२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

मोदीका बजारमा सडकबत्ती

डिमुवा, पातीचौर, अम्बोट र बेतेनीलगायतका बजार क्षेत्रमा सडकबत्ती जडान
सडकबत्ती जडान गरिएका क्षेत्रमा सीसीटीभी क्यामेरा राख्ने योजना

पर्वत — मोदी गाउँपालिकाले मुख्य सडकका बजार क्षेत्रमा सडकबत्ती जोडेको छ । गाउँपालिका अध्यक्ष प्रेम पौडेलका अनुसार डिमुवा, पातीचौर, अम्बोट र बेतेनीलगायतका बजार क्षेत्रमा सडकबत्ती जडान गरिएको हो ।

मोदीका बजारमा सडकबत्ती

‘सुरक्षाका दृष्टिले जरुरी भन्दै गाउँ कार्यपालिकामा पेस भएको प्रस्ताव पारित गरेर भदौभित्र सडकबत्ती जडान गर्ने योजना नै थियो,’ उनले भने, ‘मध्यपहाडी लोकमार्गको एरियाका मुख्य बजारमा सडकबत्ती जडान गरेका हौं ।’ अब हरेक दिन रातभर पोलमा बत्ती बल्ने उनले बताए ।


५० वटा सडकबत्ती स्थानीय बजार व्यवस्थापन समितिबाट सहयोग लिएर जडान गरिएको मोदी ६ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले बताए । ‘अब राजमार्गमा बढी चाप हुने सिजन आयो,’ उनले भने, ‘चाडबाडमा बजारक्षेत्रमा पनि चहलपहल बढ्छ । चौबीसै घण्टा उज्यालो भएपछि सुरक्षा चिन्ता हुँदैन ।’ सडकबत्ती जडान गरिएका क्षेत्रमा सीसीटीभी क्यामेरा पनि राख्ने योजना छ ।

‘कतिपय स्थानमा पहिल्यै सीसी क्यामेरा थिए,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले भने, ‘बिग्रिएकालाई मर्मत गरेर नयाँ पनि थपिँदैछ ।’ अँध्यारोमा सीसी क्यामेराको भिडियोले काम नगर्ने भएकाले सडकबत्तीले सहज हुने उनले बताए । सडकबत्तीका लागि गाउँसभाले १ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको थियो । बजारक्षेत्रमा बल्ने बत्तीका लागि विद्युत् स्थानीय मोदीखोला जलविद्युत्ले उपलब्ध गराउने गाउँपालिकासँग सम्झौता छ ।


सीसी क्यामेरा जडान गर्ने उपयुक्त स्थान छनोट र तिनको कन्ट्रोल रुम राख्ने भवन निर्माण पनि भइरहेको छ । सीसी क्यामेराको कन्ट्रोल कक्ष डिमुवा प्रहरी चौकीमा राखिने भएको छ ।

प्रकाशित : भाद्र २९, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?