गाउँको स्वास्थ्य केन्द्रमा एक्स–रे

पर्वत — ठूलीपोखरी स्वास्थ्य केन्द्रमा एक्स–रे मेसिन सञ्चालनमा आएको छ । वडा समितिको कार्यालयले चालु वर्षको बजेटबाट केन्द्रका लागि एक्स–रे मेसिन खरिद गरेको हो ।

गाउँको स्वास्थ्य केन्द्रमा एक्स–रे

कुश्मा नगरपालिकाभित्रकै वडा भए पनि ठूलीपोखरी र आसपासका स्थानीयलाई उपचारका लागि धेरै कष्ट भइरहेको भन्दै जनप्रतिनिधिले उक्त मेसिन खरिदको योजना पारित गराएका हुन् । ‘वर्षाका बेला गाडी चल्दैनन्,’ १२ का वडाध्यक्ष राजेन्द्रप्रसाद पौडेलले भने, ‘धेरै बिरामीले सास्ती पाएको हामी सबैले देखेका छौं । नगरपालिकाले छुट्याएको बजेट यहाँ लगानी गरियो । सबैको साथ पाइयो ।’ केन्द्रमा उक्त मेसिन सञ्चालन गर्नसक्ने पर्याप्त जनशक्ति भएकाले अब गाउँलेले स्थानीयस्तरबाटै सेवा पाउने उनले बताए । एक्स–रे मेसिनको शनिबारदेखि सेवा सुरु भएको छ ।

वडा कार्यालय र कुश्मा नगरपालिकाले विनियोजन गरेको ५ लाखको लागतमा मेसिन ल्याएर सञ्चालनमा ल्याएको केन्द्रका इन्चार्ज डा. विवेक भण्डारीले बताए । ‘सय एमएको एक्स–रे हो,’ उनले भने, ‘उपचारै गर्न नसके पनि बिरामीलाई के भएको हो भनेर स्वास्थ्य परीक्षणपछि उपयुक्त सल्लाह दिन सकिन्छ । सबै किसिमका एक्स–रे हुन्छन् ।’ तत्कालका लागि एक्स–रे गर्ने छुट्टै जनशक्ति नभए पनि अन्य जनशक्तिबाट बिरामीलाई सेवा दिन सुरु गरिएको उनले बताए । आफ्नै स्वास्थ्य केन्द्रबाट अब हाडजोर्नी सम्बन्धी समस्या र छातीको एक्स–रे सेवा लिन सहज भएपछि वडावासी पनि खुसी छन् ।

नगरपालिकाभित्रकै बस्ती भए पनि कुश्माको बजार क्षेत्रबाट ठूलीपोखरी आउजाउको बाटो राम्रो छैन । वर्षाका करिब ६ महिना सवारी आवागमन असहज हुन्छ । सामान्य बिरामी हुँदा स्वास्थ्य केन्द्रमा उपचार हुने भए पनि गम्भीर बिरामीलाई सुविधायुक्त अस्पताल झट्ट पुर्‍याउन पर्दा समस्या छ । स्वास्थ्य केन्द्रमा यसअघि नै एम्बुलेन्स भए पनि बाटो अप्ठ्यारो छ । ठूलीपोखरी स्वास्थ्य केन्द्रले कुश्माका ११, १२ र १३ नम्बर वडाका बस्तीका बासिन्दालाई सेवा दिएको छ । पर्याप्त उपकरण नहुनु र स्वास्थ्यकर्मीको सरुवा भइरहँदा भने गाउँलेलाई मर्का पर्ने गरेको छ ।

नगरप्रमुख रामचन्द्र जोशीले स्वास्थ्य केन्द्रमा पछिल्लो समय थप सेवा सञ्चालन गरेपछि स्थानीयवासीलाई सहज हुने बताए । ‘शिक्षा, स्वास्थ्य र खानेपानी जनताको आधारभूत आवश्यकताको आधार हो,’ उनले भने, ‘यसमा नगरवासीलाई कमी हुन नदिनेगरि हामी योजना बनाएर काम गरिरहेका छौं ।’

प्रकाशित : आश्विन २, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?