प्रदेश बैठक सञ्चालन कार्यविधि

लालप्रसाद शर्मा

पोखरा — मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधिलाई स्वीकृत गरेको छ । गत जेठ १४ मा भएको परिषद्को पहिलो बैठकले कार्यविधि परिषद् आफैंले निर्धारण गरी अर्को बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।

प्रदेश बैठक सञ्चालन कार्यविधि

मुख्यमन्त्रीको संयोजकत्वमा हुने परिषद्मा स्थानीय तहका प्रमुख र उपप्रमुख सदस्य रहनेछन् । बैठक सञ्चालन, रुलिङ, संयोजकको भूमिका, प्रस्ताव लैजाने तरिका, बोल्ने समय र विषयवस्तु र अन्य विषयलाई कार्यविधिमा समेटिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव धर्मराज कुइँकेलले बताए ।


यसैगरी बैठकले प्रदेश नीति तथा योजना आयोगको संगठन संरचना र दरबन्दी स्वीकृतिका लागि नेपाल सरकारसँग अनुरोधको निर्णय पनि गरेको छ । संगठन संरचना अनुसार प्रशासन शाखा, आर्थिक, अर्थ तथा वाणिज्य, भौतिक पूर्वाधार, सामाजिक विकास, सार्वजनिक नीति ता साझेदारी र तथ्यांक शाखा समेटिएको छ । मुख्यमन्त्री अध्यक्ष, उपाध्यक्ष, दुई सदस्य, सदस्य सचिव, एक उपसचिवसहित २१ कर्मचारीको दरबन्दी बनाएर केन्द्रसँग मागिएको मन्त्री बस्नेतले बताए ।


यसैगरी सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेशस्तरीय औषधि व्यवस्था कार्यालय स्थापनाका लागि पनि बैठकले केन्द्र सरकारसँग माग गरेको छ । बजारमा औषधिको आपूर्ति, अनुगमन, व्यवस्थापनलगायत क्षेत्रमा काम गर्न कार्यालय माग गरिएको हो । बैठकले अस्पताल विकास व्यवस्थापन समिति गठन आदेश २०७५ लाई पनि पारित गरेको छ । अस्पतालको नियमित र व्यवस्थितरूपमा सञ्चालनका लागि समिति अपरिहार्य भएको भन्दै सामाजिक विकास मन्त्रालयले गठन आदेश बनाएको थियो । केन्द्र सरकारले सबै समिति भंग गरेपछि अहिले अस्पतालमा समिति छैन ।


स्वास्थ्य र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका प्रतिष्ठित व्यक्तिलाई समितिको अध्यक्षमा सामाजिक विकास मन्त्रालयले नियुक्ति गर्ने गठन आदेशमा छ । त्यसैगरी अस्पताल रहेको सम्बन्धित स्थानीय तहको प्रमुख वा उपप्रमुख, चेम्बर अफ कमर्स वा उद्योग वाणिज्य संघबाट एकजना, अध्यक्षले तोकेको एक सदस्य, अध्यक्षको सिफारिसमा मन्त्रालयले तोक्ने दुई महिला सदस्य र अस्पताल प्रमुख सदस्य सचिव रहने गरी ७ सदस्यीय समितिको परिकल्पना यसले गरेको छ । त्यस्तो समितिको कार्यकाल ३ वर्षको राखिएको छ । समितिको काम, कर्तव्य र अधिकार पनि तोकिएको छ ।


मुख्यमन्त्रीका सल्लाहकारमा नेपाली
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजनीतिक सल्लाहकारमा बागलुङका गोविन्दबहादुर नेपाली नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बुधबारको बैठकले हाल नेकपा केन्द्रीय सदस्य नेपालीलाई प्रदेशका राज्यमन्त्रीसरह सेवासुविधा पाउने गरी नियुक्त गरेको हो ।


राजनीति र समाजशास्त्रमा एमए उत्तीर्ण ४३ वर्षीय नेपाली खुला विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमफिल अध्ययनरत छन् । स्कुले विद्यार्थीकालमा २०४५ सालमा अनेरास्ववियुमा आबद्ध भएका उनी प्रेस चौतारी बागलुङका संस्थापक अध्यक्ष पनि हुन् ।


दोस्रो जनआन्दोलनका दौरान उनलाई तत्कालीन शाही सरकारले राजद्रोहको मुद्दा लगाएको थियो । अनेरास्ववियु बागलुङ अध्यक्ष, मुक्ति समाज नेपाल बागलुङको अध्यक्ष, अखिलका दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका नेपाली राष्ट्रिय दलित आयोगको सदस्य पनि मनोनीत भएका थिए ।


२०५७ सालमा बागलुङ नगरपालिका २ वडा कमिटीमा आबद्ध भएर एमाले पार्टीमा लागेका उनी जिल्ला पार्टी सदस्य, कार्यालय सचिव, जिल्ला सचिव र पार्टीको केन्द्रीय वैकल्पिक सदस्यसमेत भइसकेका थिए । उनी मुक्ति समाजको धौलागिरि इन्चार्ज पनि भएका थिए । पर्वतको खुर्कोटमा जन्मे पनि पढाइदेखि राजनीतिक यात्रा बागलुङबाटै सुरु गरेपछि उनी बागलुङ बसाइँ सरेका हुन ।


मुख्यमन्त्रीलाई राजनीतिक सल्लाह दिन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई व्यवस्थित गर्न आवश्यक भएकाले नेपालीलाई नियुक्ति गरिएको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।

प्रकाशित : भाद्र २८, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?