपाली छात्रावास भवन निर्माण गर्न मात्र ७० लाख रुपैयाँ खर्च भयो,’ उनले भने, ‘एक/दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने निकै लामो समय लाग्यो ।’

छात्रावास निर्माणमा सरोकारवालाले समयमा चासो नदिएकाले ढिलाइ भएको उनले बताए । ‘निर्माण थाले पनि बन्ने छाँटकाट हराएपछि सबैसँग हारगुहार गर्‍यौं,’ उनले भने, ‘ढिलै भए पनि बल्ल तयार भएको छ ।’ छात्रावासमा दलित छात्रालाई प्रमुख प्रथामिकता राख्नुपर्ने उनले बताए । दलित विद्यार्थीले बजारमा सजिलै कोठा भाडामा नपाउने समस्या छ । दलित मात्र नभई विपन्न विद्यार्थीलाई सुविधा दिने उद्देश्यले छात्रावास निर्माण गरिएको उनले बताए ।

छात्रावास दसैं–तिहारपछिबाट औपचारिक प्रयोगमा ल्याइने क्याम्पस प्रमुख महाप्रसाद हड्खलले बताए । ‘भौतिक संरचना बल्ल तयार भयो,’ उनले भने, ‘व्यवस्थितरूपमा सञ्चालनका लागि क्याम्पस तयारीमा जुटेको छ ।’

छात्रावास ३० जना क्षमताको छ । यसमा महिला विद्यार्थीलाई मात्र राखिनेछ । दलित, आदिवासी जनजाति, अपांग र विपन्न विद्यार्थीलाई छनोट गरेर राखिने उनले बताए । ‘लक्षित वर्गका विपन्न विद्यार्थी छनोट गर्छौं,’ उनले भने ।

छात्रावासमा बस्ने विद्यार्थीले प्रतिव्यक्ति हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । भित्रै सस्तो दरको सामूहिक भान्सा व्यवस्था गरिने भएको छ । ‘कम शुल्कमा नै विद्यार्थीलाई छात्रावासमा राम्रो सुविधा पुर्‍याउने क्याम्पसको योजना छ,’ प्रमुख हडखलले भने । क्याम्पस समयबाहेक बाँकी समय छात्रावासमा पनि कक्षा सञ्चालन गर्ने योजना छ । यसका लागि महिला प्राध्यापक व्यवस्था गरिने भएको छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?