विज्ञान–प्रविधि लगानीमा जोड

पोखरा — विज्ञान तथा प्रविधिबिना विकास र समृद्धि असम्भव रहेको भन्दै यहाँ आयोजित एक कार्यक्रमका सहभागीले संघ र प्रदेश सरकारले त्यसमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

विज्ञान–प्रविधि लगानीमा जोड

छैटाैं राष्ट्रिय विज्ञान दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमका वक्ताले नेपालमा शिक्षामा लगानी कम हुँदै गएको उल्लेख गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा पृथ्वीनारायण क्याम्पस विज्ञान–प्रविधि विभागद्वारा आयोजित कार्यक्रममा विज्ञानका विभिन्न पक्षमा वक्ताले धारणा राखेका थिए । क्याम्पस प्रमुख चन्द्रबहादुर थापाले शिक्षामै लगानी कम भइरहेका बेला विज्ञानको क्षेत्रमा त झनै कम भएको टिप्पणी गरे । ‘सरकारले अब अनुसन्धानमूलक विज्ञानमा लगानी नबढाई हुँदैन’ उनले भने, ‘प्रदेश सरकारहरूले पनि यसमा विशेष
जोड दिनुपर्छ ।’

नास्टका एसोसियट एकेडेमिसियन प्राडा शोभाकान्त लामिछानेले विज्ञान र प्रविधिबिना समृद्धि असम्भव भएको बताए । यसका लागि पुँजी निर्माण आवश्यक रहेको भन्दै उनले सरकारसँग बजेट बढाउन माग गरे । कार्यक्रममा विज्ञान मन्त्रालयको समेत जिम्मेवारी रहेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले विज्ञान र प्रविधिलाई समृद्धिमा जोड्न प्रदेश सरकार लागिपरेको बताए । ‘विज्ञान र प्रविधिको विकासका लागि प्रदेशमा एक प्राविधिक विश्वविद्यालय खोल्नका लागि आवश्यक गृहकार्य र प्रक्रियासमेत सुरु भएको छ’ उनले भने, ‘सबै पक्षसँग समन्वय गरी अघि बढ्न प्रदेश सरकार तयार छ ।’ उनले अनुसन्धान गर्ने विद्यार्थीका लागि रकम अभाव नहुने भन्दै विज्ञान र प्रविधिको क्षेत्रमा ढुक्क भएर काम गर्न अनुरोध पनि गरे ।

कार्यक्रममा क्याम्पसको रसायनशास्त्रका प्रमुख एडी मिश्रले विज्ञान र प्रविधिको हालको अवस्था, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सूचना र संरक्षण अधिकृत ऋषि बरालले मनाङमा नागरिक वैज्ञानिकले हिउँ चितुवाको संरक्षण गरेको विषयमा प्रस्तुति दिएका थिए । यसैगरी मनिपाल शिक्षण कलेजका सहप्राध्यापक सुदेश ज्ञवालीले मानव रोगको अवस्थाबारे, भौतिक अनुसन्धानका लागि पहल पोखराका संयोजक कपिल अधिकारीले विज्ञान र संस्कृतिबारे र क्याम्पसको रसायनशास्त्रका रामजीवन यादवले फोरजी मोबाइलको नेपालमा कनेक्टिभिटीबारे प्रस्तुति दिएका थिए ।

प्रकाशित : आश्विन ४, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?