३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गुरुङका पुरोहित थकाली

गुरुङ गाउँमा जन्मे–हुर्केका सुकबहादुर थकाली गुरुङको कर्मकाण्डीय संस्कारमा सघाउँदै आएका छन्

मनाङ — शिरमा ढाकाटोपी । सेतो कमिज अनि बायाँ हातमा घडी लगाएका सुकबहादुर थकाली भूतपूर्व सैनिकजस्तै देखिन्छन् । तल्लो मनाङको नासों गाउँपालिका ८ ताचैका उनी उमेरले ७० नाघे ।

गुरुङका पुरोहित थकाली

जो कोही भेट हुँदा उनी गुरुङ भाषा बोल्छन् । छिमेकीसँग गुरुङ भाषामै भलाकुसारी गर्छन् । स्थानीयका उनी पुजारी हुन् ।


उनले गुरुङ समुदायको कर्मकाण्डीय कार्य गर्दै आएका छन् । आवश्यकताअनुसार गुरुङ समुदायको जन्मदेखि मृत्युमा गरिने संस्कारमा उनी खटिन्छन् । गाउँका पूजापाठका उनी गुरु नै हुन् । उनी अघि नसरेसम्म गाउँमा कुनै पूजापाठ हुँदैन । गाउँको सबैभन्दा ठूलो पूजा ‘ट्हों पूजा’ हो । जहाँ जिउँदो मृगलाई समातेर पूजा गरिन्छ । त्यही पूजाको नेतृत्व गर्छन् थकाली ।


गाउँका गुरुङ पुरोहित दिवंगत भएपछि उनीहरूका नयाँ पुस्ताले बाउबाजेको पेसा गरेनन् । उनीहरूको संस्कारलाई थकालीले चलाइदिएका छन् । ताचैमा लामा वा घ्याब्रेद्वारा मृत्यु संस्कार गर्ने गरिन्छ । घ्याब्रेले संस्कार गर्न चाहनेको घरमा घ्याब्रे बनेर मृत्यु संस्कार फुकाउने कार्य गर्दै आएको उनले बताए । ‘म त नाम मात्रैको थकाली । सबै गुरुङजस्तो ।


भाषा, संस्कार र संस्कृति पनि गुरुङकै,’ उनले भने, ‘त्यसैले गुरुङको पुरोहित भएर गुरुङकै सेवामा बसें ।’ गाउँघरमा मानिने विभिन्न प्राकृतिक देवताको पूजापाठ सुकबहादुर थकालीले गर्दै आएको स्थानीय सोलबहादुर गुरुङ बताउँछन् । ‘हामी गुरुङले बरु सिकेका छैनौं । उहाँ (सुकबहादुर) ले गुरुङ संस्कारका कार्य गर्नुहुन्छ,’ उनले भने ।


स्थानीयवासीसमेत रहेका नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार गुरुङ समुदायको कर्मकाण्डमा सुकबहादुर थकालीलाई बोलाइन्छ । ‘कर्मकाण्डका काम सुकबहादुर एक्लैले सक्ने कुरा भएन । मृत्युकार्यमा घ्याब्रे राख्न चाहनेले सुकबहादुरलाई बोलाउँछन्,’ उनले भने, ‘पूजापाठका उनी गुरु नै हुन् । गाउँकै सबैभन्दा ठूलो ट्हों पूजा गर्ने गुरु नै सुकबहादुर हुन् ।’ गुरुङ समुदायको कर्मकाण्ड, गाउँको पूजापाठमा सुकबहादुरले निकै योगदान पुर्‍याएको घले बताउँछन् ।


‘गाउँघरमा झारफुक गर्ने, सातो बोलाउने, कोही बिरामी हुँदा पन्छाउने कार्यमा सुकबहादुर सक्रिय छन्,’ उनले भने । सुकबहादुरको उमेर ढल्किँदै गएको र पछिल्लो समय युवामा संस्कार संस्कृतिका काम सिक्ने र सिकाउने प्रचलन घटदै गएपछि समस्या पर्दै गएको उनले बताए ।


थकाली समुदायमा सबैभन्दा उपल्लो जातको रूपमा थकालीलाई लिने गरिन्छ । सुकबहादुरको पुख्र्यौली मुस्ताङको थाकखोला हो । उनका अनुसार सुरुमा उनका जिजु च्याङ न्होर्बु धारापानीमा आएर बसे । झोलामा सामान लिएर व्यवसाय गर्दै उनका जिजु थाकखोलाबाट आएका थिए । उनका बाजे लुप्त धारापानीमै रहे । बुबाको नाम सार्की हो । ‘आमाका सन्तान कोही नबचेपछि सानो जातको नाम राख्नुपर्छ भनेर सार्की राखेको रे ।


म उही सार्कीको छोरा हुँ,’ उनले भने, ‘बुबा हुँदै म ताचैमा आएर बसें । यहीं घरजम भयो । यहींको गुरुङ संस्कार संस्कृतिमा हुर्किएँ ।’ ताचैको गुरुङ गाउँमै हुर्किएर भाषासँगै संस्कार र कर्मकाण्ड गराउन सिकेको उनले बताए ।

प्रकाशित : भाद्र २७, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?