संस्कृत कक्षामा दलित र जनजाति

माध्यमिक स्तरसम्मका कक्षामा दलित र जनजाति छात्राछात्रा नै बढी
बाहुन–क्षत्रीले मात्रै संस्कृत पढ्ने भन्ने सोच हराएयो
प्रकाश बराल

बागलुङ — संस्कृत पढ्ने बाहुन जातिले मात्रै हो भन्ने मान्यताविपरीत दलित र जनजातिका बालबालिकालाई पनि भर्ना लिइएको छ । उनीहरूको रुची पनि संस्कृतिमा देखियो ।

बागलुङको बेलबगरस्थित संस्कृत माविको पुरानो भवन र विद्यार्थीहरू । तस्बिर : प्रकाश

यहाँको संस्कृत माद्यमिक विद्यालयमा अहिले कसैले कसैलाई जात सोध्दैन । विस्तारै यसले समाज परिवर्तनको अनुभूति गराएको छ । जैमिनी नगरपालिका ७ की जमुना नेपाली र हिमानी थापालाई संस्कृत पढ्न पाउँदा खुसीसँगै नौलो पनि लागेको छ । दुवै १० कक्षाका छात्रा हुन् । केही वर्ष अघिसम्म बाहुन–क्षत्री समुदायका बालबालिकाले मात्र संस्कृत पढ्ने चलन थियो । तर, दलित र जनजातिका बालबालिका पनि हाल संस्कृत अध्ययन गरिरहेका छन् ।

संस्कृत पढदा बोली प्रष्ट हुने, व्याकरण, साहित्य र भाषामा अब्बल बनेको देखेपछि विद्यार्थीमा आकर्षण बढेको छ । ‘अघिल्लो पुस्ताले भाषामा राम्रो गरेको देखिएको छ । हामीले पनि व्याकरण र भाषामा सुधार ल्याउन सक्छौं भनेर संस्कृत पढेका छौं,’ नेपालीले भनिन्, ‘माध्यमिक परीक्षा पास गरेपछि गाउँघरमा कर्मकाण्डको काम गर्न पनि सकिन्छ ।’ नेपालीकी साथी थापालाई पनि संस्कृत पढ्न पाउँदा खुसी लागेको छ ।

Yamaha

जिल्लाको एक मात्र यो विद्यालयमा पढ्ने छात्रछात्रामध्ये दलित र जनजाति संख्या धेरै रहेको प्रधानाध्यापक अरुण चालिसेले बताए । ‘मावि तहसम्मको संस्कृत पढेकालाई सामान्य सिकाउँदा कर्मकाण्डमा सक्षम बन्न सक्छन्,’ उनले भने, ‘गएको वर्षको एसईई परीक्षा दिने हाम्रा ५४ विद्यार्थीमा दलित र जनजातिको संख्या ३२ थियो, बाँकी क्षत्री–बाहुन समुदायका थिए ।’ दलित र जनजाति समुदायमा संस्कृत शिक्षाप्रतिको दृष्टिकोण सकारात्मक बन्दै गएको उनले बताए ।

‘विभेदको अन्त्यका लागि यो विद्यालय गन्तव्यजस्तै भएको छ,’ उनले भने, ‘शिक्षामा सबैले समान अवसर पाउनुपर्छ भनेर हामी शिक्षकसँगै अभिभावक पनि सकारात्मक भएकाले असर राम्रो छ ।’ संस्कृत शिक्षा समय क्रममा धेरै आरोह–अवरोह पार गरेर चलेकाले जुनसुकै समुदायबाट भए पनि सभ्य र शिक्षित जनशक्ति उत्पादन आफ्नो ध्येय भएको उनले बताए ।

‘संस्कृत माविका विद्यार्थी भन्दा सम्मानित भइन्छ,’ पूर्वविद्यार्थी तथा राजनीतिक कार्यकर्ता सीताराम रसाइलीले भने, ‘विभेद अन्त्यको केन्द्र पनि संस्कृत विद्यालय बनेको छ ।’ २०४७ सालको मुलुकको राजनीतिक परिवर्तनपछि तत्कालीन प्रधानाध्यापक नारायण चालिसे र पूर्वप्रअ इन्द्रराज पौडेलले दलितले पनि ब्राह्मण समुदायसँगै मिलेर पढ्न र काम गर्न सक्ने बनाउन संस्कृतमा भर्ना गराएको स्मरण गर्छन् ।

०५२ सालदेखि दलित विद्यार्थीले संस्कृत विषय लिएर एसएलसी उत्तीर्ण भएको तथ्यांक विद्यालयमा छ । यसरी उत्तीर्ण भएकाले समाजमा राम्रो छविसमेत बनाएका छन् । सेनामा प्रवेश गर्नेले पनि त्यहाँको कर्मकाण्डी काम गरेका छन् । सामाजिक पेसामा लाग्ने बढी छन् । यहाँ पढेकाहरू प्रष्ट वक्ताका रूपमा देखिएको उनको अनुभव छ ।

‘हिजोसम्म बाहुन–क्षत्रीले मात्रै संस्कृत पढ्ने भन्ने थियो, अहिले जाति भन्ने हराएको छ,’ चालिसेले भने, ‘अत्यावश्यक कामका लागि पण्डित पाउनै मुस्किल भएकाले छोराछोरीले चासो राखिदिऊन् भन्ने अभिभावकमा पनि भावना पलाएको छ ।’ मावि तह उत्तीर्ण भएपछि भने यहाँका विद्यार्थीलाई उच्चशिक्षा सजिलो नभएको शिक्षक होमनाथ आचार्यले बताए । ‘जिल्लाभरि नै कक्षा ११ र १२ कक्षा र उच्च शिक्षामा संस्कृत पढ्ने ठाउँ छैन,’ उनले भने, ‘टाढा जानुपर्दा विद्यार्थीको चाहना भएर पनि पढ्न पाएका छैनन् ।’ उच्च शिक्षाका लागि तनहुँको भानु संस्कृत विद्यापीठ वा राजधानीको वाल्मीकि क्याम्पस पुग्नुपर्ने बाध्यता भएको उनले बताए ।

केही विद्यार्थी भने अभिभावकलाई सोधेर राजधानी गएर पढ्ने चाहना बनाइसकेका छन् । ‘संसारकै पुरानो भाषा भएकाले पढ्ने चाहना छ । काठमाडाैं भए पनि जाने योजना बनाएकी छु,’ कक्षा १० की हिमानी थापाले भनिन्, ‘भाषाको शुद्धतामा यसले साथ दिने विश्वास लागेको छ ।’ माध्यमिक परीक्षापछि स्नातक तहसम्म गाउँमै पढ्ने अवसर संस्कृतमा नभएको हो ।

त्यसले खर्च बढाएको स्थानीय बमबहादुर थापाले बताए । ‘घरछेउमै पढ्ने अवसर नभएपछि राजधानी पठाउन सबै अभिभावकले सक्दैनन्,’ उनले भने, ‘आर्थिक अभावमा चाहेका मध्ये १० प्रतिशत विद्यार्थी पनि राजधानी पुगेर पढ्ने अवसर मिलेको छैन ।’ पढेका विद्यार्थीले कर्मकाण्डसहित अंग्रेजी भाषामा पनि दक्षता बढाएको उनले बताए । उक्त विद्यालयमा कक्षा १० सम्म भाषा, व्याकरण र संस्कृत साहित्यको पढाइ हुन्छ । केही विद्यार्थीले भने मावि तहको पढाइ सकेपछि दमकमा रहेको जैमिनी संस्कृत पाठशालामा गएर कर्मकाण्डकै पढाइसमेत गरेका छन् ।

सर्कुवाका सुरेश आचार्यले संस्कृत पढेर पण्डितको पेसा थालेका छन् । अरू जागिरभन्दा यो पेसामा सन्तुष्टी मिलेको उनले बताए । गाउँघरमा आवश्यक पर्ने न्वारान, श्राद्ध, रुद्री, सप्तचण्डी, गीता र भागवत् वाचन गर्ने पण्डित अभावमा हजारौं खर्चने समस्या यो पढाइले अन्त्य गर्ने शिक्षक सुकदेव पौडेल बताउँछन् ।

Esewa Pasal

प्रकाशित : भाद्र २६, २०७५ ०९:५१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फेवामा जथाभावी बल्छी

विना थापा

कास्की — फेवातालमा जथाभावी माछा मार्न पाइँदैन । बल्छी खेल्न र जाल हान्न महानगरपालिकाको कार्यालयबाट स्वीकृति लिनुपर्छ । तर, फेवातालका विभिन्न घाटहरूमा हिजोआज माछा मार्नेको भीड हुन थालेको छ ।

फेवातालमा माछा मार्दै स्थानीय । अनधिकृत रूपमा माछा मार्न नपाइने भए पनि नियमनकारी निकाय पोखरा महानगरपालिकाको ध्यान यसतर्फ पुगेको छैन । तस्बिर : विना

माछा मारेर गुजारा चलाउने जलारी समुदायको पेसा सुरक्षित पार्न फेवातलमा कार्यक्रम नै छ । उक्त कार्यक्रमअन्तर्गत उनीहरूलाई ‘केज’ राखेर पाछापालनमा मत्स्य विकास तथा अनुसन्धान केन्द्रले सघाएको छ । जलारी समुदायलाई माछा मार्न महानगरपालिकाले अनुमतिपत्र बनाइदिएको छ ।

आफूले पालेका माछाबाहेक उनीहरूले तालका निश्चित क्षेत्रमा मात्रै माछा मार्न पाउँछन् । जथाभावी र जसले पनि माछा मार्दा तालका रैथाने प्रजाति नासिने भन्दै महानगरपालिकाले नियम बनाएको हो ।

जलारी समुदायको बसोबास र उनीहरूको माछापालनको ‘केज’ रहेका ठाउँबाहेक फेवातालका अधिकांश क्षेत्रमा माछा मार्न नपाइने सूचना महानगरपालिकाले राखेको छ । तर, जथाभावी माछा मार्नेहरू बढ्दा पनि अनुगमन भने हुने गरेको छैन ।

रहरका लागि माछा मार्दा रमाउनेहरू सामान्य प्रकारका बल्छी मात्रै होइन विदेशबाट आयातीत ‘फिसिङ रड’ नै लिएर बस्छन् । आफूलाई बस्नका लागि हलुका मुडा र माछा राख्ने झोला लिएर दिनभर ताल किनारमा बसेर बल्छी थाप्नेहरू थुप्रै हुने गरेका छन् । फुर्सदिलाहरूका लागि दिनभर तालको छाल हेर्दै, माछा मार्दै बस्नु शोख नै बनेको छ ।

रहरका लागि जथाभावी माछा मार्ने बढेपछि जलारी समुदायमा चिन्ता परेको छ । ‘हाम्रो त हात–मुख जोर्ने पेसा नै माछा मार्नु हो,’ गीता जलारी भन्छिन्, ‘जसले पनि जथाभावी माछा मार्दा नगरपालिकाले चेक गर्नुपर्ने होला ।’ अनुमति लिएर मात्रै माछा मार्न पाइने भनिएपछि नियमन सबैलाई बराबरी हुनुपर्ने उनले बताइन् ।

ताल किनारमा माछा मारिरहेको भेटिएमध्येका राम नेपाली ज्यामी काम गर्छन् । फुर्सदमा बल्छी लिएर माछा मार्न बस्छन् । ‘बल्छी थापेर बसेकालाई कसैले केही भन्दैन,’ उनले भने, ‘अनुमति लिनुपर्छ/पर्दैन कसैलाई थाहा छैन ।’ बेलाबेला अनधिकृतरूपमा माछा मार्नेलाई त्यसरी जथाभावी गर्न नपाइने भनेर सम्झाउन महानगरपालिकाले टोली खटाउनुपर्ने उनले बताए ।

पोखरा ६ का वडाध्यक्ष जगत पहारी अनुमति नलिई तालमा माछा मार्न नपाइने बताउँछन् । ‘अनुमति लिनेका लागि पनि एरिया तोकिएको छ, जथाभावी त पाइँदै पाइँदैन,’ उनले भने, ‘बिनाअनुमति माछा मारेको पाइए कानुअनुसार कारबाही हुन्छ ।’ फेवातालको अधिकांश क्षेत्र पहारी नेतृत्वकै वडामा पर्छ, जहाँ जथाभावी बल्छी खेल्नेहरू धेरै भेटिन्छन् । प्रभावकारी रोकथामका लागि वडा समितिले पनि चासो दिएको छैन ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT