कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पहिरोले पुर्‍यो लघु जलविद्युत्

हरिराम उप्रेती

काठमाडौँ — धार्चे गाउँपालिका–५ गुम्दा गाउँको मङलुङ खोला लघु जलविद्युत् परियोजनाको मुहान र नाली पहिरोले पुरेको छ । घटनापछि विद्युत् उत्पादन बन्द हुँदा गुम्दाका दुई सय घरधुरी बिजुलीविहीन भएका छन् ।

पहिरोले पुर्‍यो लघु जलविद्युत्

अविरल वर्षापछि शनिबार बिहान करिब ४ बजे पहिरोले जलविद्युत्को पानी जम्मा गर्ने ट्यांकी र पाइप पुरेको स्थानीयले बताएका छन् । साबिकका ६, ७, ८ र ९ नम्बर वडाका बासिन्दाले उक्त जलविद्युत्को बिजुली प्रयोग गर्दै आएका थिए ।

‘मुहानको करिब तीन सय मिटर क्षेत्रमा ठूल्ठूला ढुंगा खसेर पुरेको छ,’ लघु जलविद्युत् व्यवस्थापन समिति अध्यक्ष माइला गुरुङले भने, ‘हटाएर फेरि अल्ने बनाइहाल्न सक्ने अवस्था छैन ।’ २०६८ देखि सञ्चालनमा आएको २५ किलोवाट क्षमताको उक्त जलविद्युत्लाई २०७२ वैशाख १२ को भूकम्पले पनि क्षति पुर्‍याएको थियो । भूकम्पसँगै पहिरोले क्षति पुर्‍याएपछि त्यसबेला मर्मतका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन समितिले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

यसपटक फेरि विद्युत् उत्पादन ठप्प भएपछि शनिबार दिउँसो सञ्चालक समितिको बैठक बसेको छ । ‘पानी परेको पर्‍यै छ, मुहानमा जान सकेका छैनौं । ढुंगा खसिरहेको छ,’ स्थानीय सुनील गुरुङले भने, ‘कति क्षति भयो यसै भन्न सक्ने अवस्था पनि छैन ।’ उक्त लघु जलविद्युत् नजिकैको दाराङपाखा र सिम्लान डाँडाबाट पहिरो खसेको उनले बताए ।

पानी पर्न रोकिएपछि क्षतिको विवरण संकलन गर्ने वडाध्यक्ष तुलबहादुर गुरुङले बताए । ‘मुहानमा घर जत्रो ढुंगा खसेछ, कुलो पनि भत्काएको छ,’ उनले भने, ‘भीरमा आरसीसी ढलान गरेर पिलर उठाएर कुलो बनाएका थियौं, त्यही पहिरोले लग्यो ।’ विद्युत् नहुँदा मोबाइल चार्ज गर्न समेत समस्या परेको उनले बताए । ‘बत्ती नभएपछि केही हुँदैन, मट्टितेल पाइने कुरै भएन,’ उनले भने, ‘भूकम्पको बेला राहतमा आएको सोलार पनि धेरैको बिग्रिसकेको छ । अब राति राति अन्धकारमै कति दिन बस्नुपर्ने होला ।’ उक्त गाउँमा केन्द्रीय प्रसारणको विद्युत् सेवा पुगेको छैन ।

अविरल वर्षाले शुक्रबार घट्टखोलामा आएको बाढी चुमनुव्री गाउँपालिका–३ सिर्दिवासको बस्तीमा पसेको छ । घटनामा सात घरमा क्षति पुगेको छ । घर भत्किएकाहरू छिमेकमा शरण लिएर बसेका छन् । ‘बाढीले बालुवा र गेग्य्रान घरभित्र छिरेको छ, खानेकुरा पनि पुर्‍यो,’ वडाध्यक्ष रामकुमार गुरुङले भने । मानवीय क्षति नभए पनि भाडाकुँडा, खानेकुरा र लत्ताकपडा बगाएको उनले बताए ।

लगातारको वर्षाका कारण ठाडोखोलामा एक्कासि बाढी आएकाले सामान पनि सार्न नभ्याइएको उनले बताए । घरहरूमा बाढीले क्षति पुग्नुका साथै घरपालुवा पशुपन्छी बगाएको खबर आएको डीएसपी महेन्द्र नेपालले बताए ।

प्रकाशित : भाद्र ३१, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?