लोकमार्ग ७ घण्टा रोक्ने तयारी

सडक विस्तारका लागि पहरा फुटाउनुपर्ने भएकाले आवागमन रोकेरै काम गर्न लागेको हो

पर्वत — पोखरा–बागलुङ सडकमा फेरि दैनिक ७ घण्टा आवागमन अवरुद्ध हुने भएको छ । मध्यपहाडी लोकमार्गमा समेटिएको यो सडकमा वर्षा रोकिएसँगै विस्तारको कामलाई तीव्रता दिन सुरु गरिएपछि आवागमन रोक्ने समयावधि बढ्ने भएको हो ।

लोकमार्ग ७ घण्टा रोक्ने तयारी

दुई लेनको बनाउनेगरी विस्तार गर्न लागेको सडक आयोजनाले मंगलबारदेखि असोज २० गतेसम्म पर्वत खण्डमा बिहानदेखि तीनपटक गरी ७ घण्टा आवागमन अवरुद्ध हुने जनाएको छ ।

पर्वत खण्डको सडक विस्तारको जिम्मा लिएको लामा कन्स्ट्रक्सनका अनुसार कुश्माको खरेहा गेटदेखि कास्कीको सिमानामा पर्ने अँधेरीखोलासम्मका विभिन्न भागमा सडक अवरुद्ध हुनेछ । विस्तारका लागि चुवा, खरेहा, दोबिल्ला, तिलाहार, डिमुवा, बेतेनी र नयाँपुल लगायतमा पहरो फुटाउनुपर्ने भएकाले सडक अवरुद्ध गर्नुपरेको सूचनामा उल्लेख छ ।

दैनिक बिहान १० देखि १२, दिउँसो १ देखि ४ र साँझ ६ देखि ८ बजेसम्म सडक अवरुद्ध हुने आयोजना कार्यालयले जनाएको छ । पोखरादेखि नयाँपुल र कुश्मादेखि बागलुङ, बेनी र मुस्ताङसम्म भने अवरोध हुने छैन ।

लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भीर र दोबिल्लादेखि चुवासम्मको चुवा भीरमा सडक फराकिलो बनाउन सोमबारदेखि नै सडक बन्द गरेर काम भइरहेको छ । ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनका परियोजना प्रबन्धक गोविन्द भुषालका अनुसार अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्सलाई भने अवरुद्ध भनिएको समयमा पनि आउजाउ गर्न दिइनेछ ।

‘अति नै साँघुरो क्षेत्रमा कठिन पहरा फुटाइँदै छ,’ उनले भने, ‘त्यस्ता ठाउँमा सडकमा आउजाउ रोकेर काम गर्नुको विकल्प छैन ।’ असोज २० देखि दसैं सुरु हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप बढ्ने भएकाले त्यसपछि सडक जुनसुकै समयमा खुलाइने भुषालले बताए ।

आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ दशमलव ७६ किलोमिटर स्तरोन्नतिको ठेक्का लामा कन्ट्रक्सनले ८३ करोड ९८ लाखमा लिएको छ । अहिले सम्म १५ प्रतिशत काम सकिएको म्यानेजर भुषालले जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा–बागलुङ खण्ड लाई नयाँ स्वरूपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारेको छ । लोकमार्ग पूरै नयाँ स्वरूपमा विस्तार र स्तरोन्नति गर्न चारवटा प्याकेज बनाएर काम भइरहेको आयोजना प्रमुख सूर्य भाटले बताए । उनका अनुसार आगामी २०७७ वैशाखभित्र पोखरा–बागलुङ खण्डको धेरैजसो भाग नयाँ बन्नेछ । २०५० सालमा निर्माण सम्पन्न यो सडकका धेरै खण्ड भत्केका छन् ।

प्रकाशित : आश्विन ४, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?