कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अवरुद्ध सडकको विकल्प

काठमाडौँ — बडिगाड खोलाको बहाव थुनिनेगरी खसेको तुरतुरेको पहिरोले मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध भएपछि यहाँका चार स्थानीय तहले विकल्पको बाटोको खोजी गरेका छन् ।

अवरुद्ध सडकको विकल्प

प्राविधिक अध्ययन र काम गर्दा चाडपर्वका लागि आवतजावत तथा ढुवानीमा समस्या पर्ने भएकाले ढोरपाटन नगरपालिकाको अगुवाइमा बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकाले वैकल्पिक बाटो मर्मत गरेर यातायात सञ्चालन गर्ने भएका हुन् ।

लोकमार्ग खुलाउन एक महिनाभन्दा बढी लाग्ने अवस्था छ । भीमगिठे बजारको सिस्नेरीमा निर्माण भइरहेको पक्की पुल सञ्चालन गरेर दर्लिङ, राजकुत हुँदै सालझन्डी र ढोरपाटनको ट्रयाकबाट सवारी चलाउन छलफल गरिएको नगरप्रमुख देवकुमार नेपालीले बताए ।

‘सबै तहले केही–केही लगानी गरेमा वर्षामा जीर्ण भएको सडकको मर्मत गर्न सकिन्छ,’ उनले भने, ‘तत्कालको आवश्यकताका लागि जिप चल्नेसम्म बनाएर चाडपर्वका लागि जोहो गर्ने योजना बनायौं ।’ यो सडक खुल्दा हाल अवरुद्ध भएको स्थानबाट चल्नेभन्दा तीन गुणा लामो दूरी पर्छ ।

तर, पिठ्युँमा सामान बोकेर पनि उक्त खण्डकै बाटो गाउँलेले प्रयोग गर्नुपर्ने भएपछि मर्मत गरेर जिप चलाउन सक्दा दोहोरो फाइदा हुने ठहर गरिएको हो । बडिगाडका अध्यक्ष मेयरसिंह पाइजा, निसीखोलाका अध्यक्ष तारानाथ पौडेल र तमानखोलाका अध्यक्ष जोकलाल बुढाले छलफल गरेर काम गर्न सहमति गरेको बताएका छन् ।

सडक सञ्चालन नभए दैनिक उपभोग्य सामग्रीको हाहाकार हुने अवस्था रहेको बुढाले बताए । आवागमन र सामान ढुवानीका लागि मध्यपहाडी लोकमार्ग र त्योसँग जोडिएका सहायक मार्गमा चार गाउँपालिका आश्रित छन् । खाद्यान्नको उत्पादन निकै कम हुने भएकाले तराईबाट यहाँ धेरै सामान आउने गरेको छ । पहिरोमा निरन्तर ढुंगा खस्ने क्रम नरोकिएकाले तत्काल मर्मतका लागिसमेत कठिनाइ छ ।

मन्त्रालयको प्राविधिक टोलीले अध्ययन गरेर मात्र सडक खुलाउने र ताल बनाएको बडिगाड खोलाको पानी खोल्न सकिने प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताए । टोलीले कहिलेदेखि काम थाल्ने भन्ने यकिन भइसकेको छैन ।

‘तत्कालका लागि वैकल्पिक बाटो चलाउन सकियो भने पछि मर्मतको काम गर्न पनि सजिलो होला भन्ने छलफल चलिरहेको छ,’ उनले भने । सोमबार ढुंगा खसेर पैदल यात्रीको मृत्यु भएपछि स्थानीय त्रसित छन् ।

मूलबाटो पहिराले ठाउँ–ठाउँमा अवरुद्ध भएपछि छलेर आउजाउ गर्न खोज्नेका लागि जोखिम छ । शनिबारयता चार स्थानीय तहका बासिन्दा विकल्पमा घुमाउरो पैदल बाटो हिँड्न बाध्य भएका छन् । मृतकका परिवार र डुबानमा परेका कुमाल परिवारलाई दैवीप्रकोप उद्धार समितिले राहत रकम वितरण गरेको छ ।

कालीगण्डकी कोरिडोरतर्फ पनि सडक सञ्चालनमा कठिनाइ भएपछि प्रनिनिधिसभाका सांसद, नगरप्रमुख र राजनीतिक अगुवाले पहल थालेका छन् । बलेवा र कुश्मीसेरा खण्डमा दैनिक सवारी फस्ने समस्या भएपछि बागलुङ नगरपालिका १३ र १४ तथा जैमिनी नगरपालिकाका विभिन्न खण्डमा सडक मर्मतका लागि साझेदारी गर्ने सहमति भएको छ ।

तीज विशेष कार्यक्रमका लागि हिँडेका पूर्वमन्त्री दिननाथ शर्मा पनि हिलोमा गाडी फसेपछि घण्टौं अलपत्र परेका थिए । स्थानीय तह सडक मर्मतमा साझेदारी गर्न सहमत रहेको प्रशासनले जनाएको छ । सेनाले जिम्मा लिएको भन्दै कोरिडोरमा स्थानीय तहले मर्मत गरेका थिएनन् । सेनाले भने चालु वर्षको काम गुल्मी खण्डमा केन्द्रित गरेको छ ।

बागलुङतर्फ मर्मत नगर्दा झन्डै ३० किमि खण्ड जीर्ण छ । पहिरैपहिरोले पैदलयात्रीले पनि सास्ती खेपेका छन् । बाटो जोखिमपूर्ण भएकाले उक्त क्षेत्रमा चरिचनका लागि किसानले गाई–भैंसीसमेत गोठबाट बाहिर निकाल्न नसकेको गुनासो बढेको छ ।

प्रकाशित : आश्विन ३, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?