उद्यमका लागि सामुदायिक भवन

पर्वत — जलजला गा।उँपालिका २ माझफाँटको पूर्णगाउँका महिलाले सामूहिक उद्यमशीलता विकासका लागि सामुदायिक भवन निर्माण गरेका छन् । नवजागरण नारी समूहले भवन निर्माण गरेका हुन् ।

उद्यमका लागि सामुदायिक भवन

०६१ सालमा गठित समूहमा आबद्ध सदस्यले १४ वर्षसम्म देउसीभैलो, भजन र अतिथि सत्कार समेतबाट जुटाएको आठ लाख र श्रमदानसमेतगरी १२ लाख रुपैयाँको लागतमा दुईतले भवन निर्माण गरेका हुन् । समूहमा सबैजसो गृहिणी महिलाहरू आबद्ध छन् ।


दुई वर्षमा निर्माण सम्पन्न भएको भवनलाई सीपमूलक तालिम सञ्चालन, गाउँले खाद्यान्न प्रशोधन र सामूहिक हितका लागि उपयोग गर्ने अध्यक्ष जानकी खत्रीले बताइन् । ‘हामीले अहिलेसम्म कतैबाट सहयोग नमागी आफ्नै क्षमताले भवन बनाएका छौं,’ उनले भनिन्, ‘अब गाउँपालिकाको सहयोग पाए उद्यम सिक्ने योजना छ ।’ लेकफाँटमा अगरबत्तीका लागि प्रशस्त कच्चा पदार्थ पाइने उनले बताइन् ।


लेकाली जंगलहरूमा धूपी सल्लो, निगालो, अंगार र काउलो प्रशस्तै पाइने भएकाले अगरबत्ती बनाएर आम्दानी गर्न सकिने समूहकी सल्लाहकार जयन्ती खत्रीले बताइन् । त्यसबाहेक लेकफाँटमा बर्खे तरकारी प्रशस्तै फलाउन सकिन्छ । साउनदेखि कात्तिकसम्म फल्ने तरकारी बाली प्रशोधन गरेर बजार पठाउन सके घरमै बसेर आम्दानी गर्न सकिने महिलाहरूले बताएका छन् । लेकफाँटको जंगल र पाखोबारीमा टिमुर उत्पादनको सम्भावना छ ।


‘सिस्नोको पाउडर बनाउन सकिन्छ,’ समूहकी उपाध्यक्ष जयन्ती खत्रीले भनिन्, ‘त्यसका लागि हामीलाई तालिम चाहियो । हाम्रो भवन बनेकाले प्रशोधन गर्न, स्टोर गर्न र सुकाउन अब समस्या हुँदैन ।’ गाउँसम्म पुगेको कच्ची सडकमा वर्षायामका केही महिना सवारी आवागमन अवरुद्ध हुन्छ । तरकारी प्रशस्त फल्ने सिजनमा सडक अवरुद्ध हुँदा बजार पठाउन समस्या छ । यहाँ फल्ने तरकारी सुकाएर प्याकेजिङ गरेपछि हिउँदमा बजार पठाउन सके राम्रो आम्दानी गर्न सकिने महिलाले बताएका छन् । ‘गाउँपालिकाले तालिम र प्रविधिमा सहयोग गरोस्,’ अध्यक्ष खत्रीले भनिन्, ‘हामी घरघरै उद्यमी तयार गर्छौं ।’


नजिकको बजार र गाउँपालिकाको केन्द्र पुगेर फर्कन दिनभर लाग्ने भएकाले कृषि उपज बिक्री गरेर तत्काल आम्दानी लिन नसकिने भएकाले वैकल्पिक आयआर्जनमा लाग्नुपर्ने उनले बताइन् । पूर्णगाउँमा करिब ५० घरधुरी छन् । यहाँका आधाजसो पुराना बासिन्दा सुविधा र अवसरको खोजीमा बसाइँसराइ गरेर गएका छन् । गाउँका अगुवाले स्थानीय स्रोतसाधनमा आधारित उद्यमलाई व्यवस्थित गर्नसके बसाइँ गएकाहरूलाई गाउँ फर्काउन सकिने गाउँले बताउँछन् । ‘यहाँका धेरैले घर र खेतबारी अलपत्रै छाडेर हिँडेका छन्,’ स्थानीय अगुवा प्रेमबहादुर बरुवालले भने, ‘यहाँका स्रोतसाधनको भरपुर उपयोग गर्नसके धेरैलाई रोजगार दिन सकिन्छ ।’


गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले सामुदायिक भवनको उद्घाटन गर्दै सानो व्यवसाय र उद्यमशीलताका लागि अब समस्या नहुने बताए । ‘तपाईंहरूमा इच्छाशक्ति हुनुपर्‍यो,’ उनले गाउँलेलाई भने, ‘व्यवसायमा हामी सहयोग गर्छौं ।’ स्थानीय सरकारले गर्नसक्ने सहयोग गाउँपालिकास्तरबाट हुने उनले बताए ।

प्रकाशित : भाद्र २७, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?