अर्थमन्त्रीले भने, 'करमा करकाप हुनुहुँदैन'

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले करको दायरा बढाउने नाममा स्थानीय तहले जबरजस्ती कर उठाउन नमिल्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघको शुक्रबार ३२ औं अधिवेशन उद्घाटन गर्दै उनले करमा करकाप हुन नहुने बताए ।

अर्थमन्त्रीले भने, 'करमा करकाप हुनुहुँदैन'

उनले प्रदेश र स्थानीय तहको लगानी बढाउन कर प्रणालीमा नयाँ काम गर्नुपर्ने भन्दै तल्ला तहमा प्रदत्त अधिकारको सीमाभित्र रहेर लगानी अनुकूल वातावरण बनाउन सरकार लागिरहेको जनाए । ‘अहिले ज्वलन्त रूपमा उठेको भनेको एकीकृत सम्पत्ति कर नै हो,’ उनले भने, ‘कर प्रणाली सरलीकरण गर्ने, करदातालाई उत्साही बनाएर कर लिने हो । लिनुपर्ने एक रुपैयाँ पनि नछाड्ने र लिनु नपर्ने एक रुपैयाँ पनि बढी नलिने हाम्रो नीति हुनुपर्छ ।’ उनले ६ महिनाभित्रै लगानीसम्बन्धी सबै कानुन तयार गरेर लगानी सम्मेलन गर्ने तयारीमा सरकार जुटेको बताए ।

उनले सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धा नगर्नेसमेत उल्लेख गरे । लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तर प्रतिस्पर्धा नगर्ने उनको भनाइ थियो । ‘लगानीको नेतृत्व गर्ने तपाईंहरू नै हो । सरकार निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दैन,’ उनले भने, ‘पहिले निजी क्षेत्रलाई प्रोत्साहन गर्छ । निजी क्षेत्रले गर्न नसक्ने ठाउँमा मात्रै सरकारले हात हाल्छ । सरकार त्यहाँ मात्रै सीमित हुन चाहन्छ ।’ उनले निजी क्षेत्रहरू लगानीको संवाहक भएको भन्दै विदेशी लगानीकर्ता र सरकारबीच पुलको रूपमा काम गर्न आहान गरे ।

उनले निष्क्रिय भइसकेका पुराना कानुनलाई खारेज गर्ने र केही संशोधनका लागि पनि छलफल चलिरहेको बताए । देशको समृद्धि जलस्रोतको अधिक उपयोगबाट हुने उल्लेख गर्दै खतिवडाले निजी क्षेत्रको बढी संलग्नता आवश्यक रहेको बताए । ‘उज्यालो पाएपछि उज्यालोमै कारोबार गरिदिनुपर्‍यो । छाङ्ग उज्यालो भएपछि र लाइट भएपछि छामछाम छुमछुम त गर्नै परेन,’ उनले भने, ‘कर प्रशासन साथीहरूले पनि उज्यालोमै कर असुल गरिदिनुहोला । अँध्यारो कोठातिर जाऔं भन्ने कुरा पनि गर्नुभएन । त्यसपछि हाम्रो मुलुक पूरै उज्यालो बन्छ र यही उज्यालोले हामीलाई समृद्धतर्फ लैजान सक्छ ।’

प्रजु र अधिकारी प्यानलबीच प्रतिस्पर्धा
शुक्रबार उद्घाटन भएको संघको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । शनिबार मतदान हुनेछ । नयाँ कार्यसमितिका लागि दुई प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेस निकट व्यवसायी प्यानलको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुले गरेका छन् । कम्युनिस्ट प्यानलको नेतृत्व हालका महासचिव दामु अधिकारीले गरेका छन् ।

प्रजु प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योगतर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्यतर्फको उपाध्यक्षमा पवन प्रजापति, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे, महासचिवमा अर्जुन पोखरेल र उपमहासचिवमा चिनु गुरुङ चुनावी मैदानमा छन् । खुला १० सदस्यमध्ये दाबी विरोधका क्रममा दुईको उम्मेदवारी रद्द भएपछि आठ प्रतिस्पर्धी छन् ।

खुला सदस्यमा बलराम आचार्य, केशवबहादुर खत्री, दिनेशचन्द्र बास्तोला, कुमारी मुना बास्तोला, कीर्तिवल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी र रामेश्वर अधिकारी छन् । यो प्यानलबाट सदस्यमा उम्मेदवारी दिएका शोभा गौतम र रामप्रसाद गौतमको उम्मेदवारी रद्द भएको थियो ।

त्यस्तै व्यावसायिक समावेशी समूह नाम दिइएको दामु अधिकारी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उद्योग उपाध्यक्षमा गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) यमनाथ पौडेल, महासचिव किसान सुनार, कोषाध्यक्ष प्रेम भुजेल र उपमहासचिवमा सीता बराल चुनावी मैदानमा छन् । कार्यसमिति सदस्यमा नारायण पौडेल, डीबी भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइँटेलले प्रतिस्पर्धा गर्दैछन् ।

संघको नयाँ कार्यसमिति चयनका लागि शनिबार विद्युतीय भोटिङ मेसिनमार्फत मतदान हुनेछ । संघमा कुल ३ हजार ३ सय ७८ मतदाता छन् । संघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फ गरी दुई उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिव, खुल्लातर्फ १०, वस्तुगततर्फ चार, कर्पोरेटतर्फ दुई र एक औद्योगिक गरी २४ सदस्यीय कार्यसमितिका लागि मतदान हुनेछ । बाँकी चार सदस्य अध्यक्षले मनोनयन गर्ने र निवर्तमान अध्यक्षसहित २९ सदस्यीय कार्यसमिति हुनेछ ।

प्रकाशित : आश्विन ६, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?