कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धार्चेमा हेलो गाउँले प्रमुख !

जनताले आफ्ना समस्या गाउँपालिका अध्यक्षसँग सितैंमा राख्न मिल्नेगरि गोरखाको दुर्गम धार्चेमा सेवा सुरु  

गोरखा — धार्चे गाउँपालिका–५ माछाखोलाका सूर्यमान गुरुङले विहीबार गाउँपालिका प्रमुख सन्तोष गुरुङलाई टेलिफोन गरी वाइफाइ सेवा प्रभावकारी नभएको गुनासो गरे । शुल्क महंगो लिएपनि वाइफाइको नेटवर्क बारम्बार अवरुद्ध भइरहने समस्या रहेको उनले सुनाए । 

धार्चेमा हेलो गाउँले प्रमुख !

जनतासँग सिधा टेलिफोन सम्पर्कबाट गुनासो सुन्न धार्चेले भदौ ३० बाट ‘हेलो गाउँले प्रमुख’ सेवा सुरु गरेको छ । यसमा गाउँपालिका भित्रका बासिन्दाले फोन गरेर आफ्ना समस्या बताउन पनि थालेका छन् । ‘पैसा नलाग्ने टोल फ्री नम्बर लिएका छौं,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘अब यसमा गाउँपालिकाको सामान्य समस्या पनि जो कोहीले अध्यक्षलाई सिधै भन्न सक्ने भएका छन् ।’

आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममा पारिएको योजना गाउँसभाबाट पारित गराएर उक्त सेवा संचालनमा ल्याइएको हो । ‘१६६००१७६५५ टोल फ्री नम्बर छ । यो नम्बरको अब प्रचार भइरहेको छ,’ उनले भने, ‘वडाध्यक्ष र कर्मचारीले पनि नम्बर गाउँलेलाई दिएपछि गुनासा सोझै गाउँपालिकामा आउने छन् ।’

जनप्रतिनिधि र कर्मचारीमार्फत पैसा नलाग्ने टेलिफोन नम्बरका बारेमा स्थानीयसम्म जानकारी पुर्‍याउने उनले बताए । ‘मेरो पर्सनल नम्बरमा गाउँपालिकाको कसैले फोन गरे पैसा नलाग्ने नम्बर छ भनेर टोल फ्री नम्बर दिन थालेको छु,’ उनले भने, ‘केहीले फोन गरेर समस्या पनि राख्न थालिसके ।’ सूचनामैत्री गाउँपालिका बनाउँदै छिटोछरितो सूचना सम्प्रेषणका लागि उक्त सेवा संचालनमा ल्याएको उनले बताए ।

भइपरी आउने घटनामा उद्धार र राहतमा जुट्न पनि सेवा प्रभावकारी हुने विश्वास लिइएको छ । ‘पहिरो जाने, मान्छे विरामी हुने यस्ता समस्या प्रमुखले थाहा पाएपछि तत्काल रेस्क्यू गर्नको लागि पहल गर्ने भयो,’ उनले भने । परीक्षणकै चरणमा पनि कतिपय स्थानीयले महत्वपूर्ण सवालमा गुनासो राखिसकेका अध्यक्ष गुरुङको भनाइ छ । ‘पैसा अभावमै स्थानीयले आफ्नो समस्या सुनाउन नपाउने अवस्था थियो,’ उनले भने, ‘गोठमा बस्नेले तत्कालै रीचार्ज किन्न पाउदैनन् । विद्यार्थीसँग पनि पैसा नहुने भयो । अब त फ्रीको टेलिफोनमा गाउँपालिका प्रमुखसँग कुन सिफारीस लिँदा के कागजपत्र चाहिन्छ भनेर पनि सिधै सोध्न मिल्छ । अन द स्पोट समस्या समाधानको कुरा बताउन पाइयो ।’

गाउँपालिकाले गरेको विकासे गतिविधि तथा अफिसियल कागजात अपडेट गराउन विद्युतीय सूचना पाटीको सुविधा पनि उपलब्ध गराइएको उनले बताए । दुर्गम क्षेत्रमा पर्ने उक्त गाउँपालिकाको केही भागमा अझै पनि टेलिफोन सेवा पुगेको छैन । उहिया, र हुल्चोकका बासिन्दा सञ्चार सेवाबाट बञ्चित छन् । उक्त क्षेत्रका स्थानीयको समस्यालाई ध्यानमा राखेर वैकल्पिक ब्यवस्था गर्ने छलफल भइरहेको अध्यक्ष गुरुङले बताए ।

प्रकाशित : आश्विन ६, २०७५ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?