कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिँचाइ योजना पुनर्निर्माण सुरु

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको लुम्रे–सिमलबेंसी सिँचाइ आयोजनाको शिलान्यास
प्रदेश सरकार विकास निर्माणका योजना लिएर गाउँ छिरेको संकेत
लालप्रसाद शर्मा

पोखरा — पूर्वाधार, कर्मचारी दरबन्दी र संरचना व्यवस्थापनलगायत अभावमा गति लिन नसकिरहेका बेला गण्डकी प्रदेशमा पहिलो विकासनिर्माण आयोजनाको विहीबार शिलान्यास भएको छ ।

सिँचाइ योजना पुनर्निर्माण सुरु

भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाइ बिकास डिभिजन कार्यालय उद्घाटनलगत्तै सिँचाई आयोजनाको निर्माण पनि सुरु गरिएको हो ।


कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा लुम्रे–सिमलबेंसी सिँचाइ आयोजनाको बिहीबार शिलान्याससँगै प्रदेशमा बजेट कार्यान्वयनको सुरुवात भएको छ । यसले एकातिर प्रदेश सरकार विकास निर्माणका योजना लिएर गाउँ छिरेको संकेत गरेको छ । यसबाट स्थानीय पनि खुसी भएका छन् ।


सिँचाइ योजनाको भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिलान्यास गरे । साबिकका सिँचाइ विकास कार्यालय कास्की र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय समायोजन भएर जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्की स्थापना गरिएको छ । उक्त कार्यालयको पनि बिहीबारै उद्घाटन गरिएको हो ।


आयोजनाले उक्त वडाको ३४ हेक्टर क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुग्नेछ । ०४७ मा बनेको नहर जीर्ण भएर सिँचाइबाट स्थानीय वञ्चित भएपछि पुनर्निर्माण (पुन:स्थापना) गर्न लागिएको हो । योजनाको विस्तृत इन्जिनियरिङ सर्भे भइसकेको छ । योजनाका लागि १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठाले बताए । दुई वर्षमा सक्ने भनिए पनि १ दशमलव ७ किलोमिटर लम्बाइको सिँचाइ कुलो आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य रहेको भन्दै उनले चालु आवमा ४५ लाख रुपैयाँ छुट्टिएको र कार्यप्रगतिका आधारमा रकम निकासा हुने जनाए ।


मन्त्री बस्नेतले प्रदेश सरकारले विकास निर्माणलगायत काम गर्न नसकेको भन्ने गुनासो आइरहेका बेला कार्यालयको उद्घाटन र सिँचाइको शिलन्यास एकैदिन गरेर सरकारको अनुभूति दिलाउन थालिएको बताए । ‘यस्तै विकास निर्माणको काम, कार्यालयबाट दिइने सेवासुविधाको फरकपनले परिवर्तनको आभास दिलाउने हो,’ उनले भने, ‘कर्मचारी पनि परिवर्तित अवस्था अनुसार आफूलाई परिमार्जन गर्नुपर्छ ।’ उनले योजना समयमै सम्पन्न गराउन स्थानीय तह र उपभोक्तासमक्ष अनुरोध गरे ।


गुणस्तरहीन काम र ढिलासुस्ती भएमा कारबाही गरिने उनले बताए । पूर्वाधार विकासबिना देश समृद्ध नहुने भन्दै उनले सिँचाइको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए । प्रदेशसभाका सांसद रामजी बरालले प्रदेश केन्द्रित भएर काम गर्न कर्मचारीसँग अनुरोध गरे । ‘विगतका मानसिकता, कार्यशैली, प्रवृत्ति त्यागेर परिवर्तित सन्दर्भमा रहेर काम गर्नुपर्‍यो’, उनले भने ।


मन्त्री बस्नेतले मन्त्रालयअन्तर्गत पहिलो कार्यालय स्थापना भएकाले इमान्दारिता र विश्वासका साथ काम गर्न कर्मचारीसँग अनुरोध गरे । विकासको काम सुरु भएकाले जिम्मेवारीपूर्वक काममा लाग्नुपर्ने भन्दै उनले संघीयताको मर्मअनुसार चल्नुपर्नेमा जोड दिए । सचिव मरहट्ठाले कार्यालय स्थापना गरेर प्रक्रियामा मात्र जाने र प्रक्रियामै अल्झिने नभई काम गरेर जनतालाई सेवा दिनुपर्ने बताए । र, तर, वा भनेर र कुनै पनि बहानामा जनताको सेवा रोक्न नहुने भन्दै उनले सोहीअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए ।


सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष गुप्तबहादुर गुरुङले जीर्ण नहरका कारण खेतसम्म पानी नपुग्ने अवस्थाको अब अन्त्य हुने बताए । ‘पानी बीचैमा चुहिएर खेतमा पुग्दैनथ्यो । यसले हिउँदमा सिँचाइबाट वञ्चित थियाैं,’ उनले भने, ‘अब शाखा पनि विस्तार गरी सबै खेतमा बाह्रैमास पानी पुग्ने वातावरण मिल्छ । हिउँदे बाली तथा अन्य तरकारी पनि उत्पादन गर्न सकिने विश्वासमा छौं ।’ स्थानीय तारेवराह आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङले समयमै काम सम्पन्न हुने आश गरे । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले योजना सम्पन्न गर्नका लागि आवश्यक समन्वय र सक्दो सहयोगको आश्वासन दिए । डिभिजन कार्यालय प्रमुख श्रीराम जोशीले योजना समयमै सक्ने बताए ।


भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रदेशका ११ जिल्लामा २९ कार्यालय स्थापनाका लागि केन्द्रले स्वीकृति दिएको थियो । तर कर्मचारी नहुँदा एक महिनासम्म एउटै कार्यालय खुल्न सकेको थिएन । बिहीबार मात्रै कास्कीमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय उद्घाटनपछि यस्तै कार्यालय सबै जिल्लामा स्थापना भएका छन् ।

प्रकाशित : भाद्र २९, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?