३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लागूऔषधको ‘ट्रान्जिट’

प्रतिक्षा काफ्ले

स्याङ्जा — सिद्धार्थ राजमार्ग हुँदै लामो दूरीका सवारी चल्ने भएपछि पछिल्लो समय स्याङ्जा जिल्ला लागूऔषध ओसारपोसारका लागि ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ ।

लागूऔषधको ‘ट्रान्जिट’

बुटवल, भैरहवा हुँदै सुनौलीबाट भारत पस्ने र पोखरा, बागलुङ, पर्वत, मुस्ताङ हुँदै कोरला नाकासम्म पुग्न सकिने रुटलाई लागूऔषध ओसारपसार गर्नेहरूले उपयोग गरिरहेका छन् । दमौली, मुग्लिन हँुदै काठमाडौंसम्म लागूऔषध पुर्‍याउनेलाई पनि प्रहरीले पक्राउ गर्न थालेपछि स्याङ्जाको बाटो अत्यधिक उपयोग भइरहेको पाइएको हो ।

सुनौलीबाट भैरहवा–बुटबल भएर स्याङ्जाका विभिन्न बजारमा लागूऔषध लुकाउने, प्रहरीको चेकजाँच नहुने बेला पारेर पोखरा र काठमाडौं पठाउनेहरू सक्रिय भएका छन् । बुटवलबाट आएर पोखरा जाँदै गरेको अपांगता भएकाको चार पांग्रे स्कुटरलाई आइतवार प्रहरीले पुतलीबजार चोकमा चेकजाँच गरेको थियो । त्यसमा फेन्डिल बरामद भएपछि पोखरा ३ का २६ वर्षीय प्रवीण परियार पक्राउ परे । उनको बायाँ घुँडादेखि तल्लो भाग छैन ।

उनलाई पक्राउ गरेपछि लागूऔषध ओसारपसारमा कस्ता– कस्ता व्यक्ति संलग्न छन् भनेर प्रहरी पनि छक्क परेको छ । केही दिनअघि सुनौली हुँदै पोखरा हिँडेका वालिङ २ का ३९ वर्षीय कुमार परियार पनि जाँचकै क्रममा गल्याङ बजारमा समातिए । उनले बोकेको झोलाबाट ९७ सीसी लागूऔषध प्रहरीले बरामद गरेको थियो ।


यस्तै पुतलीबजार १ ट्याक्सीचोकमा फेदीखोलाका २६ वर्षीय विश्वास गुरुङ ९७ वटा लागूऔषधसहित पक्राउ परे । कपिलवस्तुको वाणगंगा १० का १८ वर्षीय सुरज भुषाल पनि पुतलीबजारबाटै चेकजाँचका क्रममा पक्राउ परे । उनले बोकेको झोलामा डाइजेपाम, फेनार्गन र नाइट्रोजेपामलगायत ४ सय ८३ वटा लागूऔषध बरामद भएको थियो । स्याङ्जाका सबै मुख्य बजार क्षेत्र सिद्धार्थ राजमार्गमा पर्छन् । सबैमा प्रहरीले चेकजाँच नियमित गरेको छ । दिनदिनै लागूऔषध ओसारपसारमा संलग्न रहेका पक्राउ परेकै छन् ।

‘सजिलो बाटो भएर होला स्याङ्जाको रुटलाई लागूऔषध ओसारपसार गर्नेहरूले प्रयोग गरेका,’ प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट भन्छन्, ‘ठाउँ– ठाउँमा चेक प्वाइन्ट मात्रै होइन सिभिलमा पनि प्रहरी खटिएको छ । ओसारपसार गर्नेहरू पनि दिनदिनै समातिएका छन् ।’ लागूऔषध ओसारपसारमा स्याङ्जाली नभई अन्य जिल्लाका धेरै संलग्न रहेको पाइएको उनले बताए ।

लागूऔषध ओसारपोसारमा १६ देखि २१ वर्ष उमेरसम्मका युवाहरू बढी संलग्न रहको पक्राउको तथ्यांकले देखाएको छ । ओसारपसार र प्रयोगमा महिला पनि उत्तिकै संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षका दुई महिनामा लागूऔषधसहित पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरीले १० वटा मुद्दा दर्ता गरिसकेको छ । आव २०७४/७५ मा १८ जना पक्राउ परे, १४ वटा मुद्दा दर्ता भएका थिए ।

ओसारपसार र प्रयोगमा वृद्धिका थुप्रै कारणमध्ये बेरोजगारी प्रमुख रहेको लागूऔषध रोकथामको क्षेत्रमा काम गर्दै आएको जीवनबाटिका नेपाल स्याङ्जाका अध्यक्ष नवीन अर्यालले बताए । ‘प्रयोगकर्ता स्याङ्जामा पनि नभएका होइनन्, यसको मूल कारण सजिलै इन्डियाबाट ल्याउन सकिने र महँगोमा बेच्न सकिने भएर हो,’ उनले भने, ‘अहिलेको चिन्ताको विषय इन्जेक्टिङ ड्रग युजर बढ्दै गएका छन् ।’

रोकथामका लागि प्रहरी मात्रै लागेर केही नहुने उनले बताए । ‘रोकथामका लागि घर र समाजले ध्यान दिनैपर्छ,’ उनले भने, ‘लागूऔषध सेवनकर्ताहरू रोगी हुन् । उनीहरूलाई अपराधीजस्तो होइन बिरामी मानेर उपचार गरिनुपर्छ ।’ लागूऔषध ओसारपसारमा संलग्नका लागि पोखरा ठूलो बजार हो । जति पनि खर्च गरेर प्रयोग गर्नेहरू भएकाले छिटै पैसा कमाउने लोभमा ओसारपसार गर्नेहरू बढेका हुन् ।

प्रकाशित : आश्विन ४, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?