१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

ग्यास बालौं, वन जोगाऔं

दमौली — वन संरक्षणमा लाग्न अनुरोध गर्दै बन्दीपुरको वन उपभोक्ता समूहले आफू सम्बद्ध १ सय ४३ घरधुरीलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको छ ।

ग्यास बालौं, वन जोगाऔं

वर्षभरि प्रत्येक घरधुरीले बाल्ने दाउराको हिसाब निकालेपछि उपभोक्ताको भेलाले ग्यास सिलिन्डर नै उत्तम विकल्प ठहर गरेको थियो । त्यसपछि खरिद गरेर सिलिन्डर र चुल्हो वितरण गरिएको हो ।


समूहको कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले चुल्हो र सिलिन्डर हस्तान्तरण गरे । उपभोक्ता समूहले राम्रो निर्णय गरेको उनले बताए । सिद्धथान सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष दमयन्ती थापाका अनुसार वर्षमा एउटा घरधुरीले १५ देखि ३० भारी दाउरा खपत गर्ने गरेका छन् ।


‘खाना पकाउन बर्सेनि वनमा दाउरा काट्नुपर्ने बाध्यता नै हो,’ उनले भनिन्, ‘बर्सेनि दाउरा काटदै जाँदा वन नै सिद्धिने अवस्था आउन लाग्यो ।’ समितिले १ सय ४३ वटा सिलिन्डर र चुल्होका लागि ८ लाख ७२ हजार रुपैयाँ खर्च गरेको उनले बताइन् ।


धूवाँ नआउने चुल्हो पाउँदा उपभोक्ता पनि हर्षित छन् । नियमित खर्च चाहिने भए पनि जंगल गएर दाउरा खोजेर ल्याउनुको दु:खको तुलनामा ग्यास चुल्होले गाउँलेलाई फाइदा नै हुने स्थानीय श्रीप्रसाद पौडेलले बताए । ‘धूवाँबाट स्वास्थ्य जोगियो, उता वन पनि जोगियो,’ उनले भने ।


०५२ सालमा गठित वन उपभोत्ता समितिले वन संरक्षणको अभियान सञ्चालन गर्दै आए पनि सदस्यहरूका लागि दाउराको व्यवस्थापन गाह्रो भएको थियो । हेरालु राखेर चोरीसिकार नियन्त्रण गरे पनि दाउराको व्यवस्थापन असहज बन्दै गएपछि ग्यास चुल्होलाई विकल्प रूपमा खोजिएको हो । समूहमा कुवादी, गुवादी, आरथुम्का, कुकुरदी, बरालथोक र मोहरिया टोलका गाउँले आबद्ध छन् ।

प्रकाशित : भाद्र २७, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?