प्रदेश स्वास्थ्य कार्यालय स्थापना

बागलुङ — जिल्ला जनस्वास्थ्य कार्यालयलाई तीनवटा जिल्ला हेर्नेगरी प्रदेशस्तरीय गण्डकी स्वास्थ्य कार्यालयमा रूपान्तरण गरिएको छ ।

प्रदेश स्वास्थ्य कार्यालय स्थापना

प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले सोमबार स्वास्थ्य र आयुर्वेद कार्यालयको उद्घाटन गरिन् । धौलागिरि अञ्चल आर्युर्वेद कार्यालयलाई प्रदेश सरकार मातहतको बनाइएको हो भने जिल्ला स्वास्थ्यलाई पर्वत र म्याग्दीसमेत हेर्नेगरी बढुवा गरिएको हो ।


गण्डकी प्रदेशमा ५ वटा मात्र स्वास्थ्य कार्यालय रहने प्रावधानअनुसार बागलुङले तीन जिल्ला हेर्ने जिम्मा पाएको मन्त्री पुनले बताइन् । संघीय मन्त्रिपरिषद्मा ११ वटै जिल्लामा कार्यालय राख्ने प्रस्ताव पठाएको उनले बताइन् । ‘हामीले शिक्षा र स्वास्थ्य सेवा नि:शुल्क र अनिवार्य हुनुपर्छ भनेर संघीय सरकारसम्म कुरा लगेका छौं,’ उनले भनिन्, ‘त्यसका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्दै सेवा प्रवाहलाई चुस्त पनि बनाउनुपर्छ ।’


कार्यालयले तीनवटै जिल्लाको आधारभूत स्वास्थ्य सेवा, प्राविधिक सहयोग र व्यवस्थापकीय काम हेर्ने वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले बताए । कार्यालयमा प्रशासकसहित १४ जनाको दरबन्दी छ ।


हरेक प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरसहितको सेवा र दरबन्दी पुर्‍याउने, स्वास्थ्यचौकीमा आवश्यक दरबन्दी र प्रभावकारी उपचार सेवा लैजाने काममा पहल गर्ने तिवारीले प्रतिबद्धता पनि जनाए । यसअघि यहाँ जिल्ला वनलाई डिभिजन कार्यालयका रूपमा स्थापना गरिएको छ ।

प्रकाशित : भाद्र २७, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?