कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पोखराका ३ विद्यालय अब्बल

एसईई नतिजामा शीतलादेवी र मदरल्यान्ड उत्कृष्ट
१२ को परीक्षामा अमरसिंह अगाडि
लालप्रसाद शर्मा

पोखरा — निजी विद्यालयमा पढ्ने छोरीलाई भर्ना गरिदिनुपर्‍यो भन्दै सोमबार विष्णु परियार शीतलादेवी माविका प्रधानाध्यापक बाबुराम अधिकारीसँग अनुरोध गर्दै थिए । मेरी छोरी पढाइमा कमजोर छैन ।

पोखराका ३ विद्यालय अब्बल

सुरुमा घरछेउको सामुदायिक विद्यालयलाई वास्ता गरिएन । अहिले देशकै उत्कृष्ट हुँदा आफूहरू पनि खुसी भएको उनले सुनाए । प्रअ अधिकारीले हुन्छ भनेनन् र हुन्न पनि भन्न सकेनन् । एकपटक विद्यार्थीसँग कुराकानी नगरेसम्म निधो दिन सक्दिनँ भन्दै उनले परियारलाई पठाइदिए ।

शैक्षिक गुणस्तर खस्किँदा कतिपय सरकारी स्कुल विद्यार्थी अभावमा समस्याग्रस्त बनिरहेका छन् । केही बन्द भइसके । तर अभिभावक, शिक्षक र व्यवस्थापन समिति जिम्मेवारपूर्वक लागे सामुदायिक स्कुलले पनि राम्रो प्रगति गर्न सक्ने पोखरा १२ को शीतलादेवी सामुदायिक माविले देखाएको छ । त्यसैले यहाँ पछिल्ला वर्ष विद्यार्थीको चाप बढदै गएको छ । २०७४ को एसईईमा विद्यालय देशभरिमै सामुदायिकतर्फ पहिलो बन्न सफल भएको छ । ०७२ मा पनि देशकै उत्कृष्ट बन्यो ।

कुशल व्यवस्थापन, समर्पित शिक्षक अनि लगनशील विद्यार्थीका कारण सफल भएको प्रअ अधिकारी बताउँछन् । अभिभावक र विद्यार्थीमुखी भएर उनीहरूकै चाहनाअनुसार पढाइने उनको भनाइ छ । ‘चुस्त व्यवस्थापन, टिमवर्कसाथ राजनीतिभन्दा माथि उठेर शैक्षिक गतिविधिमा मात्र केन्द्रित रहँदा सिक्ने, सिकाउने तरिकामा गुणस्तरीयता हुने रहेछ,’ उनले भने । भौतिक पूर्वाधारसम्पन्न, विज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष, खेलमैदान, समयसापेक्ष विद्यार्थी केन्द्रित शिक्षण विधि, अतिरिक्त रचनात्मक क्रियाकलापलगायत कारण विद्यालयले गुणस्तरमा फड्को मार्ने आधार हुन् । साना कक्षामा चित्रात्मक र ठूला कक्षामा प्रोजेक्टरमार्फत पढाइन्छ ।

अंग्रेजी माध्यम, शान्त वातावरण, राजनीतिक हस्तक्षेपमुक्तलगायत सफलताका थप सूचक हुन् । ‘बालमैत्री शिक्षण, निरन्तर मूल्यांकन, भौतिक पूर्वाधारयुक्त संरचना र स्थानीयको सहयोगले स्कुल सफल भएको हो,’ अधिकारीले भने ।

विद्यालयले प्रा. टीकाराम कोइरालाको अध्यक्षतामा शैक्षिक योजना तर्जुमा समिति गठन गरी फरक अभ्यास गरेको छ । यसले शैक्षिक गुणस्तर वृद्धिमा सहयोग, निजी स्रोतका शिक्षक छनोट र नियमित शैक्षिक अनुगमन गर्छ । ०२१ सालमा स्थापना भएको विद्यालयले पहिलोपटक ०६७ सालमा ८ विद्यार्थी एसएलसीमा सहभागी गराएकोमा सबै उत्तीर्ण भए ।

त्यसपछिका परीक्षामा सम्मिलित पनि सबै उत्तीर्ण छन् । ०७४ को एसईईमा ७१ विद्यार्थी सहभागी भएकोमा एक विद्यार्थीको ४ जीपीएसहित २३ ए प्लस, ३६ ए, १० बी प्लस र २ जना बी ग्रेडमा उत्तीर्ण भए । यतिबेला विद्यालयमा ८ सय २३ विद्यार्थी छन् । व्यवस्थापन विषयमा ११ र १२ को पढाइ गर्दै आएको विद्यालयले यसै वर्षदेखि विज्ञान संकाय पनि थपेको छ ।


व्यवस्थापन समिति अध्यक्ष टीकाबहादुर कार्कीले विद्यालयसँग सम्बन्धित सबै पक्ष आफ्नो काम र कर्तव्यमा जिम्मेवारपूर्वक लागेको परिणाम उत्कृष्ट भएको बताए । ‘दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हामीले संस्थाको पक्षमा काम गरेका छौं,’ उनले भने, ‘दरिलो टिम र लगावले काम गरेको हो ।’ विद्यालयले ०६१ देखि पूर्णरूपमा अंग्रेजी माध्यममा पढाउन थालेको हो । व्यवस्थित पुस्तकालय, कम्प्युटर, विज्ञान प्रयोगशाला आवश्यक उपकरण र पूर्वाधारयुक्त छ । ६५ शिक्षक र कर्मचारी रहेकोमा १ मावि र ८ प्राविको मात्रै दरबन्दी छ । बाँकी सबै निजी स्रोतका हुन् ।

यसैगरी ०७४ को एसईई नतिजाका आधारमा संस्थागततर्फ पनि मासबारस्थित मदरल्यान्ड मावि देशभरबाटै पहिलो बनेको छ । ०७४ को एसईईमा ७ विद्यार्थीले ४ जीपीए ल्याएका थिए । १ सय ५० विद्यार्थी परीक्षामा सहभागी भएकोमा १ सय १५ ए प्लस, २८ ए र ७ जना बी प्लसमा उत्तीर्ण भए । प्राचार्य नारायण बरालले विद्यालय, शिक्षक र विद्यार्थीको मिहिनेत र क्रियाशीलता, अभिभावकको सहयोग, पूर्वाधार, सिक्ने र सिकाउने वातारण र विद्यार्थीलाई आवश्यक स्वतन्त्रता रहनेगरी पढाइमा स्वामित्व लिने हैसियतलगायत कारणले उत्कृष्ट हुने आधार रहेको बताए ।

‘कसरी पढाउँदा नतिजा राम्रो हुन्छ भन्नेमा विद्यालय केन्द्रित छ,’ उनले भने, ‘शिक्षकबीच नियमित अन्तरक्रिया, विद्यार्थीको नतिजा मूल्यांकन, कमजोरी पहिचान गरी सच्चाउनेजस्ता काम गर्दै आएका छौं ।’ उचाइलाई कायम राखिराख्न सिक्ने र सिकाउने विषयमा विभिन्न अभ्यास गर्दै जाने र विद्यार्थी केन्द्रित पढाइलाई प्राथमिकतामा राखेर नतिजा सुनिश्चित गर्ने योजना रहेको उनले सुनाए ।

०५१ मा ५ जनाको पहलमा स्थापना भएको विद्यालयमा त्यतिबेला ४१ विद्यार्थीबाट पठनपाठन थालेको थियो । बालमैत्री वातावरण सुनिश्चित गरी विद्यार्थी केन्द्रित पढाइ गर्दै आएकाले सफलता पनि सोहीअनुसार मिलेको निर्देशक डा. त्रिभुवन शर्माले बताए । ०५७ सालमा पहिलोपटक एसएलसीमा सामेल भएको थियो । त्यसयता बर्सेनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । २ हजार ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयले ०७३ मा पश्चिमाञ्चल क्षेत्रमा उत्कृष्ट संस्थागत विद्यालयको पुरस्कार प्राप्त गरेको थियो । विद्यालयलाई यही भदौ २३ मा शिक्षा दिवसका अवसरमा पुरस्कृत गरिएको थियो ।

१२ मा अमरसिंह
एसईईमा मात्रै होइन १२ कक्षाको नतिजाका आधारमा पनि सामुदायिकतर्फ पोखराकै अमरसिंह नमुना मावि उत्कृष्ट भएको छ । विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा ११ र १२ कक्षाको पढाइ हुने भए पनि विज्ञानको नतिजामा उत्कृष्ट भएको हो ।

०१३ सालमा सोल्जर्स भोकेसनल ट्रेनिङ सेन्टरका रूपमा १० कक्षासम्मकै पढाइ सुरु भएको विद्यालयले ०५७ मा विज्ञानतर्फ प्लस टुको कक्षा सुरु गरेको थियो । शैक्षिकसत्र ०६२/६३ मा व्यवस्थापन, मानविकी र शिक्षा विषयको पढाइ थालेको थियो । विद्यालयले ०६२ र ०६४ मा पनि क्षेत्रीय उत्कृष्ट पुरस्कार पायो ।

नियमित कक्षा, शान्त वातावरण, विद्यार्थी छनोट प्रक्रिया, अंग्रेजी माध्यम, सुविधासम्पन्न विज्ञान प्रयोगशाला, ई–लाइब्रेरीलगायत कारणले उत्कृष्ट नतिजा ल्याउन सफल भएको निमित्त प्रधानाध्यपक शेरबहादुर थापा बताउँछन् । ‘टिमवर्क, दक्ष जनशक्ति, अनुशासित विद्यार्थी, पर्याप्त भौतिक पूर्वाधारले पनि काम गरेको छ,’ उनले भने ।

विद्यालयमा २०७२, ०७३ र ०७४ मा विज्ञानतर्फ सबै विद्यार्थी उत्तीर्ण भएका थिए । यसपटक भने १४६ मा ए प्लसमा ८, एमा ६६, बी प्लसमा ५५, बीमा १३, सी प्लसमा ३ र सीमा एक जना उत्तीर्ण भए ।

प्रकाशित : भाद्र ३०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?