कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पहिरोले पर्यटकलाई सकस

आश गुरुङ

लमजुङ — पर्यटकीय सिजन सुरु भयो । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन दर भने न्यून छ । पर्यटक आउने समय मानिएको सेप्टेम्बर महिनाको आधाआधीसम्म निरन्तर वर्षा जारी रह्यो । भदौ २७ को भारी वर्षापछि बाढीपहिरोले पदमार्ग बिगारेको छ ।

पहिरोले पर्यटकलाई सकस

मौसम अनुकूल नभएकाले चक्रीय अन्नपूर्ण पदमार्गमा अपेक्षाअनुसार पर्यटक नआएको हुनसक्ने व्यवसायीले बताएका छन् । चक्रीय अन्नपूर्ण यात्राको लमजुङ खण्डका सडक र पदमार्गमा पहिरो गएपछि आउजाउ अझै असहज छ ।

धेरै पर्यटकले अवस्थाको जानकारी लिएरै भ्रमण रद्द गरेको हुनसक्ने व्यवसायीको अनुमान छ । फाट्टफुट्ट आएका पर्यटक पनि जोखिम मोलेर हिँड्न बाध्य छन् । केहीले पुरानो पदमार्ग प्रयोग गरेका छन् । मस्र्याङ्दी गाउँपालिका ४ श्रीचौरस्थित बुमर्‍याङ होटलका सञ्चालक पूर्णबहादुर गुरुङ भन्छन्, ‘पोहोरजस्तो टुरिस्ट यसपटक आउन थालिसकेका छैनन् । ढिलोसम्म मनसुन सक्रिय भएकाले पनि हुनसक्छ ।’

होटलमा बास बस्नेहरू पनि यसपटक तुलानात्क संख्यामा कम रहेको उनले बताए । ‘अब बाटो खुलेपछि पर्यटकको चापाचाप हुनसक्छ । हिँडेर पनि आउँछन् । गाडीमा पनि उत्तिकै चढ्छन्,’ मनाङ–लमजुङ होटल व्यवसायी समितिका सचिवसमेत रहेका उनले भने, ‘मौसममा सुधारको पर्खाइ छ ।’ मस्र्याङ्दी गाउँपालिका ४ का अध्यक्ष सुमन गुरुङका अनुसार केही पर्यटक पुरानो पदमार्गमा हिँड्न थालेका छन् । उक्त बाटोमा पनि कतै–कतै पहिरो गएको छ । केही पर्यटक जोखिम मोलेर पहिरोको बाटो नै हिँडिरहेका छन् । ‘असोज १ देखि त जता गए पनि पर्यटक नै देखिनुपर्ने हो,’ उनले भने, ‘अहिले पनि नदेखिएको त होइन तर पोहोरको जस्तो छैन ।’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाका अनुसार गत वर्षको तुलनामा यसपटक हरेक महिना २० देखि ३० प्रतिशतका दरले पर्यटक वृद्धि हुँदै आएकोमा भदौबाट घट्यो ।

‘बाढीपहिरोले गर्दा हो,’ उनले भने, ‘हामीले पोखरा, काठमाडौं र बेंसीसहरमा आउने पर्यटकलाई पहिलेको पदमार्ग प्रयोग गर्न भनेपछि विस्तारै पर्यटक बढ्दैछ ।’
पहिले भदौमै चामे नजिकै तिर्चुङगाल्डामा पहिरो चल्दा एक साता पर्यटकलाई असहज भएको र त्यतिबेला पनि कम भएको उनले बताए । उनका अनुसार दैनिक ४० देखि ५० जनासम्म पर्यटक आउने गरेकोमा बाढीपहिरो भएपछि कम्तीमा २० जनासम्म झरेको थियो । अहिले विस्तारै बढ्न थालेको उनले बताए । ‘यो बेला १ सयभन्दा बढी पर्यटक दैनिक आउने समय हो । विस्तारै ६०/७० को संख्यामा आउँदैछन्’ उनले भने, ‘पुरानो पदमार्गको बाटो अहिले राम्रो भएको छ । सडक मर्मत भएपछि पर्यटक बढ्नेछन् ।’ प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार सुरुमा २० देखि २५ मिटर सडक क्षतिविक्षत भएको थियो । अहिले सबै पहिरो पन्छाएर करिब ४ किमि सडक बनाउन बाँकी छ । यसैमा कडा चट्टान भएकाले खुलाउन समस्या छ । विस्फोटक पदार्थको प्रयोगबिना सडक खुलाउन सम्भव नभएको उनले बताए ।

बेंसीसहरदेखि मस्र्याङ्दी गाउँपालिका ३ अर्खलेबेंसीसम्मको करिब १९ किलोमिटर र मस्र्याङ्दी गाउँपालिका ४ रामबजारदेखि मनाङसम्म भने सडक राम्रै छ । ‘बाटो बनाउँदा बनाउँदै केही मेसिनरी सामान बिग्रिए, केहीले काम गर्न सकेनन्,’ उनले भने, ‘बिग्रिएका मेसिनरी सामानको बकेट काठमाडौंबाट आउने क्रममा छ ।

ठूलो चेनवाला एक्साभेटर पोखराबाट आएको छ । अब काम धमाधम हुन्छ ।’ आवश्यक परेको ठाउँमा विस्फोटक पदार्थ प्रयोगको लागि बाटो बनाउन काठमाडौंबाट कम्प्रेसर ल्याउने तयारी गरिएको उनले बताए । मनाङबाट निर्वाचित प्रतिनिधिसभा सांसद पोल्देनछोपाङ गुरुङका अनुसार सडक अवरुद्ध भएपछि मनाङमा खाद्यान्न ढुवानी ठप्प छ । पैदलयात्रीको आउजाउ पनि असहज भएको छ । ‘पर्यटकको सिजन सुरु भयो । बाटोले गर्दा स्थानीयलाई निकै समस्यामा भयो,’ उनले भने, ‘छिटो बाटो खुलाएर आवतजावत सहज बनाउन मैले डिभिजन सडकलाई भनिरहेको छु ।’

प्रकाशित : आश्विन ३, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?