कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्रामीण सडकको मर्मत सुरु

दिप्ती सिलवाल

पर्वत — वर्षाले बिगारेका पर्वतका ग्रामीण सडकको मर्मत सुरु भएको छ । असारको पहिलो सातादेखि बाढीपहिरोले सवारी आवागमन नै नहुनेगरी जीर्ण भएका सडक स्थानीय तहले मर्मत थालेका हुन् ।

ग्रामीण सडकको मर्मत सुरु

दसैंलाई लक्षित गर्दै आवागमन सहज बनाउन मर्मतको योजना अघि बढाइएको जनप्रतनिधिले बताएका छन् । गाउँ र नगर कार्यसमितिबाट बजेट विनियोजन गरेरै ग्रामीण सडकका खाल्टाखुल्टी पुर्ने, ग्राभेल गर्ने, भत्किएका ग्याभिन जाली लगाउने र सोलिङ गर्नेगरी मर्मतको काम थालिएको स्थानीय तहहरूले जनाएका छन् ।

कुश्मा नगरपालिकाले नगर भित्रका कुश्मा–दुर्लुङ, सिल्मी–ठूलीपोखरी र पकुवा–आर्थरलगायतका सडक मर्मत सुरु गरेको छ । यस्तै दोबिल्ला–फलेवास मार्गको सिल्मीमा भत्किएको सडकको मर्मतको काम पनि सुरु भएको छ । नगरभित्र दसैंअघि नै सबै सडकमा गाडी चल्न सक्नेगरी मर्मत गरिने नगरप्रमुख रामचन्द्र जोशीले बताए ।

फलेवास नगरपालिकाले गत वर्ष मापदण्ड बनाएर सडक विस्तार सुरु गरेको थियो । ती अधिकांंश सडक पहिरो खसेर अवरुद्ध भएका थिए । साइकलचोक–शंकरपोखरी, तातोपानी–शंकरपोखरी र खानीगाउँ–कार्कीनेटालगायतका सडक मर्मत सुरु गरिएको हो ।

नगरप्रमुख पदमपाणि शर्माका अनुसार मापदण्ड नपुगेका सडकहरू हिउँदमा विस्तार गरिएको थियो । वर्षामा भेलले पुरिएपछि केही समय ती सडकमा आवागमन अवरुद्ध थियो । ‘मापदण्डअनुसार बनाउँदा धेरै ठाउँमा भत्किएको छ,’ उनले भने, ‘अब दसैंसम्म सबै सडकमा गाडी गुड्ने बनाइन्छ ।’

पर्वतकै जलजला र मोदी गाउँपालिकाले पनि बिग्रिएका सडक मर्मत सुरु हुने जनाएका छन् । जलजलाका अध्यक्ष यामबहादुर मल्लका अनुसार मुख्य सडक मर्मत गरेर एक महिनाभित्रै यात्रा सहज बनाइनेछ । ‘धेरैजसो सडकमा गाडी चलेकै छन्,’ उनले भने, ‘समस्या रहेका केहीमा मर्मतको काम थाल्न लागेका छौं ।’ बाढीले खोलेका स्थानमा सोलिङ गरी भत्किएका सडकमा पहिरो पन्छाउन बजेट विनियोजन गरिएको उनले बताए । मोदीका अध्यक्ष प्रेम पौडेलका अनुसार गाउँपालिकाका
सबै वडामा पुग्ने मुख्य सडक मर्मत गर्न सम्बन्धित वडालाई निर्देशन दिइएको छ ।

महाशिला गाउँपालिकाले पनि अघिल्लो वर्ष मापदण्ड बनाएर सडक ८ देखि १५ मिटरसम्म चौडा बनाएको थियो । फराकिला पारिएका कच्ची सडक वर्षाको बाढीले क्षति पुर्‍याएको छ । क्षतिग्रस्त सडक मर्मत गरी दसैंमा गाउँ फर्कने सर्वसाधारणलाई सहज बनाउन कार्यपालिकाले निर्णय गरेको अध्यक्ष राजुप्रसाद पौडेलले बताए । उनका अनुसार महाशिलाका धेरैजसो सडक वर्षामा पनि अवरुद्ध भएनन् ।

बिहादी गाउँपालिकाले पनि सडक मर्मत थालिसकेको छ । ‘अब ठूलो पानी पर्ने सम्भावना हटिसकेको छ,’ अध्यक्ष कमल भुषालले भने, ‘धेरै सडक भएकाले तत्कालका लागि मुख्य–मुख्यलाई प्राथमिकतामा राखेका छौं ।’ पैयुँका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीका अनुसार गाउँपालिकाका सबै वडामा पुग्ने मुख्य सडकलाई प्राथमिकतामा राखेर मर्मत सुरु गरिएको छ । ‘केही वडामा एक्साभेटर पठाइसकिएको छ,’ उनले भने, ‘केहीमा वडाध्यक्षहरूले आफैं कस्सिएर युवा परिचालन गर्नुभएको छ ।’

पैयुँ १ टकलाकमा अघिल्लो वर्षदेखि नै डोजर उपयोग नगर्ने सहमति गाउँलेहरूको थियो । वडाध्यक्ष पीताम्बर भुषालका अनुसार स्थानीय ६० जना युवा परिचालन गरी सडक मर्मतलगायतको काम भइरहेको छ ।

प्रकाशित : आश्विन ४, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?