पहिरोको ढुंगा खसेर महिलाको मृत्यु

शनिबार राती तुरतुरेको पहिरो खस्दा बडिगाड खोला थुनिएर ठूलो ताल बनेको छ
प्रकाश बराल

बागलुङ — शनिबार खसेको तुरतुरेको पहिरोले अवरुद्ध सडकबाट जबरजस्ती हिँड्न खोज्दा ढुंगा खसेर एक महिलाको मृत्यु भएको छ । 

पहिरोको ढुंगा खसेर महिलाको मृत्यु

सोमबार बिहान साढे ११ बजे प्रहरीले रोक्दा रोक्दै हिँडेकी ३५ वर्षीय बिबिरन खातुनको ढुंगा लागेर मृत्यु भएको हो । अर्घाखाँची घर भई बागलुङको बुर्तिवाङमा व्यवसाय गर्दै आएकी खातुन बिहान भीमगिठेतर्फ हिँडेकी थिइन् ।


‘दुवैतर्फमा प्रहरी बसेर पैदलयात्रीलाई रोकेको छ, जबरजस्ती गरेर गएकी एक महिलाको मृत्यु भयो’ ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले भने, ‘सुरक्षाकर्मीको आग्रह नटेरेर जबरजस्ती गर्नेलाई रोक्दा रोक्दै घटना भयो ।’ प्रहरीले ढोरपाटन नगरपालिकातर्फ र बडिगाड गाउँपालिकातर्फ सुरक्षा दिईरहेको छ ।


पहिरोले मध्य पहाडी लोकमार्गको खण्ड अवरुद्ध छ । यो सडक रोकिदा यात्रीले २ घण्टा घुमाउरो बाटो हिँड्न बाध्य छन् । मालारानी भन्ने स्थानको बाटो घुम्दा यात्रीले झण्डै २ घण्टा पैदल यात्रा गरेपछि मात्र मध्य पहाडी लोकमार्ग भेटाउन सक्छन् । शनिबार राती तुरतुरेको पहिरो खस्दा बडिगाड खोला थुनिएर ठूलो ताल बनेको छ । मध्य पहाडी लोकमार्गको झण्डै ३ सय ५० मिटर खण्ड पुरिएको छ ।


जोखिम हटाएर यातायात खुलाउने बारे प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले नेपाली सेना, गृह मन्त्रालय र भौतिक योजना मन्त्रालयमा जानकारी गराएका छन् । उक्त जानकारी पछि प्राविधिकहरु आएर अध्ययन गरेपछि काम थाल्ने आश्वासन दिएको खरेलले बताए । खोला थुनिएको स्थानमा पानीको सतह पुरै नघटेकाले पहिरो पन्छाउने काम चुनौती भएको छ । केही समय अघि देखि यहाँ पहिरो चलिरहेको थियो ।


यो सडककै माध्यमबाट ढोरपाटन नगरपालिका सहित पश्चिम बागलुङ जान सकिन्छ । जिल्ला भित्र १ सय ४२ किमी लोकमार्गको खण्ड छ । पहिरो खसेको स्थान सदरमुकाम देखि ८० किमी पश्चिममा पर्छ । पहिरोदेखि पश्चिमतर्फ झण्डै ६० किमी सम्म जिल्लाबासीले यात्रा गर्नुपर्छ ।

प्रकाशित : आश्विन १, २०७५ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?