२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मनाङ र लमजुङमा उच्च सतर्कता

आश गुरुङ

लमजुङ — शुक्रबार साँझपछि लमजुङ, मनाङ र गोरखाको सीमा क्षेत्रमा भारी वर्षा हुने र खोला तथा नदीमा पानीको बहाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनाङ र लमजुङमा उच्च सतर्कता

बिहीबार बिहान ६ बजेको बुलेटिनमा तीन जिल्लाको सीमाक्षेत्रमा भारी बर्षासँगै बाढी आउने पूर्वानुमान गरेपछि स्थानीय प्रशासनले नदी तथा खोला तटीय क्षेत्र तथा वरपरका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय मनाङ र लमजुङले बिहीबार दिउँसो आफ्ना वेबसाइट तथा सामाजिक सञ्जालको पेजमार्फत सार्वजनिक सूचना प्रकाशित गरी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।


जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरिएको बाढी बुलेटिन अनुसार शुक्रबार बेलुका पछि लमजुङको उत्तर, मनाङको पूर्वी भाग र गोरखाको पश्चिम भागबाट वहने साना नदीहरुमा बहाव एक्कासी बढ्न सक्ने पूर्वानुमान गरेको प्रशासनले जनाएको छ ।


लमजुङका प्रमुख जिल्ला अधिकार झंकनाथ ढकालले नदीको किनारामा बस्ने तटीय क्षेत्रका समुदाय तथा सवै जनसमुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । ‘एकसाताअघिको बाढीपहिरोले लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिकामा धनजनको क्षति भयो ।


मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार हामीले उच्च सतर्कता अपनाउन उत्तरी लमजुङबासीलाई भनेका छौं,’ उनले भने । मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले उत्तरी लमजुङसँग सीमा जोडिएको मनाङको दक्षिणपूर्वी भेगको नासों गाउँपालिकाका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको बताए । मर्स्याड्दी छेउमा रहेका धारापानी, खोत्रो, सिरानताल, तालगाउँ लगायतका स्थानीयलाई उच्च सतर्कता अपाउन आग्रह गरेको उनले बताए ।


बाढीपहिरोका कारण लमजुङमा ५ जनाको मृत्यु भइसकेको छ भने २ जना अझै बेपत्ता छन् । मस्र्याङदी गाउँपालिकामा आएको बाढीपहिरोले ५ जनाको मृत्यु भएको थियो । बाढीपहिरोमा परेर ११ जना घाइते भएका थिए । १९ घर पूर्ण रुपमा र ५५ घरमा आंशिक क्षति पुगेको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार बाढीपहिरोमा परी पशुचौपाय मरेका छन् ।


शुक्रबारदेखि बाढीपहिरो हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको भनेपछि स्थानीय डराएका छन् । उनले उच्च सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरिएको बताए । एक साताअघिको बाढीपहिरोका कारण हिमाली जिल्ला मनाङ जाने बेंसीसहर–चामे सडक अझै सञ्चालनमा आउन सकेको छैन । पानीको बहाव बढेपछि मर्स्याङ्दीले बगाएका २ जना अझै भेटिएका छैनन् ।

प्रकाशित : आश्विन ४, २०७५ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?