१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आँपका पुराना रूख संरक्षण

आश गुरुङ

काठमाडौँ — पुर्खाले रोपेका आँपका रूखले वर्षौंसम्म फल दिँदै गरेपछि राइनास नगरपालिका ३ टिमुरेका स्थानीय त्यसको संरक्षणमा जुटेका छन् ।

आँपका पुराना रूख संरक्षण

रिब ८ रोपनी सार्वजनिक जग्गामा स्थानीय ‘पन्थी बाजे’ लगायतले लगाएका आँपका बगैंचामा १८ रूख छन्, तिनमा उति नै प्रजातिका आँप फल्ने थाहा पाएपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पनि चासो दिएको छ । बगैंचा पुराना भएर रूखहरू मासिने अवस्थामा पुगेपछि संरक्षणमा राष्ट्रिय जिन बैंक खुमलटारको समन्वयमा नार्कले चासो दिन थालेको हो । घरखेती स्थलीय संरक्षण रणनीतिअन्तर्गत नार्कले गाउँघरमा गएर किसानको पहलमा बीउ संरक्षण कार्यक्रमअन्तर्गत सामुदायिक फिल्ड जिन बैंकका रूपमा बगैंचा जोगाउन स्थानीय समुदायलाई जिम्मा दिएको छ ।

सामुदायिक फिल्ड जिन बैंक टिमुरे आँप बगैंचा संरक्षण समितिका अध्यक्ष विष्णु पन्थीका अनुसार उक्त बगैंचाका आँपका बोट २ सय वर्षअघि लगाएको मानिएको छ । बगैंचामा कटहरे, जुरेली, कर्कले, सिन्दुरे, ठूलो लहरे, सानो लहरे, जगते, काली, बम्बै, गनाउने, उपल्लो मिठाइ, तल्लो मिठाइ, सेतो, सुपारे, रातो टाउके, कर्तबिडे, मोई, र हाडे गरी १८ जातका आँपका बोट छन् । ‘नार्कले १८ वटै प्रजातिका आँपको बोटको प्रोफाइल बनाउने तयारी गरेको छ,’ उनले भने, ‘हामी पनि बाजेबराजुले रोपेका आँपलाई संरक्षण गर्न लागेका छौं ।

अर्को पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौं ।’ समुदायलाई खासै चासो हुन छाडेको बगैंचामा नार्कले चासो देखाए पनि गाउँलेलाई सुरु(सुरुमा नौलो लगेको थियो । समुद्र सतहको ४ सय ३५ मिटर उचाइमा टिमुरेको आँपको बीउ संरक्षणका लागि जनचेतना अभिवृद्धि र विकास अध्ययन समिति (कोपोडेस) द्वारा स्थापना गरिएको चेपे(मस्र्याङी सामुदायिक विकास बीउ बैंकले अगुवाइ गरेको छ ।


कोपाडेसका अध्यक्ष डिकेन्द्रराज कँडेलका अनुसार लुथरन वल्र्ड रिलिफको सहयोगमा सञ्चालित जीविकोपार्जन पुनर्लाभ सहयोग परियोजनाअन्तर्गत रैथाने बालीको बीउ जोगाउन बीउ बैंक स्थापना गरिएको छ । यसका लागि नेपाल सरकार जिन बैंक र बीउबिजन सम्भार कार्यक्रमले सहयोग गरेको छ । ‘यही बीउ बैंकमार्फत हामी आँपको बगैंचा संरक्षणमा जुटेका छौं,’ उनले भने । कोपाडेसको उक्त परियोजना संयोजक अमृतध्वज अधिकारीका अनुसार रैथाने आँपका बगैंचाको संरक्षण र बोट जोगाउने अभियानमा स्थानीय लागेका छन् ।

राइनास ४ सातबीसेस्थित बउि बैंकका अध्यक्ष मोहन हमालका अनुसार रैथाने बालीको बीउ जोगाउने क्रममा ४५ जातका बालीका ३ सय ७५ बीउ संकलन गरिएको छ । ‘हामी सयौं वर्ष पहिलेको बाली तथा आँपको बगैंचा जोगाउने अभियानमा छौं,’ उनले भने, ‘नार्कका वैज्ञानिक बोलाएर स्थानीयलाई तालिम दिएका छौं । समुदाय पनि एक भएर लागेका छन् ।’ उन्नत जातको आयु थोरै हुने, रोगकीरा लाग्ने र स्वादिलो नहुने भएकाले आँपलगायत स्थानीय रैथाने बीउ जोगाउने अभियानमा लागेको उनले बताए ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर बाराका वरिष्ठ वैज्ञानिक टेकप्रसाद गोतामेका अनुसार राइनास टिमुरेको आँपको बोटलाई कलमी गर्न थालिएको छ । ‘यसको संरक्षण कलमीबाट सम्भव छ । बिजुबोट (बीउबाट निस्कने बोट) कलमी गर्न सकिन्छ,’ उनले भने, ‘अहिले कलिलो हाँगा ल्याएका छौं ।

आँपलाई उपयुक्त हावापानी तराईको हुने भएकाले बारामा यसको कलमी हुनेछ ।’ उनका अनुसार यसप्रकारको कार्य अहिले ढिलो भएको छ । ‘पुस(माघमा काट्ने, बिरुवा निकाल्ने र गर्मी महिनामा कलमी गरे राम्रो हुन्छ’ उनले भने । नार्कका प्रमुख वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीका अनुसार राष्ट्रिय जिन बैंक खुमलटारले पुराना रैथाने आँपका बिरुवा संरक्षण गर्ने पहिलो पटक अभियान सुरु गरेको हो । उनका अनुसार लमजुङ, गोरखा र तनहुँका फाँटमा यस्ता बगैंचा करिब सय वटाको हाराहारीमा छन् ।

‘सामुदायिक फिल्ड जिन बैंकको रूपमा हामीले रैथाने आँपको संरक्षण गर्नुपर्छ भनेर नेपालमा पहिलोपटक अभियान थालेका छौं,’ उनले भने, ‘नोक्सान हुन लागेका बगैंचाका बोटलाई जोगाउने र यसको बीउबाट निस्कने बिरुवालाई अन्य ठाउँमा सारेर संरक्षण गर्ने योजनामा लागेका हौं ।’ कलिला हाँगालाई कलमी गर्न परवानीपुरस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा लगिएको उनले बताए ।

बेवारिसे आँपको बगैंचा जोगाउने जिम्मा समुदायलाई दिइएको छ । यसमा स्थानीयले सामुदायिक वनको अवधारणा अनुरूप आफैं संरक्षण र संवद्र्धन गर्ने साथै फाइदा पनि समुदायले लिनेछन् । कलिला हाँगा र बोटलाई कलमी गरेर रोप्ने तालिम समेत स्थानीयलाई दिइएको उनले बताए । ‘बूढा बोटमा कलिलो हाँगा जोड्ने तरिका स्थानीयले सिकेका छन् ।

विद्यालय, धार्मिक स्थान तथा सार्वजनिक ठाउँमा रोप्न सुझाव दिएका छौं । यसबाट रैथाने आँपको संरक्षण हुन्छ,’ उनले भने । काठमाडौंको उचाइ बढी भएकाले कलमी गर्न बारा पठाएको र काठमाडौं ल्याएर जावलाखेलको चिडियाखानामा रोप्ने सोच बनाएको उनले बताए ।

प्रकाशित : आश्विन ६, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?