टहरामै स्वास्थ्यचौकी

जनप्रतिनिधिको ध्यान नपुग्दा संवेदनशील क्षेत्र अझै टहराबाटै सञ्चालन
गाउँका घर र स्कुल बनाउन सरकारी तथा गैरसरकारी संस्था आए पनि स्वास्थ्यचौकी बनाइदिन कोही नआएको स्थानीयको गुनासो

लमजुङ — विनासकारी भूकम्पको तीन वर्ष बित्यो । त्यसबेला भवन भत्किएको यहाँको दूधपोखरी गाउँपालिका १ कल्लाबारीस्थित दूधपोखरी स्वास्थ्यचौकी अझै टहरामै छ । गोरखासँग सीमा जोडिएको दूधपोखरी भूकम्पबाट लमजुङको सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।

टहरामै स्वास्थ्यचौकी

सरकारी तथा गैरसरकारी निकाय साथै जनप्रतिनिधिको ध्यान नपुग्दा स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्र अझै टहराबाटै सञ्चालनमा रहेको हो । टहराबाट सेवा दिन गाह्रो भइरहेको स्वास्थ्यकर्मीको गुनासो छ । स्थानीयका अनुसार भूकम्पपछिको पुनर्निर्माणका सरकार र गैससहरूको ध्यान निजी घर निर्माणमा मात्रै केन्द्रित रह्यो । जनप्रतिनिधिले पनि ध्यान नदिँदा स्वास्थ्य चौकी टहरामै सञ्चालन भइरहेको हो ।


टिनको टहरामा चारवटा कोठा छन् । तिनमा गर्भवती परीक्षण, बिरामी बस्ने ठाउँ, ओपीडी र स्टोर कोठा बनाइएको स्वास्थ्य सहायक दीपेश विश्वकर्माले बताए । ‘हामी ५ जना छौं, सबै ओपीडीमै हुन्छौं,’ उनले भने, ‘भुइँमा हिलो, धूलो छ, बिरामीको उपचार गर्न राम्ररी उभिन मिल्ने पनि ठाउँ छैन । सामान राख्ने ठाउँ उस्तै अप्ठ्यारो छ ।’ गर्भवतीका लागि राख्न छुट्टै सुरक्षित र सफा ठाउँ व्यवस्था गर्न नसकेको उनले बताए । ‘बिरामी भएर चौकी आउने बिरामी झन् बिरामी पर्लान् र हामी स्वास्थ्यकर्मीसमेत बिरामी पर्ने डर छ,’ उनले भने ।


स्वास्थ्यचौकीमा उनीसहित अनमी शेषमाया थापा र मातृशिशु कार्यकर्ता वाग्मती गुरुङ दरबन्दीका हुन् । गाउँपालिकाले मञ्जु गुरुङलाई अहेव करारमा खटाएको छ । एकजना कार्यालय सहयोगी छन् । ‘न कर्मचारी बस्ने ठाउँ, न बिरामी उपचार गर्ने ठाउँ । बिजोग छ,’ उनले भने ।


भूकम्पले साबिकको गाविस भवनसँगैको स्वास्थ्यचौकी पनि भत्किएको थियो । स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवं दूधपोखरी १ का वडाध्यक्ष मानसिंह गुरुङका अनुसार गत आर्थिक वर्ष १ लाख रुपैयाँ बजेट विनियोजन गरी टहरा बनाएर स्वास्थ्य चौकी राखिएको हो । ‘गाउँपालिकाबाट विनियोजित ५ लाख रुपैयाँले डोजर लगाएर स्वास्थ्यचौकी भवन निर्माणका लागि जग्गा सम्याएका थियौं,’ उनले भने, ‘यो पटकको वर्षाले सबै ठाउँमा बाढीपहिरो चलाइदियो ।’


भवन निर्माणका लागि गाउँपालिकाले चालु वर्ष २० लाख बजेट विनियोजन गरेको उनले बताए । ‘मैले ३० लाख छुट्याइदिनु भनेको थिएँ । पैसा पुगेन भनेर २० लाख मात्रै परेको छ,’ उनले भने, ‘त्यसले कस्तो स्वास्थ्यचौकी बनाउने होला ।’ गाउँका घर र स्कुल बनाउन सरकारी तथा गैरसकारी संस्था आए पनि स्वास्थ्य चौकी बनाइदिन कोही नआएको उनको गुनासो छ ।


चौकीको नाममा करिब ४ रोपनी जग्गा छ । जग्गा प्राप्तिमा ढिलाइ भएकाले भवन निर्माण हुन नसकेको जिल्ला जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाईंले बताए । उनले भने, ‘भवन बनाउन जग खनिएको छ । नबनेसम्म स्वास्थ्यचौकीलाई टहरामै राख्नुपर्ने बाध्यता छ ।’

प्रकाशित : भाद्र २९, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?