डम्पिङ साइट छनोटको विरोध

काठमाडौँ — कुश्माको फोहोर व्यवस्थापनका लागि तय गरिएको सिल्मी क्षेत्रमा डम्पिङ साइट बनाउन नहुने भन्दै स्थानीयले विरोध गरेका छन् । बस्ती, सडक र खोला किनारमा फोहोर विसर्जन गर्दा दुर्गन्ध फैलने र नजिकैको बस्तीसमेतलाई असर गर्ने भन्दै विरोध भएपछि साइट छनोटको प्रक्रिया नै स्थगित भएको छ ।

डम्पिङ साइट छनोटको विरोध

कुश्मा ११ सिल्मीमा डम्पिङ साइट बनाउँदा सिंगो बस्तीमा असर गर्ने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । बस्ती नजिकै फोहोर फाल्दा दुर्गन्ध दोबिल्ला–फलेवास सडकमा हिँडडुल गर्ने यात्रीलाई समेत हुने भन्दै सिल्मीका बासिन्दाले छनोट नगर्न दबाब दिएका छन् । सिल्मीमा फोहोर फाल्दा मोदीखोलालाई समेत प्रत्यक्ष असर गर्ने उनीहरूको ठहर छ । अन्य सुरक्षित ठाउँ खोज्नुपर्ने माग उनीहरूको छ ।

वडासदस्य गोपाल नेपालीले नगरपालिकाको निर्णय उचित नभएकाले विरोधमा उत्रिनुपरेको बताए । स्थानीय अर्जुन पौडेलले फोहोर फाल्न सिल्मी उचित स्थान नभएको बताए । ‘वरिपरि बस्तीले घेरेको छ,’ उनले भने, ‘बजारभरिको फोहोर विसर्जन गर्दा त्यसको असर कति पर्छ भन्ने सोच्नुपर्दैन ?’ नजिकै मोदीखोला बग्ने भएकाले पानीमा समेत फोहोरले असर गर्ने उनले बताए । स्थानीय दया सुवेदीले एकातिरको फोहोर अर्कातिर फालेर मानव बस्तीलाई दुगन्धित बनाउने नगरपालिकाको गलत नियत भएको बताए ।

नगरपालिकाले भने डम्पिङ साइट नभएर फोहोर प्रशोधन केन्द्र बनाउन खोजिएको जनाएको छ । सिल्मीकै वडाध्यक्ष शिवप्रसाद पौडेलका अनुसार विभिन्न प्रकृतिका फोहोर संकलन गरेर त्यसलाई व्यवस्थित गर्ने क्षेत्र छनोट भएकोमा स्थानीयले नबुझेर पहिल्यै विरोध गरेका हुन् । ‘सात रोपनी जग्गा लिएर प्रशोधन केन्द्र बनाउन लागेका थियौं,’ उनले भने, ‘सबैले विरोध गर्नुभयो । अहिले काम स्थगित छ ।’ फोहोर व्यवस्थापन गर्न आवश्यक जग्गा सम्याउने र सडक खन्नेलगायतको काम अघि बढेको अवस्थामा स्थानीयले विरोध गरेको उनले बताए । अब नगर कार्यपालिकाको बैठक बसेर अन्यत्रै सार्ने विषयमा छलफल गर्ने जनाएको छ ।

कुश्माले हालै एक गैरसरकारी संस्थासँग फोहोर व्यवस्थापन गर्ने सम्झौता गरेको थियो । उक्त संस्थाका पदाधिकारीकै अगुवाइमा नगरपालिकाले सिल्मीमा फोहोर विसर्जन गर्न लागेको थियो । लामो समयदेखि कुश्माकै छमर्के र बडगाउँको डिललगायतमा अव्यवस्थित रूपमा फाल्दै आएको नगरपालिकालाई फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ । अघिल्लो वर्ष मोदीवेणीको सामुदायिक वनको बीचमा डम्पिङ साइट बनाउने निर्णय भएको थियो । तर, त्यहाँसम्म पुग्ने सडक नभएकाले योजना अघि बढेन । कुश्माकै छमर्केमा पर्वत बहुमुखी क्याम्पस नजिकैको जंगलमा बनाउन लागिएको डम्पिङ साइटको निर्णय पनि स्थानीयको विरोधपछि स्थगित गरिएको थियो । नगरको फोहोर व्यवस्थापन नहुँदा बस्ती, राजमार्ग र वरपरका नदीहरूमा प्रदूषण बढिरहेको छ ।

प्रकाशित : आश्विन ३, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?