२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

पप्पु अर्को लापरबाही गर्दै

हरिराम उप्रेती

गाेरखा — सम्झौता अवधिमा काम नगरी समय गुजार्ने पप्पु कन्स्ट्रक्सनलाई डेढ वर्ष म्याद थपको तयारी गरिएको छ । गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार र पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका जोड्ने पक्की पुल निर्माणका लागि उक्त कम्पनीले २०७१ असार २९ मा ठेक्का सम्झौता गरेको थियो ।

पप्पु अर्को लापरबाही गर्दै

०७४ पुसभित्रै काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि हालसम्म ३० प्रतिशत मात्र प्रगति देखिएको छ । १७ करोड रुपैयाँको लागतमा त्रिशूली खोलामाथि १ सय ५१ मिटर लम्बाइको पुल निर्माणका लागि पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले हालसम्म २ करोड रुपैयाँ भुक्तानी लगिसकेको एघारकिलो–छेवेटार–भालुस्वाँरा सडक आयोजनाका प्रमुख अमृतमणि रिमालले बताए ।

गत सोमबार पुल निर्माणको अवस्थाबारे निर्माणस्थलमा भएको छलफलमा उक्त कम्पनीले निर्माण सामग्री र ‘इक्युपमेन्ट’ बुट्टारसम्म पुर्‍याउन बेलिब्रिज बनाइदिन माग गरेको छ । ‘अर्को बाटो मेसिनहरू लैजाँदा टाढा पर्ने भयो, अर्को बाटो साँघुरो पनि छ । यहीं बेलिब्रिज बनाइदिए सहज हुन्छ भनेका छन्,’ रिमालले भने । सडक आयोजनाको सिफारिसमा सडक विभागले उक्त पुलको म्याद थपसँगै बेलिब्रिज बनाइदिने तयारी गरेको छ ।

निर्माणमा भएको ढिलाइबारे ठेकेदार कम्पनीलाई चेतावनीसम्म नदिएको सडक आयोजनाले थप करिब २० लाख रुपैयाँ खर्चेर बेलिब्रिज बनाइदिन लागेको हो । ‘दुइतिर पिल्लर उठाउने काम लगभग सकिएको छ,’ प्रमुख रिमालले भने, ‘खोला सुकेपछि अस्थायी प्रकृतिको बेलिब्रिज बनाउने तयारी हुँदैछ । त्यो बाटो मेसिन तार्न पनि सजिलो भयो, उनीहरूले काम गर्छौं पनि भनेका छन् ।’ पाँच/सात महिना अस्थायी प्रकृतिको बेलिब्रिज बनाएर सामान ओसारपसारमा सजिलो बनाउन लागेको उनले बताए ।

ठेकेदार कम्पनीले बेलिब्रिज नभए काम गर्न नसक्ने जवाफ सडक विभागलाई दिएको स्रोत बताउँछ । खोला सुकेपछि तिहारलगत्तै बेलिब्रिज बनाइदिएर सडक विभागले ठेकेदार कम्पनीलाई सजिलो पारिदिन लागेको हो ।

ठेक्का सम्झौता सकिएको आठ महिनापछि उक्त कन्स्ट्रक्सनले बेलिब्रिजको माग गर ेपनि सडक विभाग पनि त्यसमा सहमत देखिएको छ । सडक विभागअन्तर्गत पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले पनि बेलिब्रिज बनाइदिन लागेको पुष्टि गरे । बेलिब्रिज राखेर म्याद थप हुँदा पनि उक्त कन्स्ट्रक्सन कम्पनीले सययमै काम सम्पन्न गर्नेमा भने स्थानीय आशावादी छैनन् । चार वर्षसम्म ठेकेदार कम्पनीले कहिलेकाहिं मात्र काम गरेको स्थानीय बताउँछन् ।

उक्त पुलको निर्माण छिटो सक्न यहाँका स्थानीय र जनप्रतिनिधिले माग गर्दै आएका छन् । ‘पुल नबन्दा मान्छेले बोकाएरै सामान ल्याउने–लाने गरेका छौं,’ गाउँपालिका अध्यक्ष होमबहादुर रानाले भने, ‘हाम्रो गाउँपालिकालाई पृथ्वी राजमार्गसँग सडक सञ्जालले जोड्ने एउटा मात्र नाका हो । यसलाई छिटो सम्पन्न गर्नुपर्छ भनेर भनेका छौं ।’ पृथ्वी राजमार्ग नजिकै भए पनि मोटरेबल पुल अभावमा यहाँका स्थानीय झोलुंगे पुलको सहायताबाट पैदल आउजाउ गर्ने गरेका छन् ।

पक्की पुल अभावमा गण्डकी गाउँपालिकाका किसान डोकोमा तरकारी बोकेर बिक्रीका लागि पृथ्वी राजमार्गसम्म पुग्ने गरेका छन् । पुल निर्माण भए गण्डकी गाउँपालिकाको ताङलीचोक, मकैसिङ र भुम्लीचोक साथै सहिद लखन गाउँपालिकासम्मका बासिन्दा लाभान्वित हुने रानाले बताए । गण्डकी गाउँपालिका चेपाङ समुदायको बाहुल्यता रहेको क्षेत्र हो ।

प्रकाशित : आश्विन ५, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?