कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भूकम्पले चर्किएको विद्यालयमा पहिरो

आश गुरुङ

लमजुङ — दोर्दी गाउँपालिका-१ भारतेमा रहेको सूर्योदय मावि पहिरोको धरापमा पारेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले चर्किएको विद्यालयलाई पहिरोले जोखिममा पारेको हो ।

भूकम्पले चर्किएको विद्यालयमा पहिरो

केहिदिन यताको भारी वर्षाका कारण खसेको पहिरोले २ कोठे नयाँ भवनको आँगन नै बगाएको छ । अगाडिको प्लाष्टर भासिन थालेको छ । भवनको पछाडिको भागमा माथिल्लो भागबाट आएको पहिरोले पुरेको छ ।


नयाँ भवन तत्कालीन जिल्ला शिक्षा २० लाख खर्चिएर निर्माण गरिएको थियो । कक्षा ११ र १२ लाई पढाउनका लागि ठूलो आकारमा निर्माण गरिएको उक्त भवन फिनिसिङ कार्य बाँकी थियो ।


विद्यालयका शिक्षक अनिल अधिकारीका अनुसार पुरानो १४ कोठे भवनको पछाडिबाट पहिरो बगेको छ । भवनसम्म पहिरो आउन १/२ मिटरमात्रै बाँकी रहेको उनले बताए ।


‘नयाँ भवन र पुरानो भवन पहिरोको जोखिममा पर्‍यो । त्यसै त पुरानो भवन भूकम्पले चर्काएको छ । पानी पर्ने बित्तिकै डरले पढाउन सकिएको छैन । विद्यार्थी पनि डर मान्छन्’ उनले भने । पहिरोले शौचालयको अघिल्लो भाग पनि चर्किएको उनले बताए ।


विद्यालयका प्रधानाध्यापक काशीनाथ अधिकारीका अनुसार पुरानो दुईतले भवनको १४ वटा कोठामध्ये ३ वटा भूकम्पले चर्काइदिएको छ । ती मध्ये दुई वटा कोठामा कामै नदिने भएको छ । अर्को कोठामा कहिलेकाहीँ ऐच्छिक विषयको कक्षा पढाइने गरिएको छ ।


पुरानो भवनको पछाडिबाट गएको पहिरोले सिरुबारीबाट आउने विद्यार्थीलाई छेकेको उनले बताए । प्रअ अधिकारीका अनुसार विद्यालय मुनीको पहिरो छलेर आउन विद्यार्थीलाई एक घण्टा घुम्नुपर्छ । उक्त पहिरोको कारण विद्यार्थीहरु विद्यालयमा आउन नसकेको उनले बताए ।


‘स्कुलको यो हालतबारे वडा, गाउँपालिका, प्रहरी प्रशासन सबैलाई जानकारी गराएका छौँ । कसरी सुरक्षित बनाउने हो थाहा छैन’ उनले भने । उक्त स्कुलमा २ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : आश्विन २, २०७५ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?