१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

संविधान दिवसमा छुट्टाछुट्टै कार्यक्रम

बागलुङ — चौथो संविधान दिवस मूल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रममा बागलुङ नगरपालिकाका जनप्रतिनिधि सहभागी भएनन् ।

संविधान दिवसमा छुट्टाछुट्टै कार्यक्रम

जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षतामा गठित समितिको कार्यक्रममा नगई नगरपालिकाले छुट्टै कार्यक्रम गर्‍यो । नगरपालिकाले अस्पतालका बिरामीलाई फलफूल वितरण गरेर मनायो भने मूल समारोह समितिले प्रभातफेरी र प्रवचन कार्यक्रम गरेर मनाएको छ ।

समितिको कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद, प्रदेशसभा सदस्य र पार्टीका प्रतिनिधिहरू थिए । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरू पनि उक्त कार्यक्रममा सहभागी भए । सबै कार्यालयका प्रमुख पनि समितिकै कार्यक्रममा थिए । नगरपालिकाकै केही वडाध्यक्ष पनि सहभागी देखिए ।

नगरपालिकाले भने समितिको आग्रहलाई बेवास्ता गर्दै आफ्ना कर्मचारीलाई चियापान गराएर दिवस मनाएको छ । मुख्यमन्त्रीको पत्राचारमा सबै जिल्लामा मूल समारोह समिति बनाएर मनाउने तथा स्थानीय तहमा पनि मनाउनु भन्ने पत्र आएकाले छुट्टै मनाएको नगरपालिकाका एक वडाध्यक्षले बताए । नगर प्रमुख जनकराज पौडेल जिल्लाबाहिर छन् ।

दिवस मनाउने तयारीका लागि जिससले बोलाएको बैठकमा पनि नगरका जिम्मेवार प्रतिनिधि गएका थिएनन् । जनप्रतिनिधि, प्रमुख प्रशासकीय र निमित्तसमेत नभएपछि सामान्य कर्मचारी सहभागी थिए । ‘सदरमुकाम रहेको नगरपालिकामा संयुक्त कार्यक्रम गरेको भए राम्रो हुन्थ्यो,’ जिसस प्रमुख ढुंगानाले भने, ‘यो चलन पनि हो । मिलेर गर्दा राम्रो सन्देश जाने थियो ।’ एकै दिन दुईथरी समूह बनेर बजारमा निस्कँदा जनतामा पनि नकारात्मक सन्देश प्रवाह भएको उनले टिप्पणी गरे ।

केही वडाध्यक्षले नगरपालिकाकै अहमपनाले कार्यक्रम विभाजित भएको टिप्पणी गरेका छन् । ‘जुँघाको लडाइँ गरिरहेकाले बेलाबेला छताछुल्ल हुन्छ,’ एक वडाध्यक्षले भने, ‘मर्यादाकै कारण पनि समन्वय समितिमै जानुपथ्र्यो ।’ नगरप्रमुख र प्रशासकीय अधिकृतले समितिलाई अनादर गरेको देखिएको उनले बताए । कानुनी रूपमा भने फरक दिवस मनाउनुमा समस्या नभएको ढुंगानाको पनि भनाइ छ ।

‘जिल्लाका सबै तहले दिवस मनाएकाले बागलुङ नगरले पनि छुट्टै मनाएको होला,’ उनले भने, ‘केही समस्या छ भन्ने देखाउनु राम्रो होइन ।’ नगरपालिकाले कार्यालय सार्ने योजनामा समितिले सहयोग नगरेको आरोप लगाउने गरेको छ । जिससमा कर्मचारीको संख्या थोरै भएकाले बागलुङ नगरपालिकाले समितिकै भवन ताकेको थियो । उक्त विषयमा सहमति नभएपछि अन्य कार्यक्रममा पनि नगरपालिकाका जिम्मेवार प्रतिनिधिहरू फरक रूपमा सहभागी हुने गरेका छन् ।

प्रकाशित : आश्विन ४, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?