कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

उत्पादन छ, बजार छैन

वर्षाले बाटो बिग्रिएकाले गाउँको उत्पादन बजारसम्म पुर्‍याउनै मुस्किल
दुर्गमको हरियो तरकारी बिक्री नहुँदा गाईबस्तुलाई खोले बनाएर खुवाइँदै
दिप्ती सिलवाल

पर्वत — वीरबहादुर पुर्जाको घरगोठ इस्कुस र चरेलाको झालले ढाकेको छ । बजारमा प्रतिकिलो ४० र सय रुपैयाँमा किन–बेच हुने यी तरकारी बेच्न समस्या छ । जलजला गाउँपालिका २ पूर्णगाउँका पुर्जा भन्छन्, ‘बाटो सजिलो भए, गाडीले बोकेर लगिदिने भए हातहातै आम्दानी आउँथ्यो ।’

उत्पादन छ, बजार छैन

पूर्णगाउँकै जानकी खत्रीको बारीभरि बर्खे तरकारी लहलह छन् । काँक्रा, करेला र घिरौंलाले बारी ढाकेको छ । तर, उनले पनि बेच्न पठाउन सकेकी छैनन् ।


पूर्णगाउँका धेरैजसोको बारीमा हिजोआज बर्खे तरकारी लटरम्मै छ । लेकाली बस्तीमा पाइने तरकारी विषादिरहित हुने भएकाले बजार पुर्‍याउन सके खोसाखोस हुन्छ । तर, बजार पुर्‍याउन सजिलो छैन । वर्षाले बाटो बिग्रिएका छन् । ढुवानीका साधानको आउजाउ ठप्प छ । ‘रित्तै बजार पुगेर दिनभरमा फर्किन सकिन्न,’ स्थानीय जयन्ती केसीले भनिन्, ‘तरकारी बोकेर कसरी लानु ? हरियो तरकारी धेरै दिन रहन्न ।’ केहीले हरिया तरकारी गाईबस्तुलाई पकाएर खोलेमा खुवाउने गरेको उनले बताइन् ।


प्रेमबहादुर बरुवालका अनुसार डाले र भुइँघाँस प्रशस्त हुने भएकाले यहाँ पशुपालन पनि राम्रो छ । तर, सडककै समस्याका कारण किसानले दूध बिक्रीका लागि बाहिर पठाउन सकेका छैनन् । यहाँको नजिकको बजार जलजला ३ र ४ को वारिबेनी तथा म्याग्दीको बेनी नगरपालिका हो । लेकफाँटको डाँडाबाट पैदल ४ घण्टामा बजार झर्न सकिए पनि फर्किन ६ घण्टा लाग्छ ।


वर्षामा चिप्लो बाटोले उस्तै हैरानी हुन्छ । गाउँमा कृषिसँग सम्बन्धित उत्पादनको सम्भावना प्रशस्तै छ । यहाँ टिमुर, बेसार, अदुवा, काउली, बन्दा, घिरौंला, काँक्रा, लगायतका नगदे बाली मात्रै नभएर सतुवा र लोठसल्लालगायतका जडीबुटीको समेत व्यवसायिक खेती गर्न सकिन्छ । वर्षे तरकारी सहज बजार पुर्‍याउन सके राम्रो आम्दानी हुने जान्दाजान्दै पनि लेकफाँटवासीलाई त्यो सहज छैन ।


लेकफाँट जलजला गाउँपालिकाको दुर्गम बस्ती हो । यहाँ पुग्न मौसमी सडकको ट्रयाक छ । वर्षा हुनासाथ गाडी चल्दैनन् । हिउँदको समयमा सहज हुने यहाँको यात्रा वर्षामा पैदल नै छिचोल्नुपर्छ । हिलाम्य सडकमा मुस्किलले बेलाबखत ट्रयाक्टर र बोलेरो जिप चल्छन् । ‘रिजर्भ गरे मात्रै बोलेरो र ट्रयाक्टर आउँछन्,’ स्थानीय भुलबहादुर रोकाले भने, ‘ठूलै आपत आइलागे मात्रै हो नत्र रिजर्भ गर्ने हैसियत कसैको हुँदैन ।’ एकपटक गाउँ पुगेर फर्कंदा जिप र ट्रयाक्टरले लिने भाडा १० हजारभन्दा माथि छ । घाम लागेका बेला मात्रै चल्ने सवारीसाधन झरी पर्नासाथ बाटैमा रोकिने हुँदा हत्तपत्त कसैले ल्याउन मान्दैनन् ।


गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ललाई लेकफाँटवासीले गाउँका समस्या सुनाएका छन् । दुर्गम बस्ती जोड्ने सडकको स्तरोन्नतिमा स्थानीय तहले ध्यान दिएको भए पनि एकैपटक सडकको सुधारमा लगानी जुटाउन गाह्रो रहेको उनले बताए । ‘यो पल्ट लेकफाँटसम्म पुग्ने सडकको मिलनचोक–माझफाँट खण्डलाई विस्तार गर्ने योजना छ,’ उनले भने, ‘गाउँका मुख्य सडक सबै मौसमममा गाडी चल्नसक्ने बनाउने योजना नबनाएका पनि होइनौं ।’


मिलनचोक–लेकफाँट सडकलाई गाउँपालिकाले १ करोड ३५ लाख बजेट विनियोजन गरेको उनले बताए । वर्षाले काम गर्ने अवस्था नभएकाले झरी थामिएपछि सडक स्तरवृद्धिको काम थालिने गाउँपालिकाले जनाएको छ । जलजलाले लेकाली बस्तीमा हुने कृषि उपजलाई बजार पठाउन मुख्य सडक सञ्जाललाई प्राथमिकता दिनेगरी उत्पादन र रोजगारमुखी कार्यक्रमको गृहकार्य गरेको अध्यक्ष मल्लले बताए ।

प्रकाशित : भाद्र २८, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?