कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बिजुली पर्खाइमा गाउँले

प्रताप रानामगर

दमाैली — तनहुँको बन्दिपुर गाउँपालिका ६ ग्याझाटार र माझटारमा बिजुलीको पोल पुगेको चार वर्ष भयो तर अझै विद्युत् वितरण सुरु भएको छैन । विद्युतीकरणका लागि आवश्यक सामग्री लगभग सबै बस्तीमा पुगिसकेको छ ।

बिजुली पर्खाइमा गाउँले

पोलमा तार जडान भइसकेको छ भने ५० केभीएको टान्सफर्मर पनि राख्ने काम भइसकेको छ । ‘बिजुली बाँड्न सकिनेगरी बस्तीसम्म पूर्वाधार तयार भए पनि मेन लाइन जोड्न थोरै ठाउँ बाँकी रहेकाले अलपत्र भएको हो,’ स्थानीय विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष हर्कमान गुरुङले भने, ‘२०७१ सालमै गाउँमा पोल अइपुगेको थियो ।’ बिजुली नपुग्दा सम्पन्न घरहरूले सोलार जडान गरेका छन्, विपन्न परिवार टुकीको उज्यालोका भरमा रहेको उनले बताए । ‘पोल आएपछि वर्ष दिनमै बिजुली आउँछ भन्ने लागेको थियो,’ उनले भने, ‘गाउँलेहरू पर्खेको पर्खेकै भए ।’

माथिल्लो साराङघाटमा बिजुलीका पोल गाडिएका छन् । दुई किमि जति तार पनि तानिएको छ । गाडेका सबै पोलमा तार पुगेको छैन । अझै २० वटा हाराहारी संख्यामा पोल आवश्यक देखिएको उनले बताए । १२ वटा पोल आवश्यक देखिएको तल्लो साराङघाटमा पाँचवटा मात्रै पुगेका छन् । पोलसहित बिजुलीका सामग्री ढुवानीका लागि प्रतिघर ११ सयका दरले उपभोक्ताले रकम संकलन गरेका छन् ।

अहिलेसम्म ८६ घरले समितिलाई पैसा दिएका छन् । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार विद्युतीकरणको पूर्वाधार तयारी भइरहेका बस्तीमा आगामी दसैं सम्ममा बिजुली पुर्‍याउनेगरी तयारी भइरहेको छ ।

यसकै लागि ग्याझाटार र आँबुखैरेनीको भेडेटारमा ५०/५० केभीए क्षमताका ट्रान्सफर्मर जडान भइसकेको केन्द्र प्रमुख शिवनारायण गोसलीले बताए । ‘दुई ठाउँमा ट्रान्सफर्मर राखिसकेका छौं, अब चार्ज गर्ने काम मात्र बाँकी हो,’ उनले भने, ‘दसैं सम्ममा विद्युतीकरणको काम पूरा गर्ने लक्ष्य छ ।’ स्थानीयले तत्कालीन जिविससँग पोल ल्याउन समन्वय गरे पनि प्राधिकरणसँग समन्वय नगरेका कारण विद्युतीकरणमा ढिलाइ भएको उनले बताए ।

‘प्राधिकरणसँग पनि बेलैमा समन्वय भएको भए यति ढिला हुने थिएन,’ उनले भने, ‘अब आएर गाउँले स्थानीय तह र प्राधिकरणबीच समन्वय भएको छ ।’ पूर्वाधारले सम्भव भएका बस्तीमा घरहरूले दसैंदेखि विद्युत् उपभोग गर्न पाउने उनले बताए । बन्दिपुरको ग्याझाटार, माझटार, सारङघाट र आबुखैरेनी गाउँपालिकाको भेडेटारलगायत पाँच सय घरमा विद्युतीकरणको लक्ष्य रहेको उनले बताए । ‘बस्ती छरिएका ठाउँमा पोल र तार पुर्‍याउन समय लाग्छ,’ उनले भने, ‘केही बस्तीमा दोस्रो चरणमा विद्युतीकरणको काम हुनेछ ।’ यसका लागि केन्द्रमा योजना माग गरिएको उनले बताए ।

विद्युतीकरणमा ढिलाइले गाउँघरमा घरेलु उद्योग पनि सञ्चालन हुन सकेका छैनन् । कुटानीपिसानीकै लागि पनि पहाडी ग्रामीण बस्तीका बासिन्दा दमौली र घुमाउनेसम्म जान बाध्य छन् । सवारी चल्दा घुमाउने सम्मको प्रतिव्यक्ति आउजाउको भाडामा दुई सय रुपैयाँ खर्च हुने स्थानीय मीनमाया गुरुङले बताइन् । ‘जिप चल्दा भाडा तिरेर जाने गरेका छौं, नचल्दा ६ घण्टा पैदल हिँडेर भए पनि धान कुट्न, मकै, कोदो पिन्न घुमाउने पुग्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘गाउँमा छिटो बिजुली आइदिए ठूलो राहत हुन्थ्यो ।’

विद्युतीकरण हुन बाँकी बस्तीमा एक वर्षभित्र पुर्‍याउने लक्ष्य बन्दिपुर गाउँपालिकाको छ । स्थानीय तहका निर्वाचनमा दुई वर्षभित्र गाउँपालिकाभरि विद्युतीकरण गर्ने प्रतिबद्धता उम्मेदवारले गरेका थिए ।

‘सुरुमा विद्युतीकरणको योजनाका लागि प्राधिकरणमा गाउँलेको दबाब नपुगेर योजना अघि नबढेको रहेछ,’ गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले भने, ‘अब जनप्रतिनिधि सबैको लक्ष्य बिजुली नपुगेका सबै बस्तीमा छिटो पुर्‍याउने भन्ने नै छ ।’ गाउँपालिकाले पहल गरेकाले एक वर्षमा ६ नम्बर वडाका केही गाउँमा विद्युतीकरणको काम अघि बढेको उनले बताए । ‘अब हाम्रो योजनालाई प्राधिकरणले पनि साथ दिएको छ,’ उनले भने, ‘चरण–चरणमा काम हुन सक्यो भने सबै बस्तीमा छिटै बिजुली पुग्छ ।’

प्रकाशित : आश्विन ४, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?