१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बाढीपहिरो पीडितलाई राहत वितरण

आश गुरुङ

लमजुङ — मर्स्याङ्दी गाउँपालिकामा बाढीपहिरोमा परेर ज्यान गुमाएका तथा विस्थापित परिवारलाई घरमै गएर राहत प्रदान गरिएको छ ।

बाढीपहिरो पीडितलाई राहत वितरण

जिल्ला प्रशासन कार्यालय, मस्र्याङदी गाउँपालिका, रेडक्रस सोसाइटी लगायत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले पीडितलाई घरघरै राहत वितरण गरेको हो । बाढी पहिरोले पैदल हिड्नसमेत असहज बनेको बेंसीसहर–चामे सडकमा कठिन यात्रा गरेर उनीहरु पीडित परिवारका घरमै पुगेका हुन ।


जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोमा ज्यान गुमाएका ४ जनाका परिवारलाई जनही १/१ लाख उपलब्ध गराएको छ । घरवारवीहिनलाई ५० हजार रुपैयाँ प्रदान गरेको छ । मस्र्याङदी गाउँपालिकाले ज्यान गुमाएका परिवारलाई जनही ५० हजार रुपैयाँ दिएको छ ।


बाढीपहिरोमा परी मस्र्याङ्दी गाउँपालिका–३ पल्लोटारीका ६० वर्षीया अतिरुपा थापा र उनका ९ वर्षीया नातिनी सिरस थापाको मृत्यु भएको थियो । प्रशासन कार्यालय र गाउँपालिकाले थापा परिवारलाई ३ लाख रुपैयाँ राहत दिएको छ । मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेबेंसीका ७० वर्षीया ललितमाया गुरुङका परिवारलाई प्रशासनले १ लाख र थप ५० हजार साथै मस्र्याङदीले ५० हजार गरी २ लाख रुपैयाँ प्रदान गरेको छ । मस्र्याङदी ५ घर भई वडा नं. ४ को श्रीचौर बस्दै आएकी ४८ वर्षीया विष्णुकली गुरुङको परिवारलाई प्रशासनले १ लाख र मस्र्याङदी गाउँपालिकाले ५० हजार रुपैयाँ प्रदान गरेको छ ।


प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, डीएसपी यादव ढकाल, मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विक, वडा नं. ३ का अध्यक्ष प्रेमबहादुर बस्नेत, वडा नं. ४ का अध्यक्ष सुमन गुरुङ लगायत राहत रकम लिएर पीडितको घरघरै पुगेका थिए । भीषण बर्षापछि गएको पहिरोबाट जोगिन भाग्ने क्रममा अतिरुपा र सिरसलाई पहिरोले पुरेको थियो । बाख्रा चराउने क्रममा पहिरो खस्दा ढुंगा लागेर बिष्णुकलीको मृत्यु भएको थियो । पहिरोले पुरिएर बेपत्ता भएका ललितमायाको शव बिहीबार भेटिएको थियो । अर्खलेबेंसीमा पहिरोले पुरेर हराइरहेका मस्र्याङदी गाउँपालिका ४, नासकुचेका तुलसी भनिने राजु लामा अझै हराइरहेको प्रहरीले बताएको छ ।


उनको खोजीकार्य जारी रहेको र बाढीपहिरोबाट घरवारवीहिन बनेका अर्खलेबेंसी, रामबजार, बाहुनडाँडा लगायतका पीडित परिवारलाई अस्थायी बसोबासको लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रबाट ४ थान टेन्ट, ८ थान त्रिपाल दिइएको प्रजिअ ढकालले बताए । यस्तै, नेपाल रेडक्रस सोसाइटी लमजुङले प्रभावितलाई गैरखाद्य सामग्री सामग्री सहयोग गरेको छ ।

प्रकाशित : भाद्र ३०, २०७५ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?