१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुल अलपत्र पार्दा धरौटी जफत

प्रताप रानामगर

दमाैली — आबुखैरेनीको लाब्दी खोलामा निर्माणाधीन पुलको काम अलपत्र छाडेर सम्पर्कविहीन निर्माण कम्पनीको धरौटी जफत भएको छ । जयबाबा बिटी जेभी सीतापाइलाले ३ करोड ७८ लाखमा निर्माण गर्ने ठेक्का लिएको सहिद बुद्धसिंह मार्गमा पर्ने पुल सम्झौताअनुसार २०७२ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

पुल अलपत्र पार्दा धरौटी जफत

हालसम्म कार्यप्रगति ४० प्रतिशत मात्र छ । १८ महिनामा निर्माण सक्नुपर्ने पुलको दुईतर्फ जग उठाउने काम मात्र भएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर राम पराजुलीले बताए । ‘पुलको दुईवटा पिल्लरको जग उठाउने काम मात्र भएको छ,’ उनले भने, ‘काम त बाँकी नै राखेर ठेकेदार सम्पर्कविहीन भए ।’

ठेकेदार सम्पर्कमा नआएपछि जिल्ला समन्वय समितिले ठेकेदार कम्पनीको कार्य सम्पादन जमानी बैंकबाट धरौटीको ४३ लाख रुपैयाँ जफत गरेको उनले बताए । प्रशासनसँग अनुरोध गरेर जिससले ठेकेदारको खोजी गर्न प्रहरी नै परिचालन गरेको थियो । ‘अहिले ठेकेदार हाम्रो सम्पर्कमा आएका छन्,’ इन्जिनियर पराजुलीले भने । प्राविधिक कार्यालयमा ठेकेदारले आफैं उपस्थित हुने खबर पाएको उनले बताए । ‘यो पुल ढलान गर्ने होइन । स्टिल गर्डर ब्रिज हो,’ उनले भने, ‘अब स्टिलको डेक राख्ने काम बाँकी छ । ठेकेदारले चाहे भने दुई/तीन महिनामा काम सकिन्छ ।’

जयबाबासँग मिलेर पुल निर्माणको ठेक्का लिएको ठेकेदार राजकुमार भण्डारीले बताए । ‘पुल निर्माणको सबै काम जयबाबाले गरिरहेको छ भनेर ढुक्क भएका थियौं,’ उनले भने, ‘काम नभएर अलपत्र छ भन्ने अलि ढिला थाहा भयो ।’ सम्झौताको म्याद सकिएपछि मात्रै आफूलाई खबर प्राप्त भएको दाबी उनले गरे । ‘अहिलेसम्म लिएको ठेक्का समयमा सकिएको रेकर्ड छ,’ उनले भने, ‘यसपाली लाब्दीखोलाको पुल मात्र यस्तो हुन गयो । अब आवश्यक प्रक्रिया मिलाएर जसरी पनि छिटै बनाउँछौं ।’

हिँउदभरमा निर्माण सम्पन्न हुने उनले बताए । लाब्दीखोलामा पुल नहुँदा वारिपारिका बस्तीका स्थानीयलाई वर्षायाममा सास्ती छ । ‘लाब्दी तर्न नसकेर घुमाउरो लामो बाटो पैदल हिँड्नुपर्छ,’ स्थानीय दीपेश गुरुङले भने । खोला तर्न नसक्दा विकल्पमा नारायणगढ–मुग्लिन सडकखण्ड भएर सदरमुकाम आउजाउ गर्ने गरेको उनले बताए ।

यता भानुको टुहुरेपसलमा पनि चुँदीखोला पुल पनि अलपत्र छ । गत असारमा निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम जम्मा ५० प्रतिशत सकिएको छ । नयाँबाटो मना जेभीले २ करोड ५६ लाख रुपैयाँको लागतमा ठेक्का लिएको पुलमा काम ढिला भएको छ ।

प्रकाशित : आश्विन २, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?